१५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी किशोरीको परिवारका सदस्यहरुको अझैसम्म कोरोना परीक्षण नगरेको पाइएको छ ।
चैत ४ गते फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो । फ्रान्सबाट दुबईसम्म सँगै आएकी भियतनामी साथीलाई कोरोना भाइरसको संक्रमण भएपछि उनी बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु गएकी थिइन् ।
अहिले उनको टेकु अस्पतालमा उपचार भइरहेको छ । तर, अझैसम्म उनको परिवारका सदस्यहरुको समेत स्वाब संकलन गरेर परीक्षण गरिएको छैन । उनीहरुलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएकाले नमुना जाँच नगरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले बताए ।
‘उहाँहरु अहिले होम क्वारेन्टाइनमा हुनुहुन्छ । कुनै लक्षण देखियो भने मात्र नमुना संकलन गरेर परीक्षण गर्छौं’ पाण्डेले भने, ‘कोरोनाको लक्षण नदेखिएकाहरुलाई क्वारेण्टाइनमा राख्ने मापदण्ड छ, परीक्षण गर्नुपर्दैन ।’
तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संक्रमितको संसर्गमा आएकाहरुको परीक्षणमा जोड दिएको छ । दक्षिण कोरिया, जापान लगायतका मुलुकमा गरिएको परीक्षणमा पनि लक्षण नदेखिएकाहरुमा पनि संक्रमण देखिएको छ ।
यसरी परीक्षण गरेकै कारण कोरोना भाइरसको नियन्त्रण प्रभावकारी भएको छ । तर, त्यसको ठिक विपरीत नेपालमा भने अत्यन्त कम मात्र नमुना जाँच भइरहेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4