Comments Add Comment

तीन जनाभन्दा बढी भिड नगर्न वीरगञ्ज महानगरको अपिल

आवश्यक परे वीरगञ्जका ७२ वटा विद्यालयलाई क्वारेन्टाइन बनाइने

१० चैत, वीरगञ्ज । वीरगञ्ज कोरोना संक्रमणको उच्च जोखिममा छ । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा अत्यावश्यकीय सेवा बाहेकका पसल र व्यवसाय बन्द गर्न अपिल गरेको छ ।

औषधि, किराना, दूध, तरकारी र फफूल पसल बाहेकका व्यवसाय बन्द गर्न अपिल गरिएको हो । यस्ता पसलमा पालैपालो खरिद बिक्रीको व्यवस्था मिलाउन र ग्राहकको भीड नगर्न वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले आग्रह गरेका छन् ।

दूध बोक्ने ढुवानीका साधन, दमकल, एम्बुलेन्स र अस्पताल सेवाकाबाहेकका अन्य सवारी र ढुवानीका साधन सञ्चालन नगर्न पनि महानगरले अनुरोध गरेको छ । महानगरले ३ जनाभन्दा बढी मानिस भेला नहुन भनेको छ । ‘अत्यावश्यकीय कामबाहेक हिँडडुल नगर्न भनेका छौं, सकेसम्म घरमा बस्नुपर्छ,’ उनले भने, ‘अत्यावश्कीय काम परेमा घरबाट एकजनामात्र बाहिर निस्किनुपर्छ । नगरबासीमा मेरो अपिल छ ।’

त्यस्तै महानगरपालिकाले संक्रमण फैलिएको अवस्थामा वीरगञ्जका सामुदायिक र संस्थागत विद्यालयलाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्ने भएको छ । महानगरले सूचना निकालेर संक्रमण फैलिएमा शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राख्नुपर्दा विद्यालय भवनहरुलाई उपयोग गरिने जानकारी गराएको हो ।

माध्यमिक स्तरका निजी तथा संस्थागत ५४ वटा विद्यालयलाई तयारी अवस्थामा राख्न लागिएको महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

आवश्यक परेको खण्डमा महानगरपालिका भित्रका मावि स्तरका १८ ओटा सामुदायिक र ५९ ओटा संस्थागत विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिनेछ । ‘जुनसुकै बेला त्यस्ता भवन प्रयोगमा ल्याउनुपर्नेे हुन सक्छ । छुट्टी भएकोले प्रअहरु कतै गईदिनुहोला,’ उनले भने. ‘क्वारेन्टाइनका लागि तयार राख्न, सम्पर्कमा रहन र कुनै विषेश कामले बाहिर जान परेको खण्डमा जानकारी गराउन सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई भनिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment