१५ चैत, जनकपुरधाम । कोरोना रोकथामका लागि प्रदेश २ सरकारले जिल्लालाई दिएको रकमबाट उपकरण खरिद गरिने भएको छ ।
प्रदेश सरकारले प्रदेशका ८ जिल्लाको विपद व्यवस्थापन समितिलाई दिएको ५० लाख रुपैयाँबाट दुई जिल्लाले उपकरण खरिदका लागि सम्झौता गरिसकेको छ ।
प्रमुख जिल्ला अधिकारीहरुका अनुसार स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), तापक्रम नाप्ने थर्मल गन, मास्क, सेनिटाइजर, पञ्जासहितका सामग्री खरीद गरिनेछ । केहीले भने प्रचार–प्रसारमा समेत रकम खर्च गर्ने जनाएका छन् ।
सप्तरी, महोत्तरी र सर्लाहीले उपकरण खरिदका लागि काठमाडौंको एक सप्लायर्सलाई अर्डर दिइसकेका छन् । ती सप्लायर्सले चीनबाट सामग्री मगाएर उपलब्ध गराउने बताएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।
प्रदेश सरकारले दिएको ५० लाखबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), तापक्रम नाप्ने थर्मल गन, मास्क, सेनिटाइजरसहितका सामानको अर्डर गरिसकिएका उनको भनाइ छ ‘हामीले झण्डै २५ लाखको ती सामानहरुको अर्डर दिइसकेका छौं’ जिसीले भने, ‘बाँकीको रकम हामी कार्य योजना बनाएर खर्च गर्नेछौं ।’
सप्तरीमा प्रदेश सरकारले दिएको ५० लाखमध्ये झण्डै ४० लाख खर्चको कार्य विवरण तयार भइसकेको छ । सप्तरीले पनि काठमाडौंको एक सप्लायर्सलाई पीपीई, थर्मल गन, सेनिटाइजर, पञ्जा र मास्क किन्न अर्डर दिइसकेको छ । प्रमुख जिल्ला अधिकारी सुनील खनालले ती फर्मले अप्रिल १ तारिखसम्म सामान काठमाडौं आइपुग्ने जानकारी दिएको बताए ।
सप्तरीमा दुई सय थान पीपीई, १० हजार पञ्जा, ३ सय ५० लिटर सेनिटाइजर, ३ हजार ५ सय मास्क, २५ थान थर्मल गन खरिद गर्न लागेको छ ।
यस्तै, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीलाई डेढ लाखका दरले नगदै खर्च गर्न दिइएको छ । त्यस्तै राष्ट्रिय अनुसन्धान कार्यालयलाई पनि ५० हजार रुपैयाँ दिइएको छ ।
महोत्तरीमा पनि ती सामग्री खरिदका लागि एउटा सप्लायर्सलाई अर्डर दिइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । ‘सामान पाइरहेको छैन, तर पनि ती सप्लायर्सले उपलब्ध गराउँछु भनेको छ’ खत्रीले भने ।
तीन जिल्लाले पाएनन् सामग्री
धनुषा, सिरहा, रौतहट र पर्साले सामग्री नै खरिदन गर्ने बताएका छन् । ‘सामग्री नै खरिद गर्ने सोंच बनाएका छौं, तर पाइरहेको छैन’ सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले भने, ‘पीपीआई, मास्कसहितका सामान खरिद गर्न खोजेका छौं, तर पाइरहेको छैन ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि सुरक्षा सामग्री खरिद गर्न चाहे पनि सामग्री पाउन नसकिएको बताए । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पीपीई र थर्मल गनसहितका सामग्रीका लागि सप्लायर्ससँग कुरा भए पनि लकडाउनका कारण सामान मगाउन कठिनाइ भएको बताए ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यो रकमबाट पहिलो प्राथमिकता सुरक्षा सामग्री खरिद नै रहेको बताए ।
बारामा खातामा जम्मा हुन सकेन
प्रदेश सरकारले पठाएको ५० लाख रुपैयाँ बारा जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा हुन सकेको छैन । विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले लेखापाल नहुँदा कोषमा रकम जम्मा हुन नसकेको जानकारी दिए ।
उनले लेखापाल आउनेवित्तिकै कोषमा रकम जम्मा गरेर योजना अघि बढाउने बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4