Comments Add Comment

कोरोना भाइरस स्थानीय रुपमा फैलिएको छैन : सरकार

१४ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो केस ९ माघमा भेटियो । चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचारपछि उनी निको भए भने विदेशबाट आएपछि उनको संसर्गमा आएकाहरुमा संक्रमण सरेको पाइएन ।

त्यस्तै, १० चैत र १२ चैतमा दुई जनामा संक्रमण भेटियो । फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएकी १९ वर्षीया किशोरीमा संक्रमण भेटियो । यस्तै यूएईबाट एयर अरेबियाको विमानबाट ६ चैतमा नेपाल आएका धादिङका ३२ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो ।

तीनवटै केसमा एउटा समानता छ, संक्रमण देखिएका व्यक्ति विदेशबाट नेपाल आएका हुन् । यो कोरोना भाइरस संक्रमणको पहिलो चरण हो । तर, कतिपयले नेपालमा कोरोना संक्रमण अर्को चरणमा पुगिसकेको त छैन भन्ने प्रश्न गर्ने गरेका छन् ।

किनकी कतारबाट आएकी युवती चढेको विमानमा १५८ यात्रु थिए भने यूएईबाट आएका पुरुष चढेको विमानमा अरु १६९ जना । साथै उनी काठमाडौंमा आएर पनि होटलमा बसेका थिए । जहाँ मानिसको आवतजावत बढी हुन्छ ।

अहिलेसम्म कोरोना संक्रमण स्थानीय स्तरमा नफैलिएको सरकारले बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले भने, ‘नेपालमा लोकल वा कम्युनिटी ट्रान्समिसन देखिएको छैन । संक्रमितबाट नेपालमै भएको अर्को व्यक्तिमा सरेको पनि छैन ।’

‘कोरोना संक्रमण देखिएको देशबाट आएकाहरुलाई सुख्खा खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भए कोभिड–१९ भयो कि भनेर हेनुपर्छ’ उनले भने । डा. कार्कीका अनुसार दुबै संक्रमितको संसर्गमा आएका सबैको कन्ट्र्याक ट्रेसिङ भइसकेको छ । ‘उहाँहरुसँग हाम्रो नियमित सम्पर्क भइरहेको छ र कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन’ सल्लाहकार डा. कार्कीले भने ।

कोभिड–१९ को शंकास्पद बिरामीहरुलाई आइसोलेनल र जाँच गर्नुका साथै संक्रमण भएको पुष्टि भए उपचार गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल छुट्याइएको छ ।

कोरोना संक्रमणको चार चरण

पहिलो चरण : आयातीत संक्रमण

संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मुलुकमा भाइरस मुलुकमा भित्रिनु ।

दोस्रो चरण : स्थानीय रुपमा संक्रमण फैलिनु । बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सर्न थाल्नु

तेस्रो चरण : सामुदायिक रुपमा संक्रमण फैलिनु । यो चरणमा संक्रमित वा विदेशबाट आएका मानिससँग नभेटेकाहरुमा पनि संक्रमण हुन थाल्छ । यो सामुदायिक संक्रमणको अवस्था हो । यस्तो अवस्थामा मुलुकको धेरै क्षेत्र भाइरसबाट प्रभावित बनिसकेको हुन्छ ।

चौथो चरण : महामारी । कोरोना भाइरसको अन्तिम र सबैभन्दा खराब अवस्था हो यो । यो अवस्थामा पुगिसकेपछि भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment