Comments Add Comment

लकडाउनमा छाक टार्न समस्या हुनेलाई १० किलो चामल, दुई किलो दाल

१३ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउंदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्‍याइदिने गरी नगरपालिकाले बिहीबार बिहान निर्णय गरेको हो ।

‘नगरका १७ वटै वडामा करिब ८ सय अति विपन्न परिवार रहेको अनुमान गरी खाद्यान्न व्यवस्था भएपछि यो निर्णय गरेका छौं’ नगरप्रमुख बासुदेव घिमिरेले अनलाइनखबरसँग भने, ‘सम्बन्धित वडाअध्यक्षले सिफारिस गर्नेवित्तिकै नगरपालिकाले आफ्नै ट्रकबाट घर–घरमै खाद्यान्न पुर्‍याइदिने छ ।’

दुई जना क्वारेन्टाइनमा

तिलोत्तमा नगरपालिकाले कोभिड–१९ को संक्रमण रोकथामका लागि भारतसहित अन्य मुलुकबाट हालै नेपाल भित्रिएका नगरवासीको पहिचान गरी उनीहरुलाई क्वारेन्टाइनमा राखेको छ ।

नगरपालिकाले शंकरनगर दुर्गादत्त माविको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याएको छ । २५ बेडको क्वारेन्टाइनमा अहिले भारतबाट आएका तिलोत्तमा वडा नं ८ का एकजना र तिलोत्तमा ११ का एकजना गरी दुईजनालाई राखिएको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

नगरभित्रको एक मात्र ठूलो निजी अस्पताल क्रिमसनले ज्वरो आएका बिरामीको नाम दर्ता नै नगरी फर्काइदिने गरेकाले अनावश्यक दुःख नपाउन नगरपालिकाले तोेकेका स्वास्थ्य संस्थामा वा लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवामा मात्र जान पनि नगरपालिकाले नगरबासीलाई सुझाएको छ ।

यसैबीच तिलोत्तमा नगरपालिकाभित्र लकडाउनको अवज्ञा गर्ने १५० बढी सवारीसाधनलाई प्रहरीले निणन्त्रणमा लिएको छ । लकडाउन अवज्ञा गर्नेहरुलाई लकडाउन अवधि सकिएपछि मात्रै जरिवाना गरेर चाबी दिइने प्रहरी स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment