Comments Add Comment

पूर्वमा २० जनाको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ

१५ चैत, विराटनगर । प्रदेश १ मा कोरोना भाइरस संक्रमण (कोभिड १९) का शंकास्पद २५ जना बिरामीमध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारसम्म परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएकामध्ये २० जनामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो । पाँच जनाको भने रिपोर्ट आउन बाँकी छ ।

प्रदेश १ को आपतकालीन कार्य सञ्चालन केन्द्र विराटनगरका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, गाईघाटको उदयपुर अस्पतालबाट एक, विराटनगरको कोशी अस्पतालबाट छ र झापाको मेची अस्पतालबाट दुई जनाको गरी २५ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको थियो ।

७८ जना घर फर्किए

प्रदेश १ मा विभिन्न क्वारेन्टाइनमा बसेका ७८ जना घर फर्किएका छन । त्यसैगरी आइसोलेसनमा भर्ना भएकामध्ये ५ जना डिस्चार्ज भएका छन् । आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार हाल क्वारेन्टाइनमा तीन सय २८ जना रहेका छन् । १९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । तीन सय ६९ जना होम क्वारेन्टाइनमा छन् ।

यसरी बस्नेहरु वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरुको परिवारका सदस्य छन् । प्रदेशका एक सय नौ स्थानमा एक हजार आठ सय ४८ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । त्यस्तै, प्रदेशका विभिन्न ३९ अस्पताल एवं स्थानीय तहमा स्वास्थ्य केन्द्रमा गरी दुई सय ५६ वटा आइसोलेसन शय्या छ । प्रदेश ठूला २९ अस्पतालमा तीन सय ७५ शय्याको आईसीयु कक्ष तयार पारिएको छ ।

आकस्मिक कामका लागि तीन करोड बजेट

प्रदेश १ सरकारले कोरोना भाइरस रोकथामका लागि तीन करोड रुपैयाँ निकासा गरेको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक औषधि उपचारका लागि तत्काल पर्ने समस्यालाई समाधान गर्न सो रकम खर्च गर्नेछ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले भारतसँग सीमा जोडिएका १४ स्थानीय तहमध्ये विराटनगर महानगरपालिका र मेची नगरपालिकालाई दश/दश लाख र अरुको हकमा पाँच/पाँच लाख रुपैयाँ प्रदान गरिने जानकारी दिए ।

यो रकमले आकस्मिक औषधि उपचार, क्वारेन्टाइनमा रहेकालाई खाना खुवाउने प्रवन्ध मिलाउन, हेल्थ डेक्समा चाहिने सामग्री बन्दोबस्त गर्न खर्च गरिनेछ ।

राहत प्याकेजको तयारी

लकडाउनका कारण प्रभावित विपन्न तथा श्रमिक परिवारका लागि प्रदेश १ सरकारले राहत प्याकेज ल्याउने तयारी गरेको छ । लकडाउन लम्बिने अवस्था आएपछि राहत प्याकेज ल्याउन सुझाव संकलन गर्न मुख्यमन्त्री शेरधन राईले सर्वपक्षीय छलफल आह्वान गरेका थिए ।

छलफलबाट प्राप्त सुझावका आधारमा प्रदेश सरकारले केही दिनभित्र राहत प्याकेज ल्याउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, सरकारी अस्पतालका प्रतिनिधि, निजी अस्पताल सञ्चालक, उद्योगी, व्यवसायीका प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment