Comments Add Comment

संघको आग्रह – ‘खाद्यान्न उद्योग सञ्चालन गर्ने वातावरण बनाइदेऊ’

१५ चैत, वीरगञ्ज । कोरोना भाइरसको (कोभिड–१९) संक्रमण फैलन नदिन मुलुकभरी लकडाउन गरिएको छ । तीनै तहको सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नआउने भनेपनि व्यवहारमा त्यस्तो देखिँदैन ।

लकडाउनकै कारण दैनिक जीवनमा नभई नहुने चामल, दाल, तेल उत्पादन गर्ने उद्योग पाँच दिनदेखि बन्द छ । उद्योगमा मौज्दात रहेका सामान ढुवानी गर्ने साधनको समेत अभाव छ ।

नेपाल चामल, तेल, दाल उद्योग संघले अत्यावश्यकीय सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष सुवोधकुमार गुप्ताले प्रेस विज्ञप्ती जारी गर्दै लकडाउन अवधिभर उपभोक्तालाई खाद्यान्न सहज रुपमा पाउने वातावरण बनाउन उद्योग सञ्चालनमा ल्याउनुपर्ने तर्क गरेका छन् ।

कर्मचारी, श्रमिक मजदुरको स्वास्थ्यलाई ध्यानमा राखी सेनिटाइजर, मास्क, सोसियल डिस्टेन्स लगायत सुविधा उपलब्ध गराई उद्योग सञ्चालनमा ल्याउनुपर्ने उद्योगीले बताएका छन् ।

‘चामल, दाल, तेल दैनिक जीवनमा नभइनहुने खाद्य वस्तुहरु हुन् । पाँच दिनदेखि खाद्य उद्योगमा उत्पादन ओसार प्रसार ठप्प भएको छ,’ गुप्ताले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा उद्योग निरन्तर सञ्चालनमा आउनु आवश्यक छ । सुरक्षा सतर्कता र आवश्यक सावधानी अपनाउन हामी तयार छौं । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment