Comments Add Comment

वीरगञ्जमा खुला मासु पसल अनुगमन, दुई ठाउँबाट जफत

९ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरका सडक पेटीमा खुला रुपमा गरिने मासु बिक्रीको अनुगमन सुरु गरिएको छ ।

महानगरपालिकाको उपप्रमुख शान्ति कार्कीसहितको टोलीले आइतबार मासु पसलको अनुगमन गरेको हो ।

गत फागुन १८ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले माछामासु खुल्ला रुपमा बिक्री गर्न नदिने निर्णय गरेको थियो । माछामासु व्यवसायीलाई १५ दिनको समय दिने र अनुगमन गरी कारबाही गर्ने निर्णय भएको थियो । तर निर्णय गरेको २१ दिनपछि मात्रै बजार अनुगमन भएको छ ।

अनुगमन टोलीले वीरगञ्जको मुरली चोक, पावरहाउस चोक, छपकैयालगायतका ठाउँमा अनुगमन गरेको थियो । त्यसक्रममा खुल्ला स्थानमा राखेर बिक्री गर्दै गरेको अवस्थामा दुई जना व्यवसायीको मासु जफतसमेत गरिएको छ ।

खुल्ला ठाउँमा मासु बिक्री गर्दै गरेका दुई जना व्यवसायीको पसलबाट खसीको ३ किलो र कुखुराको ५ किलो मासु जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । पहिलो दिन कारबाही भन्दा पनि व्यवसायीलाई सचेत बनाउन खोजिएको उनले बताए ।

‘पहिलो दिनमा हामीले कारबाही भन्दा पनि व्यवसायीलाई सचेत बनाउन खोजेका हौं’ उनले भने ‘नगरको विभिन्न स्थानमा अनुगमन गरेर खुल्ला नालामाथि माछा मासु बिक्री नगर्न भनेका छौं । अटेर गरे मुद्धा चलाउने चेतावनी दिएका छौं ।’

खुल्ला माछा मासु बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा हानी पुगेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले विरोध जनाउँदै आएका छन् ।

जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जले माछामासु बिक्रीलाई व्यवस्थित गर्न महानगरपालिकालाई आदेश दिइसकेको छ । तर महानगरपालिकाले अदालतको आदेशको पालाना गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment