Comments Add Comment

काेरोना प्रभाव– सेयर बजार बन्द गर्न छलफल

५ चैत, काठमाडौं । कोरोना भाइरसका कारण सेयर कारोबार बन्द गराउने विषयमा छलफल सुरू भएकाे छ । बिहीबार सेयर बजारका लगानीकर्ताको आग्रह पछि नेपाल धितोपत्र बोर्डले बजार बन्द गराउने विषयमा छलफल सुरु गरेको हाे।

छलफल पछि बोर्डले आगामी आइतबारदेखि ५ दिन कारोबार बन्द गराउने तयारी गरेको छ । लगानीकर्ताहरुले एक महिनासम्म बजार बन्द गराउन आग्रह गरेपछि धितोपत्र बोर्डले बढीमा ५ दिनमात्रै बजार बन्द गराउने सक्ने बताएको हो ।

बोर्डका अध्यक्ष भीष्म ढुंगानाले ५ दिनसम्ममात्रै बन्द गराउने स्क्ने नीतिगत व्यवस्था रहेका कारण त्यहाँ भन्दा बढी बोर्डले बन्द गराउन नसक्ने जानकारी गराएका छन् । नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले भने माथिबाट जस्तो निर्देशन आउछ सोहि अनुसारको पालना गर्ने बताए ।

बिहीबार भएको छलफलमा सहभागी नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आगामी आइतबारदेखि बोर्डले बजार बन्द गराउने बताएको जानकारी दिइन् । बोर्डले ५ दिन बन्द गराउने र त्यसबिचमा थप एक महिना बन्द गराउनका लागि सरकारसँग आग्रह गर्ने लगानीकर्ताहरुको तयारी रहेको अध्यक्ष पोखरेलले बताइन् ।

‘विद्यालय, क्याम्पस, फिल्म जस्ता क्षेत्र सरकारले बन्द गरिसकेको छ, बजार ५ दिनमात्रै बन्द गराएर पुग्दैन’ उनले भनिन्, ‘थप एक महिना बन्द गराउनका लागि हामी अर्थमन्त्रालायसँग आग्रह गर्नेछौं ।’

लगानीकर्ताका विभिन्न ५ संगठनहरु नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह र नेपाल पुँजीबजार संघले संयुत्तः विज्ञप्ति निकाल्दै बजार बन्द गराउन माग गरेका छन् ।

यसैबीच बोर्डले ब्रोकर कार्यालयहरुमा सुरक्षा सावधानी अपनाउनका लागि आजै परिपत्र जारी गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यले दिएको जानकारी अनुसार ब्रोकर कार्यालयहरुमा स्यानेटाइजर तथा माक्स अनिवार्य गर्न थर्मामिटरले जाँच गरेर तथा ज्वरो नआएको अवस्थामा मात्रै प्रवेश दिन समेत बोर्डले निर्देश दिने तयारी गरेको छ ।

ब्रोकर कार्यालयहरुमा लगानीकर्ताहरुको ठूलो भिडभाड हुने गरेको भन्दै बोर्डले ५ जना भन्दा धेरै उयक पटकमा कार्यालय प्रवेशमा समेत रोक लगाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment