+
+
Shares

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले न्यूयोर्कमा समूह–७७ र चीनको ५०औँ वार्षिक बैठकमा विकासशील मुलुकको विश्व आर्थिक शासनमा आवाज र प्रतिनिधित्व बढाउन अन्तरराष्ट्रिय वित्तीय संरचना सुधार गर्न आह्वान गरे ।
  • उनले बहुपक्षीयतालाई सुदृढ गर्न एकता र सामूहिक प्रयास नवीकरण गर्दै एसडीजी कार्यान्वयनका लागि पर्याप्त वित्तीय स्रोत, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि आवश्यक रहेको बताए ।
  • मन्त्री खनालले भोटेकोशी बाढीबाट भएको क्षतिको प्रसङ्ग उठाउँदै जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त र नर्थ–साउथ, साउथ–साउथ तथा त्रिकोणीय सहयोग सुदृढ गर्न आग्रह गरे ।

१० असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तरराष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आज आयोजित’ समूह–७७ र चीनको ५०औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ गर्न एकता र सामूहिक प्रयासलाई नवीकरण गर्नुपर्नेमा जोड दिँदै ग्लोबल साउथको आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

उनले संयुक्त राष्ट्रसङ्घ केन्द्रित नियममा आधारित बहुपक्षीय प्रणालीलाई थप सुदृढ गर्न, पर्याप्त तथा सुलभ वित्तीय स्रोत, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमार्फत दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उल्लेख गरे ।

आर्थिक तथा डिजिटल रूपान्तरणमार्फत विद्यमान असमानता घटाउनुपर्नेमा उनको जोड थियो ।

नेपालमा हालै आएको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिको प्रसङ्ग उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु न्यायको आवश्यकता औंल्याए ।

साथै, उनले जलवायुजन्य विपद् सामना गर्न अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्नुपर्ने बताउँदै साझा समृद्धिका लागि नर्थ–साउथ, साउथ–साउथ र त्रिकोणीय सहयोगलाई थप सुदृढ गर्न आह्वान पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?