Comments Add Comment

कोरोना भाइरसलाई किन बेवास्ता गर्दैछन् यी देशले ?

१३ चैत, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना भाइरसलाई एक सामान्य भाइरसको संज्ञा दिए ।

मेक्सिकोका राष्ट्रपति एन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले आफ्ना नागरिकहरुलाई कोरोना भाइरसको त्रासको बीचमा परिवारसहित घरबाट बाहिर निस्किन र घुम्न अनुमति दिएका छन् ।

निकारागुवाका नेता डेनियल ओर्टेगाले पनि मुलुकमा मार्च तथा ¥यालीमा कुनै रोक लगाएका छैनन् । तर, तीनओटै मुलुक कोरोना भाइरसको हिसाबमा जोखिमपूर्ण मुलुकको रुपमा छन् ।

मेक्सिको

शुरुवातदेखि नै ओब्राडोरले आफ्नो मुलुकमा कोरोना भाइरसको कुनै जोखिम नरहेको बताउँदै आएका छन् । उनले शुरुमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै ‘अंकमाल गर्नहोस् केही हुँदैन’ भन्ने अभिव्यक्ति दिए ।

त्यसको १० दिनपछि उनले आफ्ना सहयोगीको बीचमा बसेर बच्चाहरुलाई अंकमाल गरेको र चुम्बन गरेको भिडियो सार्वजनिक गरे ।

बिस्तारै कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएसँगै ओब्राडोरले आफ्ना नागरिकहरुलाई घरमा नै बस्न अनुरोध गरे र बिरामी मानिसहरुलाई आफ्नो सरकारले सहयोग गर्ने तयारी गरिरहेको पनि बताए । साथै १०० वा सोभन्दा बढी मानिसको भेलामा पनि रोक लगाए ।

तर, आइतबार उनले एक भिडियो सार्वजनिक गर्दै मानिसहरुलाई बाहिर घुम्न जान प्रेरित गर्ने अभिव्यक्ति दिए । उनले अर्थतन्त्रमा धेरै असर पार्न नहुनेमा जोड दिए । उनले अर्थतन्त्र बिग्रियो भने त्यसलाई सुधार्न नसकिने भन्दै सामान्य जीवनयापनका लागि आग्रह गरे ।

मंगलबार उनले कोरोना भाइरसविरुद्धको लडाइँ आफ्नै घरबाट शुरु गर्नुपर्ने बताए । उनले सबै महिला र पुरुषले आफ्ना अभिभावकको स्याहार गर्नुपर्ने उल्लेख गरे । उनले मेक्सिको यो संकटको सामना गर्न तयार रहेको बताए । अहिलेसम्म मेक्सिकोमा ४०५ जना कोरोना पुष्टि भएका बिरामी भेटिएका छन् । थप २ हजार १६१ मानिसमा यो भाइरसको आशंका गरिएको छ । यो भाइरसको कारण ५ जनाको ज्यान पनि गइसकेको छ ।

जानकारहरुले भने मेक्सिकोमा वास्तविक कोभिड–१९ का बिरामी अझै धेरै रहेको आशंका व्यक्त गरेका छन् । अहिले मुलुकभरका विद्यालय बन्द गर्न र धेरै ठूला व्यवसायका कर्मचारीलाई घरबाटै काम गर्न सुझाइएको छ । तर, त्यसको लागि सरकारको स्पष्ट जनादेश भने केही छैन ।

ब्राजिल

मार्च १२ मा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोका प्रेस सल्लाहकारलाई कोरोना भाइरसको संक्रमण भएको समाचार आएपछि ब्राजिलले यो भाइरस नियन्त्रणका लागि केही महत्वपूर्ण कदम चाल्ने अपेक्षा थियो । तर, आइतबार बोल्सोनारोले एक टेलिभिजन अन्तर्वार्तामा भाइरस एक सामान्य फ्लु रहेको बताए ।

यो भाइरसको समस्या साओ पाउलो तथा रियो दि जेनेरियोजस्ता राज्यका गभर्नरको सहयोगमा समाधान हुने उनको भनाइ थियो । यी दुई राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको थियो ।

ब्राजिल दक्षिण अमेरिकामा सबैभन्दा बढी कोरोना भाइरस संक्रमण देखिएको मुलुक हो । अहिलेसम्म २ हजार २७४ संक्रमित देखिएका छन् भने ४७ जनाको ज्यान गइसकेको छ । केन्द्रीय सरकारले भने यसलाई निकै हल्कारुपमा लिएको छ ।

तर, स्थानीय सरकारहरुले भने यसलाई नियन्त्रणको लागि केही महत्वपूर्ण कदम चालेका छन् । जसले भाइरस नियन्त्रणको केही आशा जगाएको छ । स्थानीय सरकारले फुटबल स्टेडियमहरुलाई पनि फिल्ड अस्पतालको रुपमा परिणत गर्ने निर्णय गरेका छन् । ब्राजिलका केही राज्यमा शपिङ मल र विद्यालय बन्द हुनुका साथै सार्वजनिक भेलामा पनि रोक लगाइएको छ । तर, ब्राजिलका राष्ट्रपतिबाट भने सार्वसाधारणले कुनै आश्वासन पाउन सकेका छैनन् ।

निकारागुवा

गरीब मुलुकमध्येको एक निकारागुवा पनि हो । यो मुलुकका राष्ट्रपति ड्यानिअल ओर्टेजाले पनि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कुनै कदम चालेका छैनन् । अहिलेसम्म निकारागुवामा जम्मा दुईजनामा यो भाइरसको संक्रमण देखिएको छ । तर, यसको संक्रमण फैलिन थालेपछि छोटो समयमा नै यो संख्या बढ्नसक्छ भन्ने कुरा विश्वका अन्य मुलुकमा फैलिएको प्रकृतिले देखाइसकेको छ ।

ओर्टेजाले भने मुलुकमा कुनै किसिमको परिवर्तन नगरिएको बताएका छन् । उनी पनि आफ्नो मुलुकभन्दा बाहिर छन् । मुलुकमा अहिले पनि राजनीतिक ¥याली निकाल्न अनुमति दिइएको छ ।

निकारागुवाका उपराष्ट्रपतिले निकारागुवाका जनतालाई धर्ममा आस्था राख्न ‘भगवान’ले सबैको रक्षा गर्ने आश्वासन दिएका छन् ।

अहिलेसम्म निकारागुवामा सुरक्षाको लागि निकै कम मात्र योजना ल्याइएको छ । जसमा सार्वजनिक सफाइ, भाइरसबाट धेरै प्रभावित मुलुकबाट आएका पर्यटकमाथि निगरानी, साथै कसरी हात धुने भनेर सिकाउने लगायत कार्यक्रम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment