Comments Add Comment

दीपकको दु:खान्त : अस्पतालले फोहोर फाल्ने ठाउँमा राखिदियो शव

१४ चैत, विराटनगर । कोरोना संक्रमणका कारण विश्व आक्रान्त छ । नेपालमा पनि संक्रमण देखिएपछि सरकारले मंगलबारबाट देशभर लकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुलाई अत्यावश्यक बाहेकका अरु काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यही बेला मोरङको पथरी शनिश्चरे नगरपालिका– १० की मनु लिम्बुमाथि भने अर्काे ठूलो बज्रपात परेको छ । उनी कोरोना संक्रमणबाट जोगिनेभन्दा पनि आफ्नो दाइको शव कसरी अस्पतालबाट लैजाने भन्ने पिरमा छिन् ।

उनका दाजु दीपक लिम्बुको विराटनगरको विराट नर्सिङ होममा मृत्यु भयो । तर, उपचारको क्रममा उठेको बिल करिब तीन लाख ६० हजार रुपैयाँ तिर्न नसक्दा उनले अस्पतालबाट शव लैजान पाएकी छैनन् ।

अस्पतालले उनको शव फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा छाडिदिएको छ । ‘मेरो दाजुको मृत्यु त कुकुरकोभन्दा पनि नराम्रो भयो’ उनले भनिन् ‘अस्पतालले फोहोर हाल्ने ठाउँमा शव राखेको छ, निकाल्ने क्षमता छैन ।’

नर्सिङ होमका प्रशासन प्रमुख पदम विनाडी भने बिल नतिरेसम्म शव लैजान नदिने बताउँछन् ।

बन्धक बनाएर कुटपिट, मृत्युपछि पैसाको अफर

फागुन २७ गते गाउँमा होलीको चहलपहल थियो । मनुका दाजु २७ वर्षीय दीपक सधैं झै छिमेकी लंक तामाङको घरमा सुत्न गए । घरमा बुबा र कान्छी आमासँग सम्बन्ध नराम्रो भएका कारण उनको रात लंककै घरमा बित्थ्यो ।

तर, २७ गते राति सुतिरहेकै स्थानमा उनीमाथि कुटपिट भयो । आफ्नो घरमा बसेको भन्दै लंकका भाइ दोर्जे तामाङ, मुस्कान राई र सञ्जय लिम्बुले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट उनी घाइते भए । गाउँको एकान्तमा रहेको घरमा दीपक कुटिँदा छिमेकीले सुइँकोसम्म पाएनन्, उनले पनि भनेनन् ।

त्यही कारण उनीमाथि कुटपिट दोहोरिँदै गयो । चैत ६ गते अवस्था गम्भीर भएपछि दीपकलाई लंकको घरबाट छिमकी ललितजंग कुरुङ्वाङको घरमा लगेर छाडियो ।

घटनाको नौ दिनसम्म दीपकले आफन्तलाई सुनाएनन् । अन्तिम अवस्थामा ललितजंगको घरमा लगेपछि उनैले धरान बस्ने बहिनी मनु लिम्बुलाई जानकारी गराए । मनुले त्यहाँ पुगेर दीपकलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिन् । एम्बुलेन्स रिजर्भ गर्ने पैसा थिएन, त्यसैले अटो रिक्सामा लगिन् ।

तर, अस्पतालले आईसीयु छैन भन्दै विराटनगरमै फिर्ता पठायो । विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा बिहीबार बिहान दीपकको निधन भएको हो । तर, खर्च अभावका कारण मनुले दाजुको अन्तिम संस्कार गर्न पाएकी छैनन् ।

मनुकाअनुसार दाजुको मृत्युपछि घटनामा संलग्नका आफन्तहरुले शव निकाल्न पैसा दिने तर प्रहरीमा जाहेरी नदिन दबाब दिइरहेका छन् । ‘मेरो दाजुमाथि ठूलो अन्याय भएको छ’ उनले भनिन्, ‘यस्तो गर्नेलाई कारवाही हुनुपर्छ ।’

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीकाअनुसार घटनाको जानकारी ढिलो मात्र आएको थियो । तर, एक आरोपी मुस्कान राई पक्राउ परेका छन् ।

सञ्जय लिम्बु र दोर्जे तामाङ फरार छन् । मृतक र आरोपी तीनजना सँगै ज्याला मजदुरी गर्ने गरेको पाइएको छ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा यस घटनाको अनुसन्धान गरिरहेको छ ।

श्रीमती र बुबा बिरानो

२७ वर्षका दीपक विवाहित हुन् । उनकी श्रीमती बबिता राई वैदेशिक रोजगारीमा छन् । विदेश गएपछि श्रीमतीले छोरीलाई माइतीमा लगेर राखेकी छन् । मनुका अनुसार उनी अहिले श्रीमानलाई वास्तै गर्दिनन् । दीपकलाई परिवारभित्र पनि राम्रो व्यवहार थिएन ।

आमाले छाडेपछि बुबाले दोस्रो बिहे गरे । कान्छी आमाले नराम्रो व्यवहार गरेपछि उनी लंकको घरमा बस्दै आएका थिए । ‘भाउजुले पनि वास्ता नगरेका कारण दाजु तनावमा हुनुहुन्थ्यो’ मनुले भन्छिन्, ‘एक्लै परेका दाजुलाई तड्पाई तड्पाई मारे ।’

करिब नौ दिन बन्धक बनाएर कुटपिट गर्दा दीपकको दाहिने आँखा फुटेको थियो । टाउकोमा पानी जमेको थियो । समयमा नै उपचार नपाएका कारण उनको ज्यान गएको हो । दीपक मोरङ क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment