Comments Add Comment

लकडाउनले रोकिएका १० हजार विदेशी के गर्दैछन् ? सयौं पयर्टक हिमाली क्षेत्रमै अलपत्र

पर्यटन बोर्डका सिइओ भन्छन्–पदयात्रामा गएका पर्यटक लकडाउने अलपत्र परे

१२ चैत, काठमाडौं । सरकारले मंगलबारदेखि मुलुकलाई लकडाउन गरेपछि विभिन्न ठाउँमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु समस्यामा परेका छन् ।

सवारी बन्द गर्ने भनिए पनि सोमबारसम्म आन्तरिक उडान निर्वाध चलिरहेको थियो । तर मंगलबारबाट एक्कासी लकडाउन गरिएपछि धेरै पर्यटकहरु पर्यटकीय स्थलमा नै अलपत्र परेका छन् ।

नेपाल पर्यटन बोर्डले २० मार्चबाट टिम्स कार्ड वितरण बन्द गरेको थियो । त्यो भन्दा अगाडि नै पदयात्रामा निस्किएका पर्यटक विभिन्न पदमार्गमा अलपत्र परेका हुन् ।

पदयात्राका लागि नेपाल आएका पर्यटक ढुक्क सँगै पदयात्रामा रमाइरहँदा भएको लकडाउनले उनीहरुलाइए अनेकन समस्या भएको छ । जहाँ पुगेका छन, त्यही रोकिएका उनीहरुलाई उद्धारको लागि पहल भएपनि काम भएको छैन । केही पर्यटक सुगम पोखरामा रोकिएका छन् । उनीहरुलाई केही स्थानीय व्यवसायीले खानापिनको प्रवन्ध गरेका छन् ।

करिब ३ सय पर्यटक लुक्लामा अलपत्र छन् । ६ जना पर्यटक मनास्लुमा समस्यामा छन् । यसरी अलपत्र पर्ने पर्पे पर्यटकको संख्या यो भन्दा बढी रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का मिडिया कोर्डिनेटर सिम्बिर घलेले जानकारी दिए ।

उनका अनुसार कुन गन्तव्यमा कति पर्यटक रोकिएका छन् भन्नेबारे अहिले तथ्यांक संकलनको काम भइरहेको छ ।

उद्दारको तयारी के छ ?

टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार अहिले सबैभन्दा धेरै पर्यटन सोलुखुम्बुमा अलपत्र छन् । उनीहरुलाई गृह मन्त्रालयको सहयोगबिना काठमाडौं ल्याउन सम्भव छैन ।

सोही कारण सम्भव भए काठमाडौं ल्याउने र सम्भव नभए स्थानीय सरकारको समन्वयमा स्थानीय स्तरमै सुरक्षित रहने व्यवस्थाका लागि पहल शुरु गरिएको छ ।

‘गृह मन्त्रालयको सहयोगबिना हामीले केही पनि गर्न सक्दैनौं,’ उनले भने, ‘पर्यटकको अवस्थाबारे गृहलगायत सबै सरोकारवालालाई जानकारी गराइसकेका छौं ।’

दूतावासले पहल थाले

नेपालस्थित विभिन्न मुलुकका दूतावासले समेत आफ्ना नागरिक कहा कुन अवस्थामा छन भन्नेबारे चासो राख्न थालेका छन् । अध्यक्ष सुबेदीका अनुसार दुतावासले टान र पर्यटन बोर्डमा यसबारे चासो राखेका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार टुरिस्ट क्राइसिस सेल सक्रिय बनाएर नेपालभित्र लकडाउनका कारण अलपत्र पर्यटकलाई सुरक्षित रहने वातावरण बनाइने उल्लेख गरे ।

यसबीचमा करीव ३ हजार पर्यटकले लकडाउन र सम्बन्धित देशका उडान प्रतिबन्धका कारण आफ्नो भिसा अवधि बढाएका छन् ।

कोरियाले विमान चार्टर गरेर आफ्ना नागरिक एकपटक लगिसक्यो भने अरुलाई लैजान नेपाल सरकारसँग विमान अवतरणको अनुमति मागिरहेको छ । त्यस्तै फ्रान्सले पनि आफ्ना नागरिक लैजान चार्टर विमान ल्याउने प्रयास गरिरहेको छ ।

के गर्दैछ पर्यटन बोर्ड ?

नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीका अनुसार नेपालमा मार्च महिनासम्म हवाइ मार्गबाट आएका तर अध्यागमनको रेकर्डअनुसार स्वेदश फर्किन बाँकी विदेशीहरुको संख्या करीव १० हजार छ ।

उनीहरुमध्ये कतिपय कुटनीतिक नियोग,अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा कार्यरत छन् भने भ्रमणकै लागि आएका विदेशीहरु ८ हजार जति हुनसक्ने डा. रेग्मीले बताए । रेग्मीका अनुसार तीमध्ये अधिकांश विदेशी पर्यटक काठमाडौं,पोखरा र चितवनमा छन् ।

अनलाइनखबरसँग भिडियो कुराकानीका क्रममा रेग्मीले करीव एक हजार विदेशी पर्यटक अन्नपूर्ण,सगरमाथा लगायतका क्षेत्रमा पदयात्राका क्रममा लकडाउनका कारण अलपत्र छन् । उनीहरुको उद्दार गर्ने बारे गृहमन्त्रालयसँग समन्वय भइरहेको रेग्मीले बताए ।

कतिपय ठाउँमा अलपत्र परेका र खर्च सकिएका पर्यटकहरुलाई निःशुल्क खाना खुवाउने प्रबन्धसमेत मिलाइएको उनले बताए ।

नेपालमा रहेका करीव १० हजार पर्यटक के गर्दैछन् ? उनीहरुलाई कसरी व्यवस्थापन गरिदैछ ?

हेर्नुहोस् पर्यटन बोर्डका कार्यकारी अधिकृत रेग्मीसँगको भिडियो वार्ता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment