Comments Add Comment

सरकारलाई कोभिड–१९ विरुद्ध लड्न क्रान्तिकारी माओवादीको सात बुँदे सुझाव

१५ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न एकीकृत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका महासचिव किरणले शनिबार एक विज्ञप्ती जारी गर्दै कोभिड-१९ विरुद्ध लड्न र लकडाउनपछि उत्पन्न समस्या समाधान गर्न सरकारलाई सात बुँदे सुझाव दिएका हुन् ।

क्रान्तिकारी माओवादीले विदेशबाट आएका नेपालीहरुलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राखेर संक्रमितको पहिचान गरी उपचारको व्यवस्था मिलाउन सरकारलाई भनेको छ ।

क्रान्तिकारी माओवादीको सात बुँदे सुझाव यस्तो छः–

  • एक, विदेशबाट आएका नेपालीहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राखी संक्रमितहरुको पहिचान गर्नुपर्छ । यो समस्या मुख्यतः पछिल्लो चरणमा भारतबाट नेपाल प्रवेशगर्नेहरुमा बढी देखिन्छ ।
  • दुई, परीक्षण तथा उपचार सामग्रीहरुको तुरन्त व्यवस्था गरी संक्रमित बिरामीहरुको उपचार गर्ने, संक्रमणको सम्भावना भएका सबैलाई अनिवार्य रुपमा परीक्षण गर्ने र पछि परीक्षणको प्रक्रियालाई आम रुपमा बिस्तार गर्दै तलसम्म लैजानुपर्छ । संक्रमित भएकाहरु सबैको पहिचान भएपछि तिनलाई क्वारेन्टाइनमा राखी लकडाउन खुकुलो पार्न सकिन्छ ।
  • तीन, सरकारले निजी र सरकारी दुबैथरी अस्पतालहरुलाई आवश्यक सबै सामग्रीहरु समान अनुपातमा उपलब्ध गराई उपचारको कमाण्ड गर्नुपर्छ । सरकारले सरकारी र निजी अस्पतालमा भेदभाव गर्नु हुँदैन र निजी अस्पतालहरुलाई पनि विभिन्न बहानामा जिम्मेवारीबाट उम्किन दिनुहुँदैन । यसका साथै, कोभिड-१९ बाहेक अन्य बिरामीहरुको उपचारलाई पनि आवश्यकता अनुसार निरन्तरता दिनुपर्छ ।
  • चार, उपचारको अग्रमोर्चामा लड्ने डक्टरहरु, नर्सहरु र अन्य सबै कर्मचारीहरुको जीवनबीमा गरिदिनुपर्छ ।
  • पाँच, महामारीले पैदागरेको कठिन स्थिति सहज नहुँदासम्म विभिन्न उद्योग तथा व्यवसायमा काम गर्ने मजदुरहरु, स्वरोजगारीबाट जीवन निर्वाह गर्ने श्रमिकहरु र आम गरिब तथा अशक्त जनताका आधारभूत आवश्यकता पूरा गर्नका लागि सरकारले आर्थिक प्याकेज बनाई त्यसलाई तुरुन्त कार्यान्वयनमा लैजानुपर्छ ।
  • छ, सरकारले खाद्यान्न, ग्यास, पानी, दुध, तरकारी जस्ता आधारभूत आवश्यकताका वस्तुहरुको आपूर्तिको जिम्मेवारी लिनुपर्छ । घरघरमा खाद्यान्न पुर्‍याउने नाममा महँगी बढाउने र कालोबजारी गर्ने निजी स्टोरहरुलाई सख्त कारबाही गर्नुपर्छ ।
  • सात, सरकारले लाठी लगाएर लकडाउन सफल भएको देखाउने तिर होइन कि जनताका न्यूनतम आधारभूत आवश्यकता पुरा गरेर लकडाउनको कष्टपूर्ण जीवनलाई सहज बनाउन विशेष जोड दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment