Comments Add Comment

बागमतीमा दुई सय शैय्याको आइसोलेसन, पाँच सय शैय्याको क्वारेन्टाइन

६ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको उपचारका लागि २ सय शैय्याको आइसोलेसन वार्ड स्थापना गर्ने भएको छ । जसमध्ये प्रदेश राजधानी हेटौंडामा मात्र एकसय शैय्याको आइसोलेसन अस्पताल स्थापना गर्न लागिएको हो ।

शकास्पद बिरामीको निगरानी र व्यवस्थापनका लागि हेटौंडामा पाँचसय शैय्या क्षमताको क्वारेन्टाइन कक्ष निर्माण गर्न लागिएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

सरकारले हेटौंडाको हेटौंडा एकेडेमीमा दुइसय शैय्या, वनविज्ञान अध्ययन संस्थानमा एकसय, गौरिटारस्थित खेलकुद एकेडेमीमा एक सय र सशस्त्र प्रहरी क्याम्पमा एकसय शैय्याको क्वारेन्टाइन कक्ष निर्माण गर्ने मन्त्री दुलालले बताए । अबको एक हप्तादेखि १० दिनसम्म आइसोलेसन वार्ड र क्वारेन्टाइन दुवै तयार पारिसक्ने उनले बताए ।

हेटौंडा अस्पतालमा १००, भक्तपुर अस्पतालमा ५, सिन्धुपाल्चोक अस्पतालमा ५, रसुवा अस्पतालमा ४, नुवाकोट अस्पतालमा ५, धादिङ अस्पतालमा ५, रामेछाप अस्पतालमा २, सिन्धुली अस्पतालमा ३, चितवन(भरतपुर) अस्पतालमा ५०, जिरी, मेथिनकोट, बगौडा र बकुलहर अस्पतालमा ५० शैय्याको आइसोलेसन वार्डको व्यवस्थापन गर्ने प्रदेश सरकारले जनाएको छ ।

यसैगरी हेटौंडा अस्पतालमा १०, भक्तपुर अस्पतालमा ५, सिन्धुली अस्पतालमा ५, चितवन (भरतपुर) अस्पतालमा २०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा १०, निजी अस्पताल (मेडिकल कलेजहरूमा) १०० शैयाको भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गर्ने प्रदेश सरकारको तयारी छ ।

अहिलेसम्म प्रदेशका विभिन्न जिल्लामा ३० वेडको आइसोलेसन स्थापना गरिसकिएको छ । कोरोनाको संक्रमण देखिहालेमा विद्यालयका नर्सलाई पनि स्वास्थ्य संस्थामा खटाएर काम गरिने मन्त्री दुलालले बताए ।

बिहीबार कोरोना भाइरस संक्रमण रोक्न पूर्वतयारीका लागि प्रदेश सरकारका पदाधिकारी, प्रशासनिक प्रमुखहरु, सुरक्षा निकायका प्रमुख र स्वास्थ्य क्षेत्रका प्रमुखको बैठक बसेको थियो । बागमती सरकारले कोरोनाको त्रास कम गर्न प्रदेश स्तरीय कोरोना नियन्त्रण समिति, स्वास्थ्य व्यवस्थापन समिति र बजार अनुगमन उच्चस्तरीय समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment