 
																			७ चैत, वीरगञ्ज । वीरगञ्जका एक होटल व्यवसायीले कोरोना भाइरस (कोभिड-१९) को क्वारेन्टाइनका लागि होटल दिने घोषणा गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष बुद्धिबहादुर पन्त (हरि)ले होटल निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।
कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा बैशाख १ गतेसम्मका लागि १७ वटा कोठा भएको होटल क्लासिक निशुल्क उपलब्ध गराउने उनले बताए । कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक परेको खण्डमा संघीय, प्रदेश वा स्थानीय जुनसुकै सरकारले प्रयोग गर्न सक्ने उनको भनाइ छ ।
‘वीरगञ्ज देशकै प्रमुख नाका हो, नाकाबाट ओहोरदोहोर गर्नेको संख्या अत्याधिक छ, कोरोनाको दृष्टिकोणले अत्यन्त जोखिम पूर्ण पनि छ,’ उनले भने, ‘कोरोना विरुद्ध लडन यहाँको मेडिकल पूर्वाधारले मात्रै नपुग्न सक्छ, त्यसका लागि होटल प्रयोग गर्न दिने घोषणा गरेका हुँ ।’
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वको अर्थतन्त्र डगमगाएको छ । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोनाको संक्रमण देखिएपछि वीरगञ्जको होटल व्यवसायमा असर परेको छ ।
नेपाल घुम्नका लागि आउने भारतीय पाहुना होटलमा आउन छोडेको होटल व्यवसायीले बताएका छन् । केही दिन यता होटलका कोठा खाली बस्न थालेका छन् । होटल कुमु प्यालेसका सञ्चालक कुबेर कार्कीले होटलमा ग्राहक आउन छोडेको बताए । ‘कोरोना भाइरसको हल्ला चल्न थालेपछि होटलमा भारतीय ग्राहक आउन छोडेका छन्,’ कार्कीले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4