News Summary
Generated by OK AI. Editorially reviewed.- नितेश तिवारीको बहुचर्चित फिल्म ‘रामायण’ तिहारमा विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ, जसमा रणबीर कपूरले राम, यशले रावण र साई पल्लवीले सीता भूमिका निभाएका छन्।
- साई पल्लवीलाई सीताको भूमिकामा चयन गरिएको विषयमा सामाजिक सञ्जालमा बहस भइरहेको छ, केहीले उनको छनोटको विरोध र केहीले समर्थन गरिरहेका छन्।
नितेश तिवारीको बहुचर्चित तथा ठूलो बजेटको फिल्म रामायण तिहारको अवसरमा विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ । यस सिनेमामा रणबीर कपूर राम, यश रावण र साई पल्लवी सीताको भूमिकामा छन्।
सिनेमाको यो कास्टिङलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न बहस भइरहेका छन् । विशेष गरी सीताको भूमिकामा साई पल्लवीलाई चयन गरिएको विषयलाई लिएर धेरै टिकाटिप्पणी भइरहेको देखिन्छ।
केहीले उनी यो भूमिकाका लागि सही छनोट नभएको बताउँछन् भने केहीले यसअघि यस्ता भूमिका गरिसकेका अभिनेत्रीहरू उपयुक्त हुने तर्क गरिरहेका छन् ।
अनुहारमा डन्डिफोरसहित पर्दामा देखा परेकी अभिनेत्री
आजकल साई पल्लवी आफ्ना पृथक भूमिकाका कारण परिचित छिन् । उनी सिनेमामा कमै र बिल्कुलै मेकअप नगर्ने अभिनेत्रीका रूपमा चिनिन्छिन् ।
उनको जन्म र हुर्काइ तमिलनाडुको कोइम्बटुरमा भएको थियो । जोर्जियाबाट मेडिकलको पढाइ गरेकी छिन् । उनका बुबा पडुकर जनजातिका हुन् । एक अन्तर्वार्तामा उनले आफ्ना बुबा पडुकर भाषा र आमा तमिल भाषा बोल्ने बताएकी थिइन् । अनि कतिपय मान्छेहरूले झुक्किएर आफूलाई मलयाली ठान्ने गरेको पनि उनले उल्लेख गरेकी छिन् ।
सन् २००८ मा एउटा निजी तमिल टेलिभिजन च्यानलको डान्स शोमा भाग लिएपछि उनी धेरैको नजरमा परेकी थिइन् । त्यसपछि तेलुगुको डान्स शोमा पनि भाग लिइन् । यसरी नृत्य नै उनको सिने क्षेत्रमा प्रवेश गर्ने मुख्य माध्यम बन्यो । धेरै अन्तर्वार्तामा उनले यो कुरा स्वीकार गरेकी छिन् ।
आज पनि उनका धेरै सिनेमामा नृत्यको राम्रो चर्चा हुन्छ । खासगरी मारी २ मा धनुषसँगको राउडी बेबी गीतले उनका लागि नृत्य के हो ? भन्ने कुरा देखाउँछ ।
त्यस्तै तेलुगु सिनेमा श्याम सिंघा रोय मा देवदासीको भूमिका निभाउँदा पनि उनका अधिकांश दृश्य डान्स सिक्वेन्स नै थिए । यद्यपि उनी नृत्यसँगै आफ्ना भूमिकाहरूको छनोटमा पनि सामान्य ट्रेन्डभन्दा धेरै भिन्न छिन्
जस्तो, सन् २०१५ मा प्रदर्शन भएको अल्फोन्स पुथ्रेनको मलयालम सिनेमा प्रेमम पल्लवीका लागि पहिलो ठूलो सिनेमा थियो । उनले यो सिनेमा बिना मेकअप सुट गरेकी थिइन् । त्यसो गर्दा उनका अनुहारका डन्डिफोरहरू प्रस्ट देखिएका थिए । तर, यही सिनेमाको मलर पात्रमार्फत उनी रातारात निकै लोकप्रिय भइन् । यो सिनेमा चेन्नईमा करिब ३०० दिनसम्म चलेको थियो ।
मेकअपबाट टाढै रहनुको कारण
सन् २०२२ को एक अन्तर्वार्तामा उनले आफू सामान्य केटी भएको र अनुहारमा डन्डीफोर तथा आफ्नै खालका डरहरू रहेको बताएकी थिइन् । अनि कसैले मेकअपबारे सोध्दा के उत्तर दिने भन्ने अचम्म लाग्ने सुनाएकी थिइन् ।
प्रेमम पछि केही निर्देशकहरूले उनलाई अलिकति मेकअप गर्न सुझाएका थिए । तर मेकअप गरेर अभिनय गर्दा उनीहरूले नै तिमीले मेकअप नगरेको राम्रो देखिने बताउन थाले । खासगरी रिस उठ्दा उनका गाला राता हुने कुरा निर्देशकहरूलाई मन पर्थ्यो ।
मेकअपकै विषयमा कसैको बाहिरी रूपरङ हेरेर सुन्दरताको मापन गर्न नहुने र उसको भित्री सुन्दरता नै सबैभन्दा ठूलो कुरा हुने पल्लवीको सोच छ।
यदि मेकअप गर्नै परे आँखामा आइलाइनर मात्र लगाउन रुचाउँछिन् । यसले गर्दा उनका आँखा ठूला देखिन्छन् । सिनेमा विराट पर्वम मा उनले आइलाइनरसम्म नलगाई अभिनय गरेकी थिइन् । त्यसरी बिनामेकअप काम गर्दा आफूलाई निकै हलुका र स्वतन्त्र महसुस भएको उनले बताएकी थिइन् ।
अर्को एक अन्तर्वार्तामा उनले आफ्नो पहिलो सिनेमा प्रेमम पछि नै आफूलाई मुख्य कुरा सुन्दरता वा पहिरन नभई आफूले निभाउने भूमिका हो भन्ने महसुस भएको बताएकी थिइन् । दर्शकको मनमा सधैं राम्रो भूमिकाको नै बढी प्रभाव पर्छ भन्ने उनको बुझाइ छ ।
भूमिकाहरूको छनोट र विचारहरू
साई पल्लवी सामान्यतया ग्ल्यामरस भूमिका ननिभाउने कुरामा स्पष्ट छिन् । एक अन्तर्वार्तामा उनलाई श्रीदेवीको जीवनमा आधारित सिनेमामा अभिनय गर्नुपर्दा आकर्षक लुगा लगाउनुपर्ने भए प्रस्ताव अस्वीकार गर्नुहुन्छ भनी सोधिएको थियो ।
त्यसको जवाफमा उनले श्रीदेवी आफ्नो शालीनता र अभिनयका लागि चिनिने हुनाले आफूलाई भूमिका अनुसार लुगा छान्ने स्वतन्त्रता हुने र प्रस्ताव अस्वीकार गर्ने वा नगर्ने भन्नेबारे अहिले नै भन्न नसकिने बताएकी थिइन् ।
कस्मेटिक्सबारे पनि टिप्पणी गर्दै उनले सिने क्षेत्रमा आउनुअघि मान्छेहरूले आफ्नो डन्डीफोरको मात्र चर्चा गर्ने गरेको सम्झना गरेकी छिन् । उनकी बहिनीले छालाको रङ गोरो बनाउन आफूलाई मन नपर्ने खानेकुरा खाएको र त्यसले मनमा असर पारेको देखेपछि उनले यो प्रतिक्रिया दिएकी थिइन् ।
स्वास्थ्यका लागि खानु राम्रो भए पनि रङका लागि धेरै मेहनत गर्नु नपर्ने उनको विचार छ । प्रेमम पछि मान्छेहरूले आफूलाई जस्तो छ, त्यस्तै स्वीकार गरेकाले आफूलाई सहज लाग्ने र बहिनीलाई साथ दिनु आफ्नो व्यक्तिगत रोजाइ भएको उनी बताउँछिन् ।
पल्लवीले गार्गी र श्याम सिंघा रोय जस्ता महिला केन्द्रित सिनेमाका साथै मारी २, एनजीके, अमरन र अब रिलिज हुने रामायण जस्ता ठूला सिनेमामा अभिनय गरेकी छिन् ।
रामायण
साई पल्लवी धेरैजसो बिना तयारी अभिनय गर्न रुचाउँछिन् । उनको अभिनय अगाडिका कलाकारको हाउभाउमा निर्भर हुन्छ । अर्थात् सहकलाकारले पनि आफ्नो अभिनयमा प्रभाव पार्ने उनी सुनाउँछिन् ।
उनी अलि शान्त बस्न मन पराउने लजालु स्वभावकी छिन् । रामायण मा सीताको भूमिकाबारे कुरा गर्दै उनले भगवान्को ऐतिहासिक भूमिका निभाउन पाउनु ठूलो भाग्यको कुरा भएको अन्तर्वार्ताहरूमा बताउने गरेकी छिन् ।
यसका लागि उनी विचारका हिसाबले सधैं पवित्र रहने कोसिस गर्छिन् । अमिताभ बच्चनसँगको कुराकानीमा उनले यस भूमिकाबाट आफूले के हासिल गर्नेछु भनेर पनि सोचेको उल्लेख गरेकी थिइन् ।
सीता एक पौराणिक पात्र हुन् । त्यसैले सबै दर्शकलाई एकैसाथ सन्तुष्ट पार्न सकिँदैन । रामको भूमिकामा कहिल्यै समस्या नभए पनि विवाद सधैं सीताकै भूमिकामा हुने गर्छ । त्यसैले अभिनेत्रीले राम्रो गरेकी छिन् कि छैनन् भन्ने मात्र हेर्नुपर्छ । साई पल्लवी उत्कृष्ट र स्थापित अभिनेत्री हुन् । त्यसैले कलाकारको अभिनयका आधारमा मात्र मूल्याङ्कन गरिनुपर्छ र सबैलाई आफ्नो प्रतिभा देखाउने उचित मौका दिनुपर्छ ।
रामायणको कास्टिङको विवादमा यस्तो कुराहरू पनि आइरहेको देखिन्छ ।
प्रतिक्रिया 4