Comments Add Comment

कुन विमान चढेर काठमाडौं आइन् कोरोना संक्रमित युवती ?

१० चैत, काठमाडौं । सरकारले सोमबार कोरोना संक्रमित घोषणा गरेकी १९ वर्षीय नेपाली युवती कतार एयरवेजको जहाजबाट नेपाल आएको खुलेको छ ।

नेपाल पर्यटन बोर्डले ४ चैत (मार्च १७) मा कतार एयरवेजबाट युवती नेपाल आएको आफ्नो आधिकारिक ट्वीटर हृयाण्डिलबाट पुष्टि गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार उक्त दिन कतारबाट काठमाडौंका लागि तीनवटा उडान भएका थिए । तर, तीन उडानमध्ये कुनमा ती युवती आएकी थिइन् भन्ने चाहिँ खुलाएको छैन ।

बोर्डले त्यस दिन उक्त फ्लाइटमा रहेका सबै यात्रुले आफूलाई कडा क्वारेन्टाइनमा राख्न आहृवान गरेको छ ।

यदि आफूलाई रुघाखोकी वा ज्वरो आएमा जतिसक्दो चाँडो टेकु अस्पतालमा रिपोर्ट गर्नसमेत बोर्डले आग्रह गरेको छ ।

मार्च १७ गते (चैत्र ४) मा फ्रान्सबाट कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

तीनवटा जहाजमा ४६४ यात्रु आएको रेकर्ड

मार्च १७ तारिखका दिन कतारबाट बिहान ३ बजेर ५ मिनेटमा उडेको जहाज बिहान १० बजेर ५ मिनेट काठमाडौं आइपुगेको थियो ।

मध्यान्ह १२ बजे दोहाबाट उडेको जहाज सोही दिन बेलुका ७ बजेर ३५ मिनेटमा काठमाडौं आइपुगेको थियो । यस्तै बेलुका ४ बजेर ५५ मा दोहोबाट उडेको जहाज राति १२ः३० बजे काठमाडौं आइपुगेको थियो ।

प्राधिकरणका अनुसार ५ जनवरीदेखि २८ मार्चसम्म राखिएको उडान तालिकामा कतार एयरवेजबाट ६ मोडलका जहाजले काठमाडौंमा यात्रु बोक्छन् ।

ए ३३०-३००, ए ३३०-२००, ए ३२१-२००, ए ३२०-२००,ए ३१९-१३३ र बी ७७७-२०० मोडलका जहाजमध्ये त्यो दिन तीनवटा जहाज काठमाडौं आएका थिए ।

स्रोतका अनुसार चैत ४ गते कतार एयरवेका ती जहाजमध्ये पहिलो जहाज क्यूआरर ६५२ जहाजमा २०५ यात्रु थिए ।

त्यस्तै, क्यूआर ६५० जहाजमा १०६ जना यात्रु थिए भने क्यूआर ६४४ जहाजमा १५३ यात्रु काठमाडौं आएका थिए ।

यो पनि पढ्नुहोस ‘उहाँ १९ वर्षे महिला हुनुहुन्छ, सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्छौं’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment