Comments Add Comment

अब आधा सिलिन्डर भरेको ग्यास मात्र पाइने

१३ चैत, काठमाडौं । अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।

हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।

निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो । आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पुष्टि गरे ।

२०७२मा भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो ।

अहिले कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च छ । तर बजारमा आपूर्ति निकै कमजोर छ, कालोबजारी मौलएको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ ।

सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको सरकारको तर्क छ ।

निगमका अनुसार कालोबजारी नियन्त्रणका लागि यस्तो कदम चालिएको हो । आयल निगमका एलपी ग्यास विभाग प्रमुख दीपक बराल आईओसीले मागेजति ग्यास दिइरहेको भन्दै आपूर्तिमा समस्या नरहेको बताउँछन् ।

उनले उपभोक्तामा ग्यास नपाइने त्रास भएको र खाली सिलिन्डर सबै भर्न थालेकाले भविष्यमा समस्या नआओस् भनेर अहिलेदेखि नै आधा मात्रै भरेर वितरण गर्न थालिएको बताए ।
‘सबैले घरमा भरि-भरि सिलिन्डर मौज्दात राख्दा भविष्यमा संकट पर्नेसक्ने आँकलन गरेरै यस्तो निर्णय गरिएको हो,’ उनले भने ।

यस्तो आधा भरिएको ग्यासको मूल्य पनि अहिलेको भन्दा आधा हुनेछ । अहिले एक सिलिन्डर ग्यास १३ सय ५५ रुपैयाँमा किन्न पाइन्छ । अब आधा सिलिन्डर ग्यास मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

एलपीजी उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशन अनुसार नै भोलिबाट बोटलिङ सुरु हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment