Comments Add Comment

यात्रुको चाप बढेपछि आन्तरिक वायुसेवा कम्पनीले बढाए भाडा

७ चैत, काठमाडौं । आन्तरिक उडानको भाडा एक्कासी बढेको छ । चार दिन अगाडिसम्म साविकको तुलनामा ६० प्रतिशतसम्म सस्तो भाडामा टिकट काटेका यात्रु एक्कासी भाडा बढेपछि अन्यौलमा परेका छन् ।

तर, घर र्फकने लर्कोका बीच वायुसेवा कम्पनीहरुले भने भाडा बढाएका हुन् । सामान्यतया पर्यटकमा आधारित रहेको मूख्य गन्तब्य पोखराबाहेक सबै रुटको हवाई भाडा चार दिन अगाडिको तुलनामा तेब्बरसम्म बढेको छ ।

वायुसेवा संचालक संघ (आयोन)का सदस्य प्रज्वल थापाका अनुसार पछिल्लो तीन दिन यता काठमाडौंबाट बाहिरी विमानस्थलसम्म पुग्ने यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै वायुसेवा कम्पनीले एकतर्फी भाडा बढाएका हुन् ।

सरकारले चैत ९ गतेबाट सार्वजनिक सवारी बन्द गरेर आन्तरिक हवाई सेवा मात्रै सुचारु राख्ने निर्णय गरेपछि झनै यात्रुको चाप बढ्ने छ । यसका कारण हवाई भाडा अझ धेरै महंगिने अनुमान छ ।

अहिले मोफसलका विमानस्थलबाट काठमाडौं आउने भाडा भने सस्तो छ । काठमाडौंबाट झापाको भद्रपुरका लागि कम्पनीहरुले शनिबारका लागि औसत ९ हजार रुपैयाँमा टिकट बिक्रि गरेका छन् ।

भद्रपुरबाट काठमाडौं र्फकने भाडा भने २५ सय देखि ३ हजार रुपैयाँको बीचमा रहेको छ । चार दिन अगाडी काठमाडौंदेखि भद्रपुर हवाई टिकट औसत २५ सयमा बिक्रि भएको थियो ।

पोखराको औसत टिकट अहिले २ हजार हाराहारी छ । पोखराका लागि बढी यात्रु पर्यटक हुन् । पर्यटक आवागमन ठप्प प्राय छ । सोहीकारण पोखराको भाडा समेत बढेको छैन । तर, अन्य रुटको भाडामा भने तेब्बरसम्म वृद्धि भएको छ ।

अहिले विराटनगरको औसत भाडा साढे ७ हजार रुपैयाँ रहेको छ । राजविराजको भाडा ६ हजारभन्दा माथि पुगेको छ । जनकपुरको भाडा करीव ४ हजार हाराहारी पुगेको छ ।

भैरहवामा ४ हजारभन्दा माथि भाडा पुगेको छ । नेपालगन्जको भाडा ९ हजार हाराहारी पुगेको छ । धनगढीका लागि भने १० हजार भन्दा बी भाडा लिएर कम्पनीहरुले टिकट काटेका छन् ।

अहिले वायुसेवा कम्पनीले भाडा बढाएपनि सरकारले तोकेको अधिकतम भाडादरको सीमा भने नघाउन पाउँदैनन् ।

सिट खाली छैन

सरकारले विद्यालयहरु एक महिनाका लागि बन्द गरेको छ । एसइइ परीक्षासमेत बन्द गरेपछि काठमाडौं छाडेर पुख्र्यौली घर र्फकने यात्रुको संख्या एक्कासी बढेको हो । वायुसेवा कम्पनीहरुका अनुसार अहिले काठमाडौंबाट जहाजहरु फूल अक्कुपेन्सीमा उडिरहेका छन् ।

मोफसलका विमानस्थलबाट काठमाडौं फर्कने यात्रु भने कम छन् । अन्तराष्ट्रिय उडानमा आएको कमीले आन्तरिक उडानमा भएको चापले समेत काठमाडौं विमानस्थलको उडान-अवतरणमा कुनै समस्या परेको छैन ।

आयोनका सदस्य थापाका अनुसार कोरोनाको संक्रमण बढ्ने डरले सरकारले कडा नियमहरु ल्याएसँगै धेरैजसो नागरिक काठमाडौं छाड्ने तयारीमा रहेकाले हवाई टिकटमा चाप परेको हो । अहिले काठमाडौंबाट साना विमानस्थलमा हुने उडान भने उत्साहजनक छैन । लुक्लासहित पर्यटकीय गन्तब्यमा भने यात्रु छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment