Comments Add Comment

अष्ट्रेलियामा नेपालीलाई समस्या हुन नदिन दूतावास र सामुदायिक संस्थाहरूको पहल

अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाल ।

सिड्नी । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएपछि यहाँका संघीय तथा राज्य सरकारहरुले बिभिन्न नियमहरु लागु गरेका छन् । विशेष गरी भाइरस फैलिन नदिन सामुदायिक तथा व्यक्तिगत दुरी कायम गर्नुपर्ने अनिवार्य नियमले यहाँका हजारौ निजी तथा सरकारी कार्यालयहरु बन्द छन् । अत्यावश्यक बाहेक सबैलाई घर बाहिर ननिस्कन भनिएको छ । यातायात, शैक्षिक संस्था, स्वास्थ्यकेन्द्रहरु र दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्ने सुपर मार्केटहरु खुल्ला छन् ।

सामाजिक दुरी कायम गर्न जन्मोत्सव तथा बनाभोज कार्यक्रमहरुमा रोक लगाइएको छ । अन्तर्राष्ट्रिय तथा कतिपय राज्य सिमानाहरू पनि बन्द गरिएका छन् । सरकारले बुधबार बिहान अष्ट्रेलियाका मोबाइल बोक्ने सबै मानिसलाई कोरोना भाइरस फैलन नदिन सन्देश पठाइएको छ, जसमा भनिएको छ– यो कोरोना भाइरसबारे अष्ट्रेलिया सरकारको सन्देश हो फैलन नदिन अरुसँग साढे एक मिटरको दुरी कायम गर्नुस्, सामाजिक जमघट बारेका नियमहरु पालना गर्नुस्, हात धुनुहोस् र बिसन्चो महसुस भएमा घरमै बस्नुस् ।

बिस्तृत ताजा सूचनाहरु भने त्यो सन्देश सँगैको सरकारी वेबसाइटमा गएर अध्ययन गर्न भनिएको छ ।

अष्ट्रेलिया सरकारको मुख्य वेबसाइटमा सुरुमै पहेँलो रंगमा कोरोना भाइरसबारे अस्ट्रेलियाका सबै निकायका ताजा सूचना, समाचार र सल्लाहहरु प्रकाशित गरिने भनिएको छ । मंगलबारको राष्ट्रिय मन्त्रीमण्डलको बैठकले बुधबार मध्यरातपछि सामाजिक तथा व्यक्तिगत जमघट घटाउन केही नयाँ नियमहरु लागु गरेको छ ।

नेपाली दूतावासले सुरु गर्यो समन्वय

अष्ट्रेलियामा कोरोना भाइरसबाट सिर्जित समस्याबाट प्रभावित भएका नेपालीहरुको उचित हेरचाह र सुविधाको प्रवन्ध मिलाउन अष्ट्रेलियास्थित नेपाली राजदूतावासले त्यहाँको विदेश मन्त्रालयलाई आग्रह गरेको छ । राजदूत महेशराज दाहालले मंगलबार पत्र नै लेखेर अष्ट्रेलियाको विदेश मन्त्रालयलाई सो आग्रह गरेका हुन् । कोरोना संक्रमणका कारण रोजगारीका धेरै क्षेत्र बन्द हुँदा त्यहाँ कार्यरत कामदार तथा अष्ट्रेलियामा अध्ययनरत नेपालीहरु विद्यार्थीहरु प्रभावित भएका छन् ।

रेष्टुरेन्ट, सफाइ लगायतका क्षेत्रमा काम गर्ने धेरैले रोजगारी गुमाएका छन् । स्वास्थ्य क्षेत्र बाहेकका क्षेत्रमा काम गर्नेहरु रोजगारविहीन भएका छन् । अष्ट्रेलियाले आफ्ना देशका विद्यार्थीहरुलाई दुई हप्ताका लागि ५५० अस्ट्रेलियन डलर राहत दिने निर्णय गरे पनि अन्तराष्ट्रिय बिद्यार्थीहरुको हकमा भने मौन छ । राजदूत दाहालले अष्ट्रेलिया र न्यूजिल्याण्डमा भएका नेपाली महावाणिज्य दूतहरुसँग मंगलबार नै संयुक्त बैठक गरी दुवै देशमा रहेका नेपालीलाई पर्न सक्ने सम्भावित समस्या समाधानको पहल गर्न निर्देशन दिएका छन् ।

उनले स्थानीय नेपाली सामुदायिक संस्थाहरु तथा राज्य सरकारका निकायसँग मिलेर समस्या समाधान गर्न सबै महावाणिज्यदूतहरुलाई निर्देशन दिइएको राजदूत दाहालले अनलाइनखबरलाई बताए । अष्ट्रेलियामा कोरोना प्रभावितको संख्या बुधबार साँझसम्म दुई हजार चार सय २३ पुगेको छ । जसमा सबैभन्दा बढी न्यु साउथ वेल्स राज्यमा दुई बालबालिका सहित एक हजार २९ जना छन् । हाल सम्म ९ जनाको ज्यान गएको छ । न्यु साउथ वेल्समा मात्रै ७ जनाको मृत्यु भएको छ ।

तास्मानियामा राज्यमा एक जना नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भए पनि उनी उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य तथा समाजसेवा मन्त्रीलाई अनुरोध

अष्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरुको महासंघ फेंकाले यहाँका संघीय स्वास्थ्यमन्त्री ग्रेक हन्ट तथा परिवार तथा सामुदायिक सेवा मन्त्री आने रोस्टनलाई पत्र लेख्दै यो महामारीका बेला अष्ट्रेलियामा रहेका नेपाली अन्तराष्ट्रिय विद्यार्थीहरु, अस्थायी बासिन्दाहरु, अविभावक तथा पर्यटक भिसामा भएकाहरुलाई मेडिकेयर तथा सामाजिक सुरक्षा प्रणालीमा सामेल गर्न अनुरोध गरेको छ.। फेंकाका महासचिव डा. कृष्ण हमालले अनलाइनखबरलाई दिएको. जानकारीअनुसार मंगलबार लेखिएको पत्रको सकारात्मक जवाफ पाउने आशा नेपाली समुदायले गर्न सक्छ । फेंकाले लेखेको पत्रमा मेडिकेयर तथा सामाजिक सुरक्षा प्रणालीमा नभएका नेपाली अहिले अष्ट्रेलियामा सबैभन्दा बढी समस्यामा पर्न सक्ने बताइएको छ ।

अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुले २.६ बिलियन डलरको योगदान गरिरहेका बताउँदै अहिले यो विश्व संकटका बेला उनीहरुका यहाँ कोही आफन्त नभएका, रोजगारी गुमेको र आर्थिक संकट भएको हुनाले सरकारले नेपाली समुदायको अनुरोधलाई सुन्नु पर्ने बताइएको छ ।

नेपालीहरुको घना बसोबास भएको इलाकाहरुमा समेत कोरोना संक्रमितहरु भेटिएकाले सबैलाई सजग रहन तथा सरकारका सूचना तथा निर्देशनलाई पालना गर्न सामाजिक संस्थाहरुले अनुरोध गरेका छन् ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले भर्खरै आएका र सेल्फ आइसोलेशनमा बस्दा समस्या व्यहोरिरहेकाहरुलाई सहयोग गर्ने जनाएको छ । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले दिएको जानकारी अनुसार मंगलबार बिहानसम्म अस्ट्रेलियामा १ सय ८ जना नेपाली सेल्फ आइसोलेसनमा बसेका छन् । उनीहरुमध्ये सबैभन्दा धेरै न्यू साउथ वेल्स राज्यमा ४९ जना छन् । सेल्फ आइसोलेसनमा बसेकामध्ये करिब ९८ प्रतिशत विदेशबाट अष्ट्रेलियामा आएकाहरु छन् ।

आनीबानीले उच्च जोखिम हुनसक्ने बिज्ञको भनाइ

अष्ट्रेलियामा कार्यरत हजारौं नेपाली नर्सहरुमा एक बिज्ञ नर्स हुन् ( धर्म अधिकारी । उनी हालै अष्ट्रेलियाको सिड्नीमा रहेको सेन्ट भिन्सेन्ट अस्पतालमा असोसिएट डाइरेक्टर अफ नर्सिङमा बढुवा भएका हुन् । उनी यहाँ भएको नेपाली समुदायका स्थापित युवा सामुदायिक नेता पनि हुन् । उनले अष्ट्रेलियामा भएका नेपाली समुदायका आफ्ना केही आनीबानीहरुले यो महामारी झन् बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

उनी अहिलेको समयमा सरकारी आदेश तथा सूचनाहरुमा कत्ति पनि हेलचेक्राईं गर्न नहुने सुझाव दिन्छन् । नेपालीहरु दुई वा दुई भन्दा बढी परिवार सेयरिङ्गमा बस्ने भएकाले जोखिम बढी भएको उनको चिन्ता छ । ‘सोसियल डिस्ट्यान्सिङ्ग र सेल्फ आइसोलेशनको मर्म नबुझ्दा अप्रिय घटना हुनसक्छ,’ उनी भन्छन्, ‘दैनिक सरसफाइको आनीबानी उच्चस्तरको बनाऔं, कुनै पनि काम वा यात्रापछि हात धोऔं । सबैसँग कार्यथलो, बसाइँ वा यात्रामा डेढ मिटर टाढा रहौं, अधिकारिक सूचनामा विश्वास गरौं, सरकारले भनेका कुरा कडाइकासाथ पालना गरौंँ ।’

नेपालीका व्यापार र रोजगारी संकटमा

सिड्नीमा सातवटा नेपाली रेष्टुरेन्टहरुको चेन सन्चालन गरिरहेका दीपराज सापकोटाले मंगलबारदेखि एउटा नेवारी खाजा घर बन्द गरेका छन् । उनको व्यवसायमा ५५ जना नेपालीले रोजगारी पाएका थिए । अब सबैको रोजगारी र उनको व्यवसाय संकटमा छ ।

सापकोटाले अनलाइनखबरसँग भने, ‘हाल हाम्रा सबै कामदारलाई चर्को आर्थिक संकटबाट बचाउन सबैको सिफ्ट घटाएर न्युनतम रोजगारी कायम राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment