Comments Add Comment

कोरोनाविरुद्ध आक्रामक कदम चाल्न डब्लूएचओको आग्रह

११ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लएचओ)ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न आक्रामक कदम चाल्न आग्रह गरेको छ ।

कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिइरहेको छ र, पछिल्लो चार दिनमै १ लाखभन्दा धेरै संक्रमण थपिएको छ । डब्लूएचओ प्रमुख टेड्रोस अघानोम गेब्रेयेससले कोरोनाको संक्रमण निकै तीव्र गतिमा फैलिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरस चीनमा देखा परेको थियो । त्यसयता संक्रमितको संख्या १ लाख पुग्न ६७ दिन लागेको थियो । तर त्यसको ११ दिनपछि नै संक्रमितको संख्या २ लाख नाघ्यो र त्यसपछि संक्रमितको संख्या तीन लाख पुग्न केवल ४ दिनमात्र लाग्यो ।

डब्लूएचओ प्रमुख ट्रेडोसले कोरोना भाइरसबाट बच्नुको विकल्प नरहेको बताएका छन् । साथै परीक्षण नगरिएको औषधि प्रयोग भने नगर्न चेतावनी दिएका छन् । यसले अर्को कुनै समस्या सिर्जना गर्नसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

प्रत्येक आशंका गरिएका मानिसमा परीक्षण बढाउने, आइसोलेसनमा राख्ने, प्रत्येक पुष्टि भएका संक्रमितको राम्रो उपचार गर्ने र संक्रमितसँग निकट रहेका मानिसलाई क्वारेन्टाइनमा राख्ने जस्ता काम गर्नुपर्ने उनले बताए ।

इटालीमा सोमबार नयाँ संक्रमितको संख्या पाँचदिनयताकै कम देखिएको छ । तर स्पेनमा निरन्तर संक्रमण फैलिरहेको छ । सोमबार स्पेनमा ४ हजार ७८९ नयाँ संक्रमित फेला परेका थिए । यसअघि आइतबार ५ हजार ५६० मा संक्रमित भेटिएका थिए भने शनिबार पनि ६ हजार ५५७ मानिसमा यसको संक्रमण पाइएको थियो । सोमबार स्पेनमा ४६२ जनाले ज्यान गुमाएका थिए ।

बेलायतमा पनि सोमबार ५४ जनाको ज्यान गएको छ । यससँगै बेलायतमा मर्नेको संख्या ३३५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment