
५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को कारण उत्पन्न विषम् परिस्थितिसँग जुध्न एसियली विकास बैंक -एडीबी)ले विकासशील सदस्य देशहरुका लागि ६.५ बिलियन अमेरिकी डलर अर्थात् ७ खर्ब ७० अर्ब बराबर सहयोग गर्ने गरी प्याकेज घोषणा गरेको छ ।
कोरोना भाइसरको महामारी विश्वमा ब्यापक रुपमा फैलिएसँगै एडीबीले महामारीसँग लड्न यस्तो सहयोग प्याकेज ल्याएको बैंकका अध्यक्ष मात्सागु ओसाकावाले बताएका छन् ।
कोरोनाले प्रभावित गरेको अर्थ व्यवस्थालाई पुर्नजीवित गर्न र क्षति कम गर्न यो सहयोग रकम लागनी हुने उनले बताए । यो रकम वित्तीय सहयोग र नीतिगत परामर्शका लागि उपयोग गरिनेछ ।
चीनबाट सुरु भएको महामारीले एसियाका विकासशील अर्थतन्त्र भएका देशहरूमा उल्लेख्य असर पर्ने आँकलन एडीबीको छ ।
महामारीका कारण आन्तरिक मागमा कमी आउने, पर्यटन तथा व्यावसायिक यात्रा कम हुने, व्यापारिक तथा उत्पादनमूलक सम्बन्ध टुट्ने, ढुवानी प्रणाली अवरुद्ध हुने लगायतका असर देखिन सक्ने एडीबीको नयाँ विश्लेषणको निष्कर्ष छ ।
महामारीले आगामी दिनमा कस्तो रूप लेला र यो कुन दरमा फैलेला वा नियन्त्रण होला भन्ने अझै अनिश्चित रहेकाले आर्थिक क्षतिको स्पष्ट आकार भने अहिल्यै आँकलन गर्न नसकिने एडिबीको भनाइ छ ।
यद्यपि प्राप्त तथ्यहरूका आधारमा यस महामारीले विश्वभरिमा कुल ७७ अर्ब अमेरिकी डलरदेखि तीन खर्ब ४७ अर्ब डलरसम्मको क्षति हुने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
त्यसमध्ये चीनले नै ४४ अर्बदेखि दुई खर्ब ३७ अर्ब डलरसम्मको घाटा ब्यहोर्नेछ भने चीनबाहेकका एसियाली विकासशील देशहरूले १६ अर्बदेखि ४२ अर्बसम्मको घाटा सहनुपर्नेछ ।
प्रतिक्रिया 4