Comments Add Comment
कोरानाबाट जोगिन शीर्षनेता के गर्दैछन् ? :

प्रधानमन्त्रीको भेटघाट बन्द, उपप्रधानमन्त्रीलाई बेफुर्सद

देउवा र प्रचण्ड घरभित्रै, बाबुरामको गोजीमा स्यानिटाइजर

११ चैत, काठमाडौं । कोभिड १९ भाइरस नेपालमा पनि देखिएपछि सरकारले संक्रमण नफैलियोस् भनेर आजबाट सिंगै देश ‘लकडाउन’ गरेको छ । विभिन्न ओहोदामा रहेका शीर्षनेताहरु पनि सरकारको यो घोषणासँगै ‘होम क्वारेन्टाइन’ मा छन् ।

त्यसो त केही नेताहरु सरकारले लकडाउन नगर्दै केही दिन अघिदेखि नै घरबाट निस्कन छाडिसकेका थिए । आजबाट भने उनीहरुले व्यक्तिगत भेटघाट पनि बन्द गरेका छन् ।

सधंै राजनीतिक भेटवार्ता र बैठकहरुको दौडधुपमा गरिरहने नेताहरुलाई दिनभर घरभित्र कुँजिन पक्कै सहज छैन । उनीहरुले ‘होम क्वारेन्टाइन’ को समय कसरी व्यतीत गरिरहेका छन् ? अनि कोरोनाबाट जोगिन के–कस्तो सतर्कता उपायहरु अबलम्बन गरेका छन् त ? यहाँ केही शीर्ष व्यक्तित्वहरुको निवासभित्रको परिवेश खोतल्ने प्रयास गरिएको छ ।

उपराष्ट्रपति २२ दिनदेखि निवासभित्रै

उपपराष्ट्रपति नन्दबहादुर पुन २२ दिनदेखि निवास बाहिर निस्किएका छैनन् । चीनमा कोरोनाको प्रकोप फैलिएसँगै उनले आफूलाई ‘सेल्फ क्वारेन्टाइन’ मा राखेको उपराष्ट्रपति पुत्र दिपेश पुनले बताए ।

‘बुवाले यो संक्रमणलाई लिएर पहिल्यैबाट सावधानी अपनाइरहनुभएको थियो, करिब एक महिनादेखि बाहिर कुनै कार्यक्रममा सहभागी हुनुभएको छैन भने निवासभित्र पनि भेटघाटहरु बन्द नै छ,’ उनले भने ।

गत फागुन १९ गते उपराष्ट्रपतिको सचिवालयले एक विज्ञप्ति जारी गरी उपराष्ट्रपतिका निर्धारित सबै कार्यक्रमहरु रद्द गरिएको जानकारी दिएको थियो । सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएको सार्वजनिक नगराएसम्म अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने उनका प्रेस संयोजक मनोज घर्तिमगरले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो । त्यसयता उपराष्ट्रपति पुन निवासबाहिर निस्केका छैनन् ।

उनले आफू मात्रै नभएर निवासभित्र बस्ने सबैलाई कडा अनुशासनमा राखिरहेका छन् । निवासभित्र खटिएका सुरक्षाकर्मी, कर्मचारी सबैको दैनिक ज्वरो परीक्षण गर्ने गरिएको छ । सबैलाई मास्क अनिवार्य गरिएको छ भने नियमित हात धुन भनिएको छ । बाहिरबाट आउनेहरुलाई थर्मल गनले ज्वरो परिक्षण गरी, सेनिटाइजर प्रयोग गरेर मात्र भित्र छिराइन्छ । आजबाट त त्यो पनि बन्द भएको छ ।

दिपेशका अनुसार उपराष्ट्रपतिले पुस्तक पढेर दिन बिताउने गरेका छन् । उनी विहान निवास परिसरमै हिँडडुल र शारीरिक व्यायाम गर्ने गर्छन् । उपराष्ट्रपति पुनले सरकारले कोरानासँग लड्न भन्दै खडा गरेको कोषका लागि एक महिनाको तलव दिने घोषणासमेत गरेका छन् ।

प्रधानमन्त्रीको भेटघाट लगभग बन्द

हालै दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित निवासमै स्वास्थ्यलाभ गरिरहेका छन् । यद्यपि, उनले अस्पतालबाट फर्केदेखि नै भेटघाट र बैठकहरुमा सहभागिता जनाउँदै आएका थिए ।

सरकारले हिजो ‘लकडाउन’ घोषणा गरेपछि प्रधानमन्त्रीका भेटघाटहरु बन्द गर्ने निर्णय भएको सचिवालयले जनाएको छ । अत्यावश्यक कुराकानी पनि प्रधानमन्त्रीले टेलिफोनबाट गर्ने नीति लिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

गत आइतबार बसेको मन्त्रिपरिषद बैठक ।

‘काठमाडौंमै संक्रमण देखिएपछि हामी सचिवालयका सदस्यहरुले छलफल गरेका थियौं । प्रधानमन्त्रीको भेटघाट बन्द गराउने कुरा भएको छ,’ थापाले भने, ‘भर्खरै मिर्गौला प्रत्यारोपण गरेको हुनाले पनि संक्रमणको खतरा बढी हुन्छ ।’

केही दिनदेखि प्रधानमन्त्री निवासमा जानेहरुका लागि अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । थापाका अनुसार गेट नम्बर ३ ब्लड प्रेसर परीक्षण हुन्छ भने गेट नम्बर २ मा थर्मल गनबाट ज्वरो नापिन्छ । मुख्य निवासमा स्यानिटाइजर प्रयोग गर्न लगाइन्छ ।

प्रधानमन्त्री आफैं भने लापरवाह देखिँदै आएका छन् । प्रायः भेटघाटहरुमा सबैले मास्क लगाए पनि उनले नलगाएको तस्वीर सञ्चारमाध्यममा आएका छन् । उनी चार घन्टासम्म मन्त्रिपरिषद बैठकमा सहभागी भए, जब कि चिकित्सकहरुले उनलाई बढीभन्दा बढी आरामको जरुरत रहेको बताउँदै आएका छन् । केही दिनअघि उनी सिंहदरबार पुगेर सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्समा सहभागी भएका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य अहिले राम्रो रहेको र कुनै समस्या नदेखिएको सल्लाहकार थापाले बताए ।

परिवारसँग भुल्दै प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारले लकडाउन घोषणा गर्नु अगावैदेखि ‘सेल्फ क्वारेन्टाइन’ मा थिए । उनी चार दिनदेखि खुमलटारस्थित निजी निवासबाट बाहिर निस्केका छैनन् । उनले सबै सार्वजनिक कार्यक्रमका साथै व्यक्तिगत भेटघाटहरु पनि रद्द गरेका छन् ।

प्रचण्डले पार्टीकै नेता र कार्यकर्तासँग पनि भेटघाट नगरेको निवासका सुरक्षा सहयोगी सन्तु दराई परवानाले बताए । उनले भने, ‘उहाँको आग्रहअनुसार अहिले कसैलाई भेट्ने समय दिएका छैनौं । महत्वपूर्ण कुराकानीहरु पनि फोनबाटै गरिरहनु भएको छ ।’

फाइल तस्वीर

प्रचण्डले पुस्तक र बच्चाहरुसँग समय बिताइरहेका छन् । प्रचण्डनिवासमा अहिले बुहारी खानेपानीमन्त्री बिना मगर र उनका साना छोरासमेत छन् । त्यसैगरी प्रचण्डपुत्री गंगा दाहाल र उनकी छोरी पनि त्यहीँ बस्छन् । प्रचण्डकी पत्नी सीता दाहाल लामो समयदेखि अस्वस्थ छिन् ।

निवासभित्र कोरानाविरुद्ध पर्याप्त सतर्कता अपनाइएको दराईले बताए ।

‘निवासको मुख्य गेटमा साबुनपानीको व्यवस्था गरिएको छ । भित्र पनि प्रत्येक ढोकामा स्यानिटाइजर राखिदिएका छौं । पर्याप्त संख्यामा अर्डर गरेका छौं र सबैले अनिवार्य प्रयोग गरिरहेका छौं,’ उनले भने ।

दराईका अनुसार प्रचण्ड बिहान–बिहान निवास परिसरमा शारीरिक व्यायाम तथा साइक्लिङ गर्छन् । निवासभित्र कुनै जमघट गर्न बन्द गरिएको छ ।

देउवा पनि निवासमै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सबै सार्वजनिक कार्यक्रमहरु रद्द गरेर ‘होम क्वारेन्टाइन’ मा बसिरहेका छन् । उनी ३ दिनदेखि बुढानिलकण्ठस्थित निवासभित्रै रहेको देउवाको सहयोगी भानु देउवाले बताए ।

हिजोसम्म निवासभित्रै देउवाले जरुरी भेटघाटहरु गरिरहेका थिए । तर, आजबाट सरकारले लकडाउन घोषणा गरेपछि त्यो पनि बन्द भएको छ । कोरोना भाइरसको जोखिमबाट बच्न निवासभित्र पर्याप्त सावधानी र सतर्कता अपनाइएको भानुको भनाइ छ । देउवाले पार्टी कार्यकर्ता तथा आम जनतालाई पनि सजग रहन आह्वान गरेका छन् ।

बाबुरामको हातमा किताब, गोजीमा स्यानिटाइजर

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी पनि केही दिनदेखि निवासभित्रै छन् । ‘होम क्वारेन्टाइन’ को समयलाई दुवैले बढीभन्दा बढी पुस्तक अध्ययनमा बिताइरहेको अनलाइनखबरसँग हिसिलाले बताइन् ।

‘हामी दुवै पुस्तकको पारखी भएकाले समय कटाउन गाह्रो छैन,’ उनले भनिन्, ‘मलाई ती जनताको चिन्ता लाग्छ, जसले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नुपर्छ ।’

हिसिलाका अनुसार बाबुरामले अहिले बालकृष्ण पोखरेलले लेखेको ‘खस जातिको इतिहास’ शीर्षकको मोटो पुस्तक पढिरहेका छन् । आफूले चाहिँ इन्सेकले निकालेको जनयुद्धमा मारिएका र वेपत्ता भएका १५ हजार माओवादीबारेको रिपोर्ट अध्ययन गरिरहेको उनले बताइन् ।

पुस्तक पढ्नेबाहेक शारीरिक व्यायाम, योगा तथा चलचित्र हेरेर बाबुराम दम्पत्तिको दिन बितिरहेको छ । बिहानको समय व्यायाम र योगामा नै व्यतीत हुने गरेको तथा बेलुकीपख इन्टरनेटमा चलचित्र हेर्ने गरेको हिसिलाले बताइन् ।

‘हिजो गुड न्यूज भन्ने फिल्म हेर्‍यौं, एकदम राम्रो लाग्यो,’ उनले सुनाइन् ।

बाबुराम दम्पत्तिले कोरोनाबाट जोगिन निवासभित्र पर्याप्त सावधानी अपनाइरहेका छन् । भेट्न आउनेहरुलाई स्यानिटाइजर लगाएर मात्रै ढोकाबाट प्रवेश गराइन्छ । बाबुरामले आफ्नो गोजीमै स्यानिटाइजर बोक्ने गरेका छन् ।

हिसिलाले कोरोनाबाट जोगिनका लागि सबैलाई सावधानी अपनाउन आग्रहसमेत गरिन् । उनले भनिन्, ‘हामी नेपालीहरु ठूला संकट र समस्यासँग लड्न बानी नै परिसक्यौं । हामीले भुकम्प, बाढी पहिरो, नाकाबन्दी सबै झेल्यौं । अहिले नयाँ संकट आइपरेको छ । यो चाहिँ नेपालीहरुको मात्रै संकट होइन । विश्वले कोरोनाका विरुद्ध लिएको सतर्कता हामी पनि सिकिरहेका छौं । सरकारले गरेको लकडाउनलाई पालना गरेर सतर्क बस्न हाम्रो तर्फबाट सबैलाई आह्वान छ ।’

उपप्रधानमन्त्री भने व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली अहिले पूर्ण स्वस्थ नरहेको अवस्थामा उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी र सक्रियता बढेको छ ।

उनले सरकारले कोरोनाविरुद्ध गठन गरेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वयसमितिका संयोजक पनि भएकाले उनले होम क्वारेन्टाइनमा बस्ने फुर्सद पाएका छैनन् । आज पनि समितिको बैठक डाकिएको छ ।

कोरोनासँग लड्न सरकारले लिएका महत्वपूर्ण निर्णयहरु उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा भएका छन् । उनले प्रधानमन्त्री ओलीलाई फोनमार्फत अपडेटहरु सुनाउने गर्छन् । साथै, मन्त्री तथा अन्य जिम्मेवार ओहदाका व्यक्तिहरुबाट रिपोर्टिङ लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment