Comments Add Comment

बालबालिकालाई कोरोनाको त्रासबाट बचाउन के गर्ने ?

यत्रतत्र सर्वत्र कोभिड-१९ महामारीको बारेमा चर्चा छ । विद्यालय बन्द छन् । कोरोना संक्रमणलाई लिएर विद्यार्थीमा भय र त्रास छ । यस्तो अवस्थामा उनीहरुको मानसिक चिन्ता तथा डर कम गर्न अभिभावकको भूमिका कस्तो हुने भन्ने पनि संवेदनशील विषय हो । बच्चाहरूलाई वर्तमान परिस्थितिसँग घुलमिल गर्नको लागि केही व्यवहार परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

अभिभावकहरुले कोभिड–१९ को बारेमा सामान्य जानकारी दिने एवं यस महामारीको रोकथामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भइरहेका चर्चाको बारेमा जानकारी लिएर बालबालिकाहरुले बुझ्ने भाषामा सम्झाउने प्रयास गर्नु उपयुक्त हुने देखिन्छ ।

आफ्नै भाषामा बालबालिकाले सजिलै बुझ्ने गरी जानकारी दिने कोसिस गर्नु उपयुक्त हुनेगर्छ । फेसबुकमा प्रस्तुत गरिएका अपुष्ट समाचारलाई मात्रै विश्वास नगरी अधिकारिक र सही जानकारीहरु हाँसिल गर्नु अभिभावकको मुख्य कर्तव्य हो ।

कोभिड-१९ को रोकथामको लागि सरकारी तथा अन्य आधिकारिक निकायले जारी गरेको सूचना एवं समाचारहरुको आधारमा मात्रै बालबालिकाहरुको विभिन्न जिज्ञासा मेटाउनुपर्छ ।

बालबालिकाले राखेको जिज्ञासामा सकेसम्म वैज्ञानिक तर्कसहितको उत्तर दिने कोसिस गर्नुपर्छ । रेडियो तथा टेलिभिजनमा प्रस्तुत भइरहेका कोभिड–१९ सम्बन्धी जानकारीहरुसँग पनि परिचित गराउनु राम्रो हुन्छ । अनेक प्रकारका हल्ला तथा भ्रम सिर्जना गराउने खालका सूचनाहरुको पछि नलाग्न तथा त्यस्ता सूचनाहरुको विश्वास नगर्न पनि आफ्ना बच्चाहरुलाई निरन्तर सम्झाउनुपर्छ ।

गाउँघरतिर कोभिड–१९ को बारेमा जानकारी राखेका स्वास्थ्य कार्यकर्ता तथा शिक्षकबाट पनि बच्चाहरुलाई कसरी यसको भयबाट मुक्त गराउन सकिन्छ भन्ने बारेमा छलफल गर्न सकिन्छ । स्थानीय तहले दिएका निर्देशन एवं जानकारीलाई असल नागरिकको रुपमा आत्मसाथ गरी यो रोगको सम्भावित जोखिमबाट आफ्ना बालबालिकालाई बचाउन सकिन्छ ।

बालबालिकाको व्यवहारमा परिवर्तन गर्नुपूर्व आफ्नो व्यवहारमा समेत परिवर्तन गर्नु आवश्यक हुन्छ । जस्तै,  हात धुने सही तरिका तथा व्यक्तिगत सरसफाईका तरिकाबारे पहिले आफूले गरेर बच्चाहरुलाई सिकाउनुपर्छ । बच्चाले धेरै कुरा हामीबाट नै धेरै कुरा सिक्ने भएकोले हाछ्युँ गर्दा वा खोक्दा कस्तो कुरामा ध्यान दिने ? भन्नेमा पहिले अभिभावक नै सचेत हुनुपर्ने हुन्छ ।

बच्चाहरुको अगाडि अभिभावकले समेत नमुना योग्य व्यवहार देखाउनुपर्छ । खोक्दा या हाच्छ्युँ गर्दा हामीले कुहिनो वा रुमालको प्रयोग गरेनौं भने बालबालिकालाई पनि यसबारेमा सिकाउन गाह्रो हुन्छ । हातलाई सफासँग मिचिमिची धुन लगाउनेदेखि उनीहरुलाई मनपर्ने र गाउँन सक्ने गीतहरु नै आफूले पनि गाउँने गर्नु राम्रो हुन्छ ।

बाहिर कुनैकुरा छोएपछि कम्तीमा पनि २० सेकेण्डसम्म हात धुन लगाउनुपर्छ । यसरी बच्चाहरुलाई सिकाएका सबै कामहरुमा आफूले समेत झर्को नमानी सहभागिता जनाउनुपर्छ । घरभित्रै खेल्न सकिने खेल, कापी कलम दिएर चित्र लेखन गर्ने तथा यसबाहेक पनि उनीहरुलाई मन पर्ने क्रियाकलापमा सहभागी गराउनुपर्छ ।

अभिभावक यसबारेमा डर र त्रास बढी भयो भने बच्चाहरुमा समेत त्रास बढ्ने गर्छ । यसकारण अभिभावले संयमता अपनाई बच्चाको आत्मबल बढाउने काममा लाग्नुपर्छ । आफू पनि शान्त रहने र बालबालिकाहरुलाई पनि शान्त राख्नको लागि यो समयमा अभिभावकले समेत ठूलो भूमिका खेल्नुपर्ने देखिन्छ ।

आफ्नो बच्चाहरुको बारेमा अभिभावकभन्दा अरुले बढी जान्न सक्दैनन् । उनीहरुको बानी व्यवहार अनुसार आवश्यक कुराहरु बताउनुहोस् र उनीहरुले बुझ्न नसक्ने कुराहरुलाई सहज हिसाबले बुझाउने प्रयास गर्नुहोस् । उनीहरुको प्रश्नहरुको उत्तर सजिलो गरी दिने प्रयास गर्नुहोस् । आफूलाई थाहा नभएको कुरालाई सामान्य रुपले गोलमटोल जवाफ दिने प्रयास नगर्नुहोस् ।

भाइरस या यसको असरको बारेमा बच्चाहरुले जिज्ञासा राख्दा आफूले थाहा पाएको जानकारीलाई स्पष्टसँग बताइदिनुहोस् । जसले गर्दा उनीहरुको डर र त्रासमा कमी हुन्छ ।

बच्चालाई फुर्सदको समयमा भान्सामा व्यस्त गराउनु होस् । खानामा विभिन्न प्रकारका परिकार बनाउन सिकाउनुहोस् । जसले गर्दा उनीहरु सधैं व्यस्त हुन्छन् र मनमा तनावको स्थिति कम हुन्छ । त्यस्तै, बच्चाहरु धेरै डराएको वा आत्तिएको अवस्थामा सामान्य ढंगले योग गराउनु राम्रो हुन्छ । योगमा पनि श्वास रोक्ने र फ्याँक्ने जस्ता अभ्यास गराउनु फाइदाजनक हुन्छ ।

बच्चाहरुलाई उनीहरुको सामाजिक जिम्मेवारीको बारेमा सिकाउने मौका पनि यही हो । अरु समयमा दिउँसो विद्यालय र साँझ बिहान गृहकार्यको चापमा रहने भएकोले बच्चाहरुलाई जिम्मेवारीको बारेमा सिकाउने अवसर नै हुँदैन ।

त्यसैले बच्चालाई यही अवसरमा नै सामाजिक जिम्मेवारीबारे पनि सिकाउनु उपयुक्त हुन्छ । सामाजिक जिम्मेवारीभित्र पारिवारिक सम्बन्ध र उनीहरुसँग गर्नुपर्ने व्यवहार आदिको बारेमा समेत सिकाउनु पर्छ ।

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै घर बाहिरबाट आएका आफन्तलाई नछोई टाढाबाट नमस्ते गर्ने वा ढोग्न लगाउने जस्ता व्यवहार पनि सिकाउन सकिन्छ । हामी अरुबाट टाढा बस्नु भनेको अरुलाई पनि कोरोना भाइरस सर्नबाट जोगाउनु हो भन्ने कुरा बच्चाहरुलाई समेत बुझाउनुपर्छ । अरुसँग बोल्ने र भलाकुसारी गर्दा उचित दुरी कायम राख्न सिकाउनुपर्छ ।

कोरोना भाइरसले आगामी दिनमा कस्तो परिस्थितिको सिर्जना गराउँछ भन्ने कसैलाई पनि ज्ञान छैन । आफ्ना बच्चाहरुलाई केही हुँदैन भनेर मात्रै पुग्दैन । यो महामारीबाट जोगिन के गर्ने र के नगर्ने कुरामा समेत उनीहरुलाई सहभागी गराउनुपर्छ ।

हामीलाई संक्रमण भइहाल्यो भने के गर्ने ? भन्ने बारेमा समेत बच्चाहरुलाई पहिले नै कुरा गरिरहनु पर्छ । ताकी कसैगरी संक्रमण भइहाल्यो भने पनि उनीहरु हतोत्साहित नबनुन् । बच्चाहरुलाई यस बारेमा बेलाबेलामा सम्झाई राख्नुपर्छ र घरभित्रै सकेसम्म उनीहरुले विभिन्न सिर्जनशील काममा व्यस्त गराइराख्नुपर्छ

यस्तो गर्दा उनीहरुलाई परिस्थितिअनुरुप व्यवहार गर्नसक्ने बानीको विकास हुन्छ । विद्यालय बन्द भयो भनेर खोलामा माछा मार्न जाने, साथीहरुसँग धेरै होहल्लामा रमाउने जस्ता कामबाट पनि अहिले बच्चाहरुलाई रोक्नुपर्छ । कम्तीमा दुई हप्ता घरमा अलग रुपमा बस्दा हुने फाइदाको बारेमा बरु उनीहरुलाई बारम्बार जानकारी दिइरहनुपर्छ ।

उनीहरुलाई भूकम्पको बेलामा गरिएको अनुभव सुनाउनु उपयोगी हुनसक्छ । जसरी त्यो बेलामा सबैजना केही दिन बाहिर बसेका थिए । अहिले महामारीको बेलामा जोगिन हामी केही दिन भित्रै बस्नुपर्छ भन्ने बारेमा समेत उनीहरुलाई बताउनु पर्छ । जसले गर्दा भाइरस सर्न पाउँदैन ।

गाह्रो परिस्थितिमा सजिलो तरिकाबाट बालबालिकाहरुलाई हेरविचार गरौं । यस्तो अवस्थामा बच्चाहरुमा डर र त्रासको वातावरण सिर्जना गर्दा उनीहरुमा दीर्घकालीन रुपमा नराम्रो असर पर्छ । समय र परिस्थिति परिवर्तन भइरहन्छ ।

उनीहरुलाई परिस्थिति अनुसार चल्न सिकाउने एउटा काइदा पनि बन्नसक्छ यो महामारी । त्यसैले यो समयमा परिवारमा माया बढाऔं, सबैलाई एक अर्काको हेरविचार गर्न सिकाऔं । यसले बच्चाहरुलाई जीवन पर्यन्त सकारात्मक व्यवहार गराउन सकिन्छ । यस्ता अनेक प्रकारका महामारी तथा विपदसँग लड्ने र सहनशील बन्न सिक्ने अवसरको रुपमा समेत यो समयलाई उपयोग गर्न सकिन्छ ।

 (लेखक त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका उपप्राध्यापक हुन् र प्रकोप जोखिम न्यूनीकरण शिक्षामा विद्यावारिधि गरी हाल आपतकालीन शिक्षाको क्षेत्रमा कार्यरत छन् । उनको यो लेखमा सुपेरिबेछक युनिभर्सिटी अफ अक्लैंडका प्रोफेसर कारोल मचका विचारहरु पनि समावेश गरेका छन् ।)

)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment