Comments Add Comment

उपत्यकामा चल्ने सार्वजनिक यातायातमा स्यानिटाइजरको व्यवस्था 

७ चैत, काठमाडौं । मजदुरको हितमा काम गर्ने ट्रेड युनियन महासंघ र ट्रेड युनियन कांग्रेसले उपत्यकामा चल्ने सार्वजनिक यातायातमा स्यानिटाइजर र हातधुनको लागि पानी उपलब्ध गराउने भएको छ ।

दुई संगठन बीच शुक्रबार बसेको बैठकमा शनिबारदेखि उपत्यकामा चल्ने सार्वजनिक यातायातमा स्यानिटाइजर र हातधुनको लागि पानीको व्यवस्था गर्ने निर्णय गरेको हो ।

सरकारले हालसम्म सार्वजनिक यातायातमा संक्रमणबाट बच्न आवश्यक मास्क, स्यानटिाइजर समेत उपलब्ध नगराएकोले संगठन आफैंले व्यवस्था गर्न लागेको नेपाल यातायात स्वतन्त्र मजदुर सगंठनका अध्यक्ष भीम ज्वाला राईले बताए ।

उनले भने, ‘यात्रु र यातायात मजदुरको लागि भोलिबाटै उपत्यकाको विभिन्न ठाउँमा हात धुनको लागि पानी र स्यानिटाइजरको व्यवस्था गर्छौं ।’

सार्वजनिक यातायात चलाउने चालक र सहचालकले अनिवार्य रुपमा आफनो रुटमा राखिएको ठाउँमा हातधुनु पर्नेछ ।

र, यात्रा गर्ने यात्रुहरुलाई पनि सवारी साधनमा चढनु अघि स्यानिटाइजर लगाएर मात्रै सवारी साधनमा चढने व्यवस्था गर्न लागिएको हो ।

कोरोना भाइरसको संक्रमण सार्वजनिक यातायातमा छिटो फैलिन खतरा रहेकाले चालक र सहचालकलाई निश्चित गन्तव्यमा हात धुने व्यवस्था गर्न लागिएको हो ।

चालक र सहचालकलाई हात धुनको लागि कलंकी, कोटेश्वर, बसपार्क लगायतका ठाउँमा सावुन पानीको व्यवस्था गर्न लागेको संगठनले जनाएको छ । तर उपत्यका बाहिर जाने सार्वजनिक यातायातमा भने हाल यस्तो व्यवस्था गरिएको छैन ।

कोभिड १९कोे संक्रमण बढी मानिस आवतजावत हुने ठाउँ, भीडभाडमा फैलिन सक्ने भएकाले सरकारले सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नबोक्न निर्देशन दिएको छ ।

तर, उपत्यकामा चल्ने सवारी साधनका चालक र सहचालकले भने बजारमा मास्क नपाएको र हात धुनको लागि पानीको अभाव रहेको गुनासो गरे ।

राजधानीबाट ठूलो संख्यामा सर्वसाधरणहरु बाहिरिने क्रम बढेसँगै शुक्रबारदेखि उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा यात्रुको चाप घट्दै गएको व्यवसायीहरुले बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment