Comments Add Comment

कोरोना भाइरसले इटलीमा किन भयो यति धेरै मृत्यु ?

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण इटालीमा अहिलेसम्म नौ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । जबकी ८० हजार बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो विश्वको कुनै पनि देशको तुलनामा धेरै हो ।

इटालीका प्रधानमन्त्री कोन्टले देशबासीलाई आश्वस्त तुल्याएका छन् कि अहिलेको आपतकाल (लकडाउन) जुन तीन अप्रिलमा सकिनेछ, त्योभन्दा अगाडि नै मानिसहरुको जीवन सामान्य अवस्थामा फर्काइनेछ ।

तर, जसरी इटालीबाट आंकडाहरु आइरहेका छन्, त्यसले अहिले स्थिति सम्हालिने अवस्था भने देखिँदैन । इटालीको लोम्बार्डी इलाका अहिले पनि सबैभन्दा संकटग्रस्त छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र कुल पाँच सय ४१ जनाको मृत्यु भएको छ ।

इटालीमा अहिले स्थिति यस्तो छ कि मुर्दाघर शवले भरिएको छ र मर्नेहरुको संख्या लगातार बढ्दो छ । तर, कोरोना भाइरसको संक्रमण इटालीमा यो स्थितिमा कसरी पुग्यो ? के कारण युरोपका अरु देशको तुलनामा इटालीमा कोरोनाको संक्रमण तीब्र रुपमा फैलियो ? जसले नौ हजार बढीको ज्यान गयो ।

इटालीमा आधिकारिक रुपमा कोरोना भाइरसको संक्रमण २० फेब्रुअरीबाट भयो । त्यसबेला एक ३८ वर्षका व्यक्तिलाई लोम्बार्डीको कोडोग्नो क्षेत्रमा आफ्नो जाँच गराउँदा कोरोना संक्रमण भएको पाइएको थियो । यो नै इटालीमा कोभिड–१९ को पहिलो केस थियो ।

तर, केही स्वास्थ्यकर्मीहरु इटालीमा भाइरसको प्रवेश यसअघि नै भएको मान्छन् । इटालियन नेशनल इन्स्टिच्युट अफ हेल्डका डिपार्टमेन्ट अफ इन्फेक्सियन डिजजका एक शोधकर्ता भन्छन्, ‘यो ठिक त्यही बेला भयो, जब हामी इन्फ्लुएन्जाको सबैभन्दा खराब समयसँग जुधिरहेका थियौं र मानिसहरुमा इन्फ्लुएन्जाको लक्षण देखिएको थियो ।’

इटालीमा पहिलो संक्रमण देखिनुअघि देशको उत्तरी क्षेत्रमा निमोनियाको कैयौं केस आएको थियो । मानिसहरु लोम्बार्डीको कोडोग्नो क्षेत्रको अस्पतालमा निमोनिया भएको भन्दै पुग्नेहरु थुप्रै थिए ।

यस्तोमा मानिसहरु कोरोना भाइरसको संक्रमण भइसकेको थियो । तर, यसलाई फ्लू वा निमोनिया ठानेर उपचार गरिएको हुनसक्छ, जुन भाइरस फैलिनुको कारण बन्यो ।

हुनपनि लोम्बार्डीको उत्तरी क्षेत्र कोरोना भाइरसकाबाट सबैभन्दा प्रभावित छ । पूरा देशको संक्रमितको ८५ प्रतिशत यही क्षेत्रमा छन् भने इटालीमा जति मानिसको मृत्यु भएको छ, उनीहरु मध्ये ९२ प्रतिशत यही क्षेत्रका छन् ।

तर, यसको अर्थ यो होइन कि इटालीका यो क्षेत्र मात्र भाइरलको चपेटामा छन् । इटालीको सबै २० वटा प्रान्तमा संक्रमण देखिएको छ ।

यति धेरै मृत्युको कारण के ?

केही अधिकारीको भनाई छ, कोरोना भाइरस पहिचान हुनुपूर्व नै फैलियो । त्यहीकारण अहिले संक्रमणले महामारीको रुप लिएको छ र दैनिक सयौंको संख्यामा मानिसहरुको मृत्यु हुनेगरेको छ ।

इटालीका एक स्वास्थ्य अधिकारी रिकार्डोकाअनुसार जब यो फैलिन सुरु भएको थियो, त्यसबेला यसबारे पत्तै भएन । जतिबेला यसबारे थाहा भयो, त्यसबेला फैलिसकेको थियो । त्यसबेला इटालीमा यो एउटा चेनको रुपमा फैलिएको थियो ।’

यही कारण अहिले दिनमा केही सय मानिसको मृत्यु हुने अवस्था आएको उनको धारणा छ । तर, केही अधिकारीहरु भन्छन् कि इटालीमा कुनै पनि युरोपेली देशमाभन्दा धेरै टेष्ट गरिएको छ । त्यसैले संक्रमित मानिसको संख्या यति धेरै देखिएको हो ।

नेशनल हेल्थ इन्स्टिच्युटकाअनुसार इटालीमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण जति मानिसको मृत्यु भएको छ, उनीहरुको औषत् उमेर ८१ वर्ष आउँछ ।

संयुक्त राष्ट्रसंघकाअनुसार जापानपछि इटाली दोस्रो यस्तो देश हो, जहाँ धेरै जेष्ठ नागरिकहरु छन् । यसको अर्थ यो पनि हो कि यदि उनीहरु कोरोनाको चपेटामा परे भने उनीहरु गम्भीर बिरामी हुने धेरै खतरा हुन्छ । र, इटालीमा कोरोनाबाट धेरै मानिसको मृत्युको एउटा कारण विश्वका सबैभन्दा धेरै जेष्ठ नागरिक हुनु पनि हो ।

किनकी कोरोनाबारे अहिलेसम्म जति जानकारी पाइएको छ, त्यसअनुसार यो भाइरसको संक्रमणको खतरा जेष्ठ नागरिकलाई हुनेछ । र, इटालीमा ६५ वर्ष उमेर पार गरेको जनसंख्या धेरै छ ।

तर, केहीले भने संक्रमणको टेष्ट गरिएको नमुनालाई लिएर पनि प्रश्न गर्ने गरेका छन् । उनीहरुको तर्क छ कि यो रिपार्ट भएका केसहरुमा आधारित छ । दुरदराजका थुप्रै केस दर्ता नै नभएको हुनसक्छ ।

लोम्बार्डीमा जेष्ठ नागरिकहरुलाई क्लिनिक चलाउने मध्ये एक डा. कासानीकाअनुसार उत्तरी इटालीको जनसंख्या र उनीहरुको प्रकार पनि एउटा कारण हुनसक्छ । वायुको गुणस्तर जाँच गर्ने स्वीस एयर मोनिटरिङ प्लेटर्फ आईक्युएयरकाअनुसार युरोपको सबैभन्दा प्रदूषित सय शहरमा २४ इटालीका छन् । र, कोरोना भाइरसको संक्रमणका कारण सास लिन हुने कठिनाई पनि मृत्युको दरको एउटा कारण हुनसक्ने जानकारहरु बताउँछन् ।

इटाली सरकारको तयारी कस्तो थियो ?

जसरी इटालीमा यो भाइरसको प्रकोप बढ्यो, त्यसले मानिसहरुलाई आश्चर्यमा पार्‍यो । इटाली ती देशहरु मध्ये एक हो, जसले यसबाट बच्नको लागि निकै कडा कदम चालेको थियो र अहिले पनि सरकार यसबाट मुक्त हुन प्रयासरत छ ।

इटालीमा पहिलो संक्रमण भेटिएपछि स्वास्थ्य मन्त्रालयले एक कार्यदल बनाएको थियो । साथै, इटाली युरोपमा पहिलो देश हो, जसले आफ्नो विमान सेवामा प्रतिबन्ध लगाएको थियो ।

तर, यात्रा प्रतिबन्ध प्रत्युत्पादक बन्यो । जब इटालीले चीनबाट आउने विमानमा प्रतिबन्ध लगायो, मानिसहरु कनेक्टिङ फ्लाइटबाट इटाली पुगे । उनीहरुले आफ्नो यात्राको सही विवरण दिएनन् ।

केही विशेषज्ञकाअनुसार सरकारले यो कदम चाल्नु अगाडि नै कोरोना भाइरस इटाली प्रवेश गसिकेको थियो । तर, न सरकार न जनतालाई यसको अनुभूति भयो ।

अब के गर्दैछ सरकार ?

इटाली सरकारले अत्यावश्यक बाहेकका काममा घर बाहिर निस्किए दुई लाख ४८ हजार जरिवाना गर्न आदेश दिएको छ । सबैभन्दा प्रभावित लोम्बार्डीका नागरिकहरुलाई आफ्नो घरबाट अधिकार खोसिएको छ । उनीहरु आफ्नो कुकुरलाई पनि घरबाट २०० मिटरभन्दा पर लैजान पाउँदैनन् ।

नयाँ नियमअनुसार १५ अप्रिलसम्म कोही पनि मानिस न घरबाट बाहिर हिँड्न सक्छन् न दौडिन । मोटरसाइकलमा पनि बाहिर जान रोक लगाईको छ ।

घर बाहिर भीडमा भेटिए ५ हजार युरोसम्म जरिवाना हुनेछ, जुन इटालीको अरु क्षेत्रमा लगाइएको जरिवानाभन्दा २४ गुणा बढी हो । यदि कुनै परिवारसँग दुईवटा घर छ भने एउटालाई मात्र मुख्य घर बनाउन सक्छन् । अर्कोमा जान पनि पाइँदैन ।

सबै पर्यटकीय स्थल, होटल, फार्म हाउस सबै बन्द गरिएको छ । हरेक घरको एक सदस्यलाई कुनै पनि पसलमा प्रवेश गर्ने अनुमति हुनेछ । खाद्य सामाग्री र पेय पदार्थ बेच्ने भेण्डिङ मेसिनहरु अनिश्चितकालका लागि बन्द गरिएको छ ।

सबैतिर निर्माण कार्य रोकिएको छ । सरकारी आदेशमा भनिएको छ कि अत्यावश्यक सेवामा काम गर्नेहरु, खासगरी सुपरमार्केटको क्यासियरहरुको हरेक घण्टा तापक्रम नापिनेछ । सार्वजनिक स्थानमा पुसिलले कसैलाई रोक्यो भने उसको तापक्रम लिने अधिकार हुनेछ ।’

लोम्बोर्डीको जस्तै कडा कदम इटालीको तेस्रो ठूलो प्रभावित इलाका पिडमन्टमा पनि चालिएको छ ।

कसरी काम गरिरहेको छ स्वास्थ्य विभागले ?

लगातार बढ्दो संक्रमण र मृत्युको संख्यासँग जुधिरहेको इटालीको हालत चिन्ताजनक छ । बिरामीको संख्या यसरी बढिरहेको छ कि अस्पतालमा वेड कम भएको छ र डाक्टरहरु दुविधामा छन् कि कसलाई उपचार गरौं, कसलाई छाडौं ।

इटालीमा करिब पाँच हजार २०० इन्टेन्सिभ केयर बेड छ । तर, यसमध्ये थुप्रै बेड दीर्घरोगका बिरामीले पहिल्यै गरिएको थियो । उत्तरी इलाका लोम्बार्डी र बेनेटोको उत्तरी इलाकामा निजी र सरकारी संस्थान दुबैमा गरी एक हजार ८०० वेड्स छन् ।

लोम्बाडीको अस्पतालमा काम गर्ने डा. स्टीफेनो म्याग्नोनकाअनुसार अस्पतालहरुको क्षमताले धान्न गाह्रो भएको छ । उनले भने, हरेक दिन अवस्था झन् खराब भइरहेको छ । कोरोना भाइरससँग लडिरहेका बिरामीको उपचारका लागि आईसीयु बेड्स र जनरल बेड्समा आफ्नो क्षमताको उच्चतम स्तरमा पुगिसकेका छौं । अरु बिरामी भर्ना गर्न अब सम्भव छैन ।’

‘हाम्रो मानवीय र प्राविधिक दुबै संशोधन सकिसकेको छ । हामी नयाँ भेन्टिलेटर र डिभाइसहरुको पर्खाइमा छौं’ उनले अघि भनेका छन् ।

यो साताको सुरुवातमा बर्गामोका एक आईसीयू फिजिसियन डा. डेनियल मपचनीको ट्वीट भाइरल भएको थियो । उनले भनेका छन्, ‘हरेक दिन १५–२० एड्मिसन हुन्छ । सबैको कारण एउटै छ । एकपछि अर्को टेष्टको नतिजा आइरहेको छ–पोजेटिभ, पोजेटिभ । इमर्जेन्सी रुप धरासायी हुने अवस्थामा छ ।’

‘यो भाइरसबाट पीडित हाम्रा केही सहयोगीबाट आफन्तमा पनि सरेको छ । र, उनीहरु जीवन मरणको दोसाँधमा छन् ।’

बीबीसीसँगको कुराकानीमा इटालीका विदेशमन्त्री लुइजी डी माइयोले एकल युरोपीय युनिट स्थापनाको माग गरे, जसले युरोपमा हस्पिटल र क्लिनिकमा हुने सप्लाईमा सहयोग गर्न सकोस् ।

अर्थव्यवस्थामा परेको असर

महामारीका रुप लिइसकेको कोरोना भाइरस संक्रमणले मानिसको ज्यान मात्र लिएको छैन, रोजगारी र आर्थिक संशाधनलाई पनि नराम्रोसँग प्रभावित भएको छ ।

इटालीमा लकडाउन लगभग एक महिना हुँदैछ र प्रधानमन्त्रीले जुलाईसम्म लकडाउनमा रहन आग्रह गरेका छन् । लकडाउनका कारण इटाली आर्थिक मन्दीतर्फ उन्मुख छ ।

साथै, कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको उत्तरी इलाकाले नै देशको अर्थ व्यवस्थालाई उर्जा दिने गरेको थियो । त्यसैले इटालीको विकास दरमा १.२ प्रतिशत गिरावट आउन सक्ने अनुमान छ ।

लोम्बार्डी क्षेत्रले इटालीको कुल अर्थ व्यवस्थाको एउटा ठूलो हिस्सेदारी राख्थ्यो । यो करिब २० प्रतिशतसम्म थियो । साथै देशको कुल जीडीपीमा १३ प्रतिशत पर्यटनबाट आउँथ्यो । लोम्बार्डी कोरोनाबाट प्रभावित भएपछि पर्यटन ठप्प भएको । र, यो आर्थिकमन्दी इटालीका लागि मात्र होइन ।

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीतर्फ उन्मुख भएको र यो सन् २००९ को मन्दीभन्दा पनि खराब हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment