Comments Add Comment

अमेरिकाद्वारा अफगानिस्तानलाई दिँदै आएको १ अर्ब डलरको सहयोग रोक

१२ चैत, काठमाडौं । अमेरिकाले अफगानिस्तानलाई दिँदै आएको १ अर्ब अमेरिकी डलरबराबरको सहयोग रोक्ने निर्णय गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानसँगको सहकार्य पनि घटाउँदै लैजाने बताएका हुन् ।

पछिल्लो समय अफगानिस्तानमा बढ्दो राजनीतिक संकटको बीचमा अमेरिकाले यस्तो निर्णय गरेको हो । अहिले अफगानिस्तानका दुई पार्टीका नेताले निर्वाचनमा आफ्नो जित भएको दाबी गरिरहेका छन् ।

पोम्पेओले तालिवान र अमेरिकाको बीचमा भएको शान्ति सम्झौता पालना हुने अपेक्षा व्यक्त गरेका छन् । यो सम्झौतालाई अफगानिस्तानमा शान्ति पुनर्बहालीको आधारको रुपमा लिइएको छ ।

गत महिनामा भएको सम्झौताको कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन । सन् २००१ मा अफगानिस्तानमा शुरु भएको आन्तरिक युद्धको कारण हजारौं मानिसले ज्यान गुमाइसकेका छन् । जसमध्ये ३२ हजार सर्वसाधारण परेको अनुमान छ ।

अमेरिका र उसका सहयोगी मुलुकको संगठन नाटोले पनि तालिवानले सम्झौता पालना गरे १४ महिनाभित्र आफ्ना सबै सेना फिर्ता गरिने बताएका छन् । अहिले अफगानिस्तानमा सन् २०१४ देखि राष्ट्रपति पदमा रहँदै आएका असरफ घानी र विपक्षी दलका अब्दुल्लाह अब्दुल्लाहबीचमा विवाद देखिएको छ ।

गत वर्षको सेप्टेम्बरमा भएको निर्वाचनमा निर्वाचन आयोगले घानी विजयी भएको घोषणा गरेको थियो । तर, अब्दुल्लाहले भने निर्वाचनमा धाँधली भएको भन्दै आफू राष्ट्रपति बन्नुपर्ने अडान राख्दै आएका छन् ।

मार्चको शुरुमा उनीहरु दुवैले आफैं शपथग्रहण समारोह आयोजना गरी पदको शपथ लिएका थिए । अमेरिकी विदेशमन्त्री पोम्पेओले यो विवाद समाधानको लागि काबुलको भ्रमण गरेका थिए ।

तर, उनको भ्रमणले पनि यो विवाद भने समाधान गर्न सकेन । पोम्पेओले यदि उनीहरु दुवै सहमतिमा आए अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment