Comments Add Comment

कोरोना रोकथाममा प्रदेश २ को तयारी : पैसा छ, उपकरण छैन

जनकपुर प्रादेशिक अस्पताल

१४ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोकथामका लागि प्रदेश २ सरकारले काम थालेको छ । रोकथामका विभिन्न कामहरुको लागि बजेट समेत छुट्टयाइसकेको छ । तर, यसको तयारी भने सन्तोषजनक नभएको जानकारहरु बताउँछन् ।

कोराना भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी मेडिकल कलेजको सिटी अस्पताललाई तोकिएको छ ।

तर, दुबै अस्पताल पूर्ण रुपमा तयार भइसकेका छैनन् । प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव यी दुई अस्पतालको भौतिक पूर्वाधार एक/दुई दिनमै व्यवस्थित भइसक्ने दाबी गर्छन् ।

अहिले ती अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुलाई चाहिने सुरक्षा उपकरणकै अभाव छ । ‘सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) चाहियो । त्यो नै छैन’ उनी भन्छन्, ‘केही दिनभित्रै आपूर्ति हुन्छ ।’

उनका अनुसार एक जना संक्रमित आए भने सात वटा पीपीई सेट एउटै सिफ्टमा आवश्यक पर्छ । डा. यादवले भने, ‘यसको व्यवस्थापन गर्नु आफैंमा चुनौतीपूर्ण रहेको छ ।’ उनका अनुसार प्रदेशमा तापक्रम नाप्ने थर्मल गनको समेत अभाव छ ।

बजेट छ, उपकरण पाइँदैन

कोरोनाविरुद्ध लड्न प्रदेश २ सरकारले बिहीबार मात्रै २५ करोड रुपैयाँको कोष स्थापना गरेका छन् । कोषमा मन्त्रीहरुले एक महिनाको तलबसमेत दिएका छन् ।

यसअघि प्रदेश सरकारले प्रत्येक जिल्लालाई ५० लाखका दरले रकम उपलब्ध गराइसकेको छ । पूर्वसतर्कता अपनाउनका लागि स्वास्थ्य निर्देशनालय र प्रादेशिक अस्पताललाई पनि प्रदेश सरकारले रकम उपलब्ध गराएको छ । । ‘हामीसँग रकमको अभाव छैन’ प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह भन्छन्, ‘रकम हुँदाहुँदै पनि उपकरण पाइरहेको अवस्था छैन ।’

स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), तापक्रम नाप्ने थर्मल गनसहितका उपकरण नपाएको उनले बताए । कोरोना परीक्षण गर्ने आरटी–पीसीआरको पनि खोजी भइरहेको तर फेला पार्न नसकिएको साहले बताए ।

स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा पनि उपकरण पाउन गाह्रो भइरहेको बताउँछन् । ‘हामीले काठमाडौं, विराटनगरसहित मुख्य शहरहरुमा खोजी गर्दा पनि पाएनौं’ उनले भने ।

सहनिर्देशक झाले संघीय स्वास्थ्य मन्त्रालयसँग पटक–पटक उपकरणका लागि आग्रह गरिए पनि पाउन नसकेको सुनाए । उनका अनुसार पाँच हजार थान पीपीई, दुई सय थान थर्मल गन र दुई लाख मास्क माग गरिए पनि आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment