Comments Add Comment

सैनामैनामा ७७ जनाबाट तीन करोड ‘ठगेर’ फरार

पक्राउ गरिदिन पीडितको हारगुहार

वर्षीय उत्तमबहादुर श्रेष्ठ (इन्सेटमा) र उनीबाट ठगिएकाहरु ।

११ चैत, बुटवल । रुपन्देहीको सैनामैना मुर्गियाका एक व्यवसायी दर्जनौं व्यक्तिबाट लिएको तीन करोड रुपैयाँ ठगेर फरार भएका छन् । सैनामैना नगरपालिका–४ मुर्गियाका ५० वर्षीय उत्तमबहादुर श्रेष्ठले ७७ जना व्यक्तिबाट विभिन्न बहानामा लिएको दुई करोड ९५ लाख रुपैयाँ नतिरी  घर र पसल बेचेर परिवारसहित भागेका हुन् ।

मुर्गिया बजारमा दुई वटा पक्की घर, फेन्सी र फलफूल पसल भएका श्रेष्ठले विभिन्न व्यक्तिबाट ५० हजारदेखि २५ लाख रुपैयाँसम्म रकम लिएका थिए । लेनदेनको केही कागज वडा कार्यालयले नै गरिदिएको छ । उत्तमबहादुरले छोरालाई जापान पठाउन, पसलमा सामान थप्न, घडेरी किन्न भन्दै रकम मागेका थिए । रकम हात पार्न उत्तमबहादुर एउटै व्यक्तिको घरमा दशौंपटक धाउने र अनेक समस्या देखाएको पीडित मध्येकी आरती ओलीले बताइन् ।

कतिपयलाई पसलको शेयर दिन्छु समेत भनेका रहेछन् । कसैले समस्यामा सहयोग गर्ने उद्देश्यले त कसैले ब्याजको लोभमा उनलाई रकम दिए । चैत ५ गते उत्तमबहादुरको घरलाई देवीप्रसाद श्रेष्ठ र मिनप्रसाद श्रेष्ठले आफूहरुले किनेको दावी गरे भने फेन्सी पसल अर्कैले सञ्चालन गरेको देखेपछि उनलाई रकम दिएकाहरुले सोधीखोजी गरे । त्यसक्रममा उत्तमबहादुर परिवारसहित अघिल्लो दिन नै भागेको थाहा पाए ।

‘राजमार्गमा जोडिएको चोकमा दुई वटा घर, राम्रै चलेको पसल देखेर २५ लाख दिएको हुँ’ पीडित मध्येका एक नारायण भट्टराईले भने, ‘तर कसैलाई थाहा नदिई सबै सम्पत्ति बेचेर भागेपछि पो थाहा भो । पीडितहरुले उत्तमबहादुरलाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय रन्यौरामा  निवेदन दिएका छन् । त्यहांबाट उनको खोजीमा तदारुकता र चासो नदिएको भन्दै पीडितहरु जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय बुटवल र प्रदेश प्रहरी कार्यलयमा निवेदन दिने तयारीमा रहेको पीडित मध्येका गोपाल शर्माले बताए ।

तमसुक, बाउन्स चेक र अन्य कागजपत्रसहित आउका पीडितहरुले उत्तमबहादुरलाई प्रहरी प्रशासनले पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । ऐलानी जग्गाको घर विक्री गर्दा वडा अध्यक्ष र सैनामैना नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले मिलेमतो वा गल्ती गरेको हो छानविन गर्न समेत माग गरेका छन् । ‘एक करोड बढी मूल्य पर्ने घरको मूल्य २८ लाख बनाइएको छ, संधियारलाई जानकारी दिइएको छैन र साक्षी पनि घर बेच्नेको भान्जालाई राखिएको छ’ शर्माले भने, ‘नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले ऐलानी जग्गाको घर विक्रि गर्दा सबै प्रकृया पूरा गरी सम्बन्धित पक्षलाई जानकारी गराएको भए उत्तमबहादुर भाग्न पाउने थिएनन ।’

इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले उत्तमबहादुर श्रेष्ठलाई खोजी गरिदिन निवेदन आएको तर लेनदेनको विषय भएकाले आफूले प्रकृयागत रुपमा केही गर्न नमिल्ने बताए । तर व्यवहारिक हिसाबले खोजी गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment