Comments Add Comment

संसद स्थगित गरिँदै, आधिकारिक निर्णय बिहीबार

५ चैत, काठमाडौं । कोभिड १९ को त्रासका कारण संघीय संसदका बैठक स्थगित गर्ने तयारी भएको छ ।

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन र निस्कन परे २५ जना भन्दा बढी भेला हुने गरी कुनै पनि कार्यक्रम, सभा सम्मेलन नगर्न आग्रह गरेपछि संसदको बैठक स्थगित गर्ने तयारी भएको हो ।

संसद अधिवेशन स्थगित गर्ने कि अधिवेशन नै अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न भोलि बिहिबार सबै राजनीतिक दलका सचेतक, प्रमुख सचेतकसहितको बैठक बोलाउने तयारी भएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । समय भने तय हुन बाँकी रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

‘परिस्थितिलाई विचार गरेर निर्णय गर्ने गरी सभामुखले भोलि बैठक राख्ने तयारी गर्नुभएको छ । समय तय हुन बाँकी छ । यसबारे आधिकारिक निर्णय भोलि हुन्छ’ न्यौपानेले भने ।

यसअघि राष्ट्रिय सभा र प्रतिनिधिसभामा सांसदहरुले संसदको बैठक स्थगित गर्न माग गर्दै आएका थिए । कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रतिनिधि सभामा बोल्दै पटक–पटक संसद स्थगित गर्न माग राख्दै आएकी छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेकपाका प्रमुख सचेतक देव गुरुङले छलफल गरेर मात्रै संसद बैठक स्थगित गर्ने विषय सरकारसँग पनि जोडिएको बताए ।

‘सरकारले २५ जना भन्दा बढी जम्मा नहुने भनेको छ । संसद स्थगित गर्ने निर्णय विषय सरकारको पनि कुरा पर्‍यो’ गुरुङले अनलाइनखबरसँग भने ।

राष्ट्रिय सभाको बैठक भोलि र प्रतिनिधि सभाको बैठक पर्सिका लागि बोलाइएको छ । भोलिको बैठक स्थगित गर्ने/नगर्ने बारे ठोस निर्णय केही नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सचिवालयले जनाएको छ ।

कतिपयले भोलिको राष्ट्रियसभा र पर्सिको प्रतिनिधि सभा बैठक चल्ने र पर्सिबाट संसद स्थगित हुन सक्ने पनि बताएका छन् ।

सभापतिहरुको भेला स्थगित

बुधबार सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने तय भएको थियो । तर, सबै समितिका सभापति, सचिवालयका कर्मचारीहरु जम्मा हुँदा ४० जना भन्दा बढी हुने भन्दै बुधबारको बैठक स्थगित गरिएको जनाइएको छ ।

सभामुखमा सापकोटा आएपछि सभापतिहरुसँग औपचारिक छलफल भएको छैन् ।

संसदीय समितिमा स्वास्थ्यमन्त्री जाँदै

बिहीबार बिभिन्न सात वटा संसदीय विषयगत समितिका बैठकहरु बोलाइएको छ । भोलि बिहानै निर्णय नभएको खण्डमा तय भइसकेका संसदीय समितिका विषयगत समितिहरुको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बिहीबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले कोरोनाकाट नेपालीमा पर्न सक्ने जोखिम र न्युनिकरणका लागि छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । मन्त्रीको सचिवालयका अनुसार ढकाल भोलि उक्त छलफलमा सहभागि हुनेछन् ।

कोरोनाको असर र सरकारको तयारीबारेको छलफलमा भोलि स्वास्थ्यमन्त्रीको साथसाथै मन्त्रालयका सचिव र विज्ञहरुलाई समेत आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment