Comments Add Comment

महामारी रोक्न जस्तो कदम चाल्न पनि तयार छौं : जी–२०

काठमाडौं । जी–२० का नेताहरुले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न आवश्यक पर्ने जस्तोसुकै कदमका लागि तयार रहेको बताएका छन् ।

बिहीबार भिडियो कन्फ्रेन्स सम्मेलनको क्रममा जी–२० का नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । साथै कोरोनाको महामारीबाट बच्न ५० खर्ब डलर छुट्याउने निर्णय पनि भएको छ ।

सन् २००८/०९ को वित्तीय संकटपछि पहिलोपटक जी–२० का मुलुक एक भएर भाइरसको सामना गर्न तयार भएका हुन् । उनीहरुले यसका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्य अन्तर्राष्ट्रिय संस्थासँग मिलेर काम गर्ने बताएका छन् ।

जी–२० का नेताहरुको बीचमा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने विषयमा पनि सहमति जुटेको छ । नेताहरुले संयुक्त रुपमा सार्वजनिक गरेको विज्ञप्तिमा आफूहरु साझा चुनौती एक भएर सामना गर्न तयार रहेको उल्लेख छ ।

कोरोना भाइरसको महामारीमा जी–२० ले यसलाई रोक्न प्रभावकारी कदम चाल्न नसकेको अवस्थामा संगठनको अध्यक्ष राष्ट्र साउदी अरेबियाले भिडियो सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा रोजगारी संरक्षण र व्यापारिक प्रवाह कायम राख्नुपर्नेमा सबैको सहमति जुटेको ब्राजिलका सरकारी अधिकारीले बताएका छन् । जी–२० का नेताहरुले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकलाई पनि आवश्यकता परेका मुलुकलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली समकक्षी इम्यानुअल म्याक्रोबीच टेलिफोन वार्ता भएको छ ।

उनीहरुले यो भाइरस नियन्त्रणका लागि जी–२० मुलुकको बीचमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । यो महामारीबाट छिटै बाहिर निस्केर त्यसबाट पर्ने आर्थिक असर कम गर्नुपर्नेमा दुबै नेता सहमत भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment