Comments Add Comment

कोरोना भाइरसविरुद्ध अष्ट्रेलियाको ३८ अर्ब डलरको आर्थिक सहायता कोष

९ चैत, काठमाडौं । अष्ट्रेलिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को असर कम गर्ने दोस्रो आर्थिक सहायता कोष (स्टिमुलस) को कार्यक्रम अघि सारेको छ । प्रधानमन्त्री स्कट मौरिसनले आइतबार ३८ अर्ब ५० करोड डलरको आर्थिक सहायता कोषको घोषणा गरेका हुन् ।

अहिले अघि सारिएको आर्थिक सहायता कोष साना र मझौला व्यवसाय सञ्चालन गर्ने मानिसलाई प्रदान गरिनेछ । सरकारी तथ्यांकअनुसार यस्ता व्यवसायले मुलुकको वार्षिक आर्थिक उत्पादनको एक तिहाइ तथा मुलुकको समग्र रोजगारीको ४० प्रतिशत भन्दा बढीको हिस्सा ओगटेका छन् । मोरिसनले यो भाइरसबाट प्रभावित हुनेहरुलाई थप सहयोग र आर्थिक सहायताको कार्यक्रम ल्याइने बताएका छन् ।

गत साता अष्ट्रेलियाले १० अर्ब २० करोड अमेरिकी डलरको पहिलो आर्थिक सहायता कोष ल्याएको थियो । शुरुमा तुलनात्मक हिसाबमा केही सुस्त देखिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय भने अष्ट्रेलियामा तीव्र गतिमा फैलिएको छ ।

अहिलेसम्म अष्ट्रेलियामा १ हजार २८६ जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ । भाइरसको कारण अहिलेसम्म सातजनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको कारण अहिले अष्ट्रेलियाका धेरै व्यवसाय धराशायी बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment