Comments Add Comment
अन्तर्वार्ता :

‘कोरोनाको औ‍षधि पत्ता लगाउन इबोलाको जस्तो सजिलो छैन’

१३ चैत, काठमाडौं । मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधि गरेका जिवाणु वैज्ञानिक सुदीप खड्का अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत छन् । उनी संग्लग्न वैज्ञानिक टोलीले २ वर्षअघि इबोला भाइरसको औषधि पत्ता लगाएको सोधपत्र प्रतिष्ठित एण्टी भाइरल जर्नलमा प्रकाशित भएको थियो ।

इबोला भाइरसको महामारी फैलिएमा रोकथाम गर्न सकिने खबर एण्टी भाइरल जर्नलमा प्रकाशित भएसँगै सुदीप संलग्न ११ जना वैज्ञानिक टोलीको चर्चा चुलिएको थियो ।

बाग्लुङ स्थायी घर भएका खड्का ‘भाइरोलोजिस्ट’ हुन् । अर्थात् विभिन्न भाइरसले फैलाउने रोगविरुद्ध अनुसन्धान गर्ने वैज्ञानिक । भाइरससम्बन्धी अध्ययन संसारका अत्यन्तै सीमित केन्द्रहरुमा मात्र सम्भव हुन्छ । उनी सुरक्षाको दृष्टिले सबैभन्दा संवेदनशील मानिने चौथो तह (बायोसेफ्टी लेभल–४) को प्रयोगशालामा काम गर्छन् । संसारका सीमित वैज्ञानिकहरुको मात्र त्यस्तो प्रयोगशालामा पहुँच हुन्छ ।

प्रस्तुत छ, उनै खड्कासँग कोरोना (कोभिड १९) भाइरस महामारीबारे वैज्ञानिकहरु गरिरहेको अनुसन्धान, अनुसन्धानको विकासक्रम र नेपालको अवस्थाबारे अनलाइनखबरले गरेको कुराकानी :

अहिले महामारी फैलिरहेको कोरोना (कोभिड १९) लाई एउटा जीवाणु वैज्ञानिकको आँखाले कसरी हेर्नु भएको छ ?

सैद्धान्तिक र सम्भाव्यताको रुपमा हेर्नु पर्दा अहिलेको परिस्थिति हामीले अनुमान गरेकै कुरा हो । विश्वभरका भाइरससम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिकले कुनै न कुनै रुपमा कुनै एउटा भाइरसले यस्तो महामारी फैलाउने अपेक्षा गरेकै हुन्छ । तर, अहिले जसरी यो संक्रमण फैलियो, यो एक किसिमले भन्नुपर्दा हामी सबैलाई अचम्मित पार्ने तरिकाले आइपर्‍यो ।

महामारीको सिद्धान्तअनुसार अहिलेसम्म अपेक्षित केही भएको छैन, रोग फैलिने गति, रोगको प्रकार, यसको असर सबै अपेक्षित नै हो । तर, समस्या के देखियो भने वैज्ञानिकहरुलाई थाहा भएको सबै कुरा आम जनमानस र सरकारी निकायलाई राम्ररी प्रवाह नभएको पाइयो । वैज्ञानिकहरुसँग प्रशस्त उपयोगी जानकारी हुँदाहुँदै पनि त्यसको सही सदुपयोग हुनमा केही ढिला भयो ।

यही कारण असंख्य मानिसले रोग सामना गर्नका साथै समाजले अभूतपूर्व रुपमा संकटको सामना गर्नुपर्‍यो । यो महामारी हाम्रो जीवनकालको पहिलो भए पनि मानव सभ्यताका लागि पहिलो होइन, न त अन्तिम नै हो । आशा छ, आगामी दिनहरुमा मानव सभ्यतालाई महामारीविरुद्ध पूर्ण तयार रहन यसले राम्रो पाठ सिकाउने छ ।

इबोला र जिका–भाइरसविरुद्धको औषधि पत्ता लगाउने अनुसन्धानमा कसरी काम गर्नुभएको थियो ?

हाम्रो अनुसन्धान ‘भ्याक्सिन’मा भन्दा पनि ‘एण्टी भाइरल’ औषधिमा केन्द्रित थियो । भ्याक्सिनले भाइरसबाट जोगाउँछ भने ‘एण्टी भाइरल’ औषधिले भाइरस संक्रमणपछि उपचार गर्छ । त्यसमा एउटा टिम नै संलग्न थियौं ।

लाखौं सम्भावित औषधिहरुको परीक्षण तीब्र गतिमा गर्न सक्नु नै हाम्रो सबैभन्दा ठूलो सामर्थ्य थियो । विभिन्न भाइरससँग काम गरेको अनुभव हुनाले हामीले सोही औषधिहरु फरक–फरक माध्यमबाट परीक्षण गर्न सफल भयौं । समग्रमा भन्नु पर्दा सम्पूर्ण टिमको योग नै त्यो सफलताको सूत्र थियो ।

तपाईंहरुले पत्ता लगाएको इबोला र जिका भाइरसविरुद्धको औषधिको प्रभावकारिता कस्तो छ ?

इबोलाको प्रमाणिक भ्याक्सिन बनिसकेको छ । तर, यस्ता नयाँ भाइरसको भ्याक्सिनहरु लामो समयसम्म सुपरीवेक्षण गर्नुपर्ने हुन्छ । त्यसैगरी इबोलाको औषधि (हामीले पत्ता लगाएको र अरुको पनि) पनि सुपरीवेक्षणकै क्रममा छ । यो लामो प्रकियाविना सम्भव हुनै सक्दैन ।

अनि जति नयाँ नयाँ औषधिहरु पत्ता लागे पनि झन् नयाँ र धेरै प्रभावकारी औषधिहरु बनाउने अनुसन्धान सधैं भइरहन्छ । हामी अझै पनि प्रभावकारी औषधि बनाउने अनुसन्धान गरिरहेका छौं ।

डेंगुले मानिसको कुन कुन प्रणाली र प्रोटिनलाई ट्रार्गेट गर्छ भनेर हामीले अनुसन्धान गरेका थियौं ।

जब हामी इबोलाविरुद्धको औषधि बनाउने काम गर्दै थियौं, त्यतिबेला हामीसँग वर्षौंदेखिका वैज्ञानिकहरुको अनुसन्धानको भण्डार थियो । तर, अहिलेको परिस्थिति केही फरक छ ।

(प्रोटिनहरु शरीरका जटिल अणुहरु हुन् जसले शरीरमा धेरै महत्वपूर्ण भूमिका खेल्छन् । उनीहरुले कोषिकामा प्रायः जसो काम गर्छन् र शरीरको अंगहरूको संरचना, प्रकार्य र सञ्चालनका लागि आवश्यक छन् । प्रोटिनहरू सयौं वा हजारौं साना इकाइहरु मिलेर बनेका हुन्छन्, जसलाई एमिनो एसिड भनिन्छ। )

डेंगुले शरीरका १ सय भन्दा फरक–फरक प्रोटिनलाई टार्गेट गरेको हामीले पहिलो पटक पत्ता लगाएका थियौं । हेपाटाइटिस सीको पनि डेंगुको जस्तै अनुसन्धान गरेका थियौं ।

इबोला, जिका र डेंगु सबैको अनुसन्धानको उस्तै प्रकिया हो । तर, हामी यी भाइरसविरुद्धको औषधिको प्रभावकारिताको विषयमा धेरै अगाडि बढिसकेका छौं । हामीलाई विश्वास छ, हामीले दुई वर्ष अगाडि इबोलाको जे औषधि पत्ता लगाएका थियौं, अब त्योभन्दा प्रभावकारी औषधि पत्ता लाग्छ ।

नयाँ भाइरसविरुद्धको औषधि पत्ता लगाउने प्रक्रिया के हो र कसरी सुरु हुन्छ ?

जब हामी इबोलाविरुद्धको औषधि बनाउने काम गर्दै थियौं, त्यतिबेला हामीसँग वर्षौंदेखिका वैज्ञानिकहरुको अनुसन्धानको भण्डार थियो । गाह्रो काम हुँदाहुँदै पनि हामीसँग हाम्रा अग्रजहरुले गरेको अनुसन्धानको आधार थियो ।

जिका भाइरसको सन्दर्भमा भने यो नयाँ भाइरस हुँदाहुँदै मसँग डेंगु भाइरससँग काम गर्दा विकास गरेको प्रविधि थियो । जो, उस्तै भाइरस हुनुका नाताले जिकामा पनि प्रयोग गर्न सफल भइयो ।

तर, अहिलेको परिस्थिति केही फरक छ । हामीसँग उस्तै भाइरससँग गर्ने तुलनाबाहेक यही भाइरससँग सम्बन्धित वास्तविक अनुसन्धान सामग्रीको अत्यन्त कमी छ । उस्तै भाइरसको परिवेशमा पनि तुलनात्मक रुपमा अनुसन्धान केही पछाडि नै छ । तसर्थ यो ज्ञानको खाडल पूर्ति गर्न पनि केही समय लाग्न सक्छ ।

इबोला र जिका भाइरसविरुद्दको औषधि पत्ता लगाउन के कस्ता समस्या आएका थिए ?

कुनै पनि नयाँ खतरनाक संक्रमण हुने भाइरस देखिएमा प्रारम्भिक दिनहरु अनुसन्धानका लागि कठिन हुने गर्छन् । कुनै नयाँ भाइरस देखिँदा त्यो भाइरस प्रयोगशालामा उपलब्ध हुन र सो भाइरसको अनुसन्धान हुन प्रयोग हुने प्रविधिको पनि पूर्ण सुरक्षा प्रत्याभूति हुनु अति आवश्यक हुन्छ ।

उही प्रविधी प्रयोग गर्दा पनि नयाँ भाइरसमा सो प्रविधि पुनःप्रमाणित गर्नुपर्ने हुन्छ । प्रयोगशालामा हामीले गर्ने अनुसन्धानका सम्पूर्ण प्रक्रियाहरु पूर्ण रुपमा सुरक्षित छन् भन्ने प्रमाणित नभई अनुसन्धान कार्य सञ्चालन गर्दा उल्टो हामी आफैंलाई संक्रमण हुने वा हाम्रो माध्यमबाट अरुलाई सर्ने जोखिम हुन्छ ।

इबोला र जिकामा मैले काम सुरु गर्दा यी सम्पूर्ण प्रक्रियाहरु सम्पन्न भइसकेका थिए। तर, फेरि प्रत्येक भाइरस फरक हुन्छन् । तसर्थ एउटाको सफलताको सुत्र अर्कोमा लागु हुँदैन । तर, यो सबै प्रक्रिया सम्पन्न भएको खण्डमा केही महिनादेखि वर्ष दिनभित्रै प्रारम्भिक नतिजाहरु उपलब्ध हुन सक्छन्, जसरी हामीले प्राप्त गर्न सफल भएका थियौं ।

कोरोनाविरुद्धको औषधिमा पनि तपाईहरुको टिमले काम गरिरहेको छ ?

निश्चय पनि यो महामारीविरुद्ध लड्ने हरसम्भव प्रयास मेरो र हाम्रो टिमबाट हुने नै छ । अहिले भर्खर हामीलाई भाइरसको पूर्ण जीन उपलब्ध भएको छ । तर, प्रशस्त परिमाणमा यो भाइरस उत्पादन गर्न केही समय लाग्छ । प्रारम्भिक अनुसन्धान तथा सुरक्षा प्रविधिहरु अझै जाँचकै क्रममा छन् । म संलग्न ल्याबले पनि भर्खर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

अहिले त हाम्रो समूह प्रारम्भिक सुरक्षा तथा प्रविधि जाँचमा व्यस्त छ । सम्पूर्ण प्रक्रिया पूर्ण भएर उच्च तहबाट प्रमाणीकरण भएर आवश्यक स्रोत व्यवस्थापन भएपछि हाम्रो टोलीले यो अनुसन्धानमा अझै समय दिन सक्ने छ ।

अनुसन्धानमा ‘जिन’ को महत्व के हो ?

मानिसको जिन ‘डीएनए’ले बनेको हुन्छ भने भाइरसको जिन ‘आरएनए’ले बनेको हुन्छ । कोरोना र सार्ससँग तुलना गर्दा धेरै समानताहरु छन् । जसका कारण यसलाई सार्स–२ नाम दिइएको छ ।

अहिले कोरोनाको जिनको ‘सिक्वेन्स’ प्राप्त भएको हुँदा हामी सम्पूर्ण वैज्ञानिकहरु यो भाइरस बनाउन र यो भाइरसका प्रत्येक जिनहरुको एक–एक गरी सूक्ष्म अध्ययन गर्न सक्ने अवस्थामा छौं ।

कोरोनाविरुद्ध भइरहेको पछिल्लो अनुसन्धानहरुलाई कसरी नियालिरहनुभएको छ ?

अहिले प्रविधिले निकै ठूलो फड्को मारिसकेको छ । अतुलनीय रुपमा अनुसन्धान अत्यन्तै तीब्र गतिमा हुँदैछ । साथसाथै त्यस्तै तीब्र गतिमा नयाँ–नयाँ जानकारी पनि आउँदैछन् । अहिले बहुआयामिक प्रयासहरु हुँदैछन् । यो भाइरस नयाँ भएकाले हामीलाई यसका बारेमा केही थाहा छैन भन्दा पनि हुन्छ ।

तसर्थ यो भाइरसको जीवनचक्र, यसले पार्ने प्रभाव र यसको संक्रमणका सम्पूर्ण पक्ष बुझ्ने प्रयास एकातर्फ छ भने यो भाइरसको उपचार वा निदान गर्ने प्रयास र महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास अर्कोतर्फ छ ।

दुवै पक्ष उत्तिकै महत्वपूर्ण छन् । हामी पनि यी सबै पक्ष बुझ्ने प्रयासमा छौं । जसै नयाँ–नयाँ जानकारी आउँदै गर्छन्, हामीलाई पनि अनुसन्धान गर्न थप सहज हुँदै जाला ।

कोरोनालाई लिएर ‘भाइरोलोजिस्ट’हरुको प्रतिक्रिया कस्तो छ ?

यो अपेक्षित भए पनि अवाक् छौं । विगतमा ठूलै त्रास फैलाएका सार्स र मर्स भाइरसकै समूहको भाइरस भएको नाताले संक्रमणको रुपसँग अचम्मित छैनौं ।

मर्सभन्दा कम खतरनाक तर सार्सजस्तै अहिलेको संक्रमण उही परिवारको सदस्य हुनुको नाताले हामी भाइरोलोजिस्टको नजरमा अचम्मित पार्ने गरी फरक छैन ।

तर, जसरी यो संक्रमण संसारलाई नै ठप्प पर्ने गरी फैलिन सफल भयो, यसले भाइरोलोजिस्ट भन्दा पनि इपिडेमियोलोजिस्टहरु समक्ष थप चुनौती खडा गरेको छ । यो विषयमा गहन अनुसन्धान र वादविवाद वर्षौंसम्म चल्ने नै छ ।

इबोला र जिकाभन्दा कोरोनाको औषधि पत्ता लगाउन जटिल भएको हो ? हो भने किन ?

अहिले नै जटिल भएको भन्न सकिन्न । यो भाइरस पत्ता लागेको भर्खर केही महिना मात्र भएको छ । अहिले त कतिपय प्रयोगशालामा अनुसन्धान गर्न पनि यो भाइरस उपलब्ध छैन । तैपनि प्रारम्भिक चरणमा एक खोप र केही औषधिहरु अहिले नै अनुसन्धानका क्रममा छन् । यो त विगतमा कहिल्यै नदेखिएको तिब्रता हो ।

कुनै पनि औषधि तथा खोप अनुसन्धान प्रक्रिया आफैंमा अत्यन्त जटिल विषय हो । तर, पनि पत्ता लागेको केही महिनाभरमा यति धेरै कदम चाल्न सक्नु भनेको चमत्कार भन्दा कम होइन ।

कोरोनाविरुद्धको औषधि पत्ता लाग्न कति समय लाग्ला ?

कुनै पनि औषधि अनुसन्धान भएर पूर्ण रुपमा प्रमाणित हुन ५/१० वर्षको समय लाग्छ । तर, यदि पहिले नै कुनै अरु रोगको उपचारमा प्रयोग भएको औषधि अर्को रोगमा प्रयोग हुन सकेको खण्डमा भने १/२ वर्ष वा त्यो भन्दा कम समयमा उपलब्ध हुन सक्छ ।

यो भाइरसविरुद्ध कुनै उपचार छैन । ज्वरो घटाउन सिटामोल लगायतका साधारण औषधि प्रयोग गर्न सकिन्छ । यस्ता औषधि सेवन गर्दा प्रभावकारी भएको रिपोर्ट पनि आइरहेको छ ।

तसर्थ, अहिलेको प्रारम्भिक ध्यान अहिले प्रयोग भएका सम्पूर्ण औषधिहरु कोरोनाविरुद्ध परीक्षण गर्नु हो । हामी भाग्यमानी भयौं भने सायद कुनै औषधिले काम गर्ला । अहिले यसै भन्न सकिने अवस्था छैन ।

वर्षौं पहिले प्रकोप देखाएका तर कम भूगोलमा सीमित सार्स र मर्स विरुद्धसमेत खोप र औषधि उपलब्ध नहुनुले यो विषयको जटिलता उजागर गर्छन् । तर, अहिलेको संक्रमणको विश्वव्यापी प्रकृतिले गर्दा अनुसन्धान पनि विश्वव्यापी नै हुने छ । तसर्थ केही चाँडो आविष्कार हुने सम्भावना पनि उत्तिकै छ ।

तर, पनि आपतकालीन परिस्थितिको हवाला दिँदै कुनै औषधि वा खोप परीक्षणको रुपमा तत्काल प्रयोगमा आए पनि त्यसको पूर्ण अध्ययन हुन कम्तीमा पनि ५ वर्ष लाग्ने अनुमान गर्न सकिन्छ ।

अहिलेका लागि सबैजना संक्रमित हुनबाट जोगिनु नै सर्वोत्तम उपाय हो ।

कोरोना भाइरसविरुद्ध आंशिक रुपमा भए पनि काम गर्ने कुनै औषधि वा खोप छ कि ?

हाल यो रोगविरुद्ध कुनै खोप वा औषधिले काम गरेको प्रमाणित भएको छैन । कोही व्यक्तिलाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, दमजस्ता रोग लागेको छ र कोरोना पनि लागेको छ भने त्यो व्यक्तिको पुरानो रोगहरु जटिल बन्दै गएको अवस्थामा त्यसका लागि गरिने नियमित उपचार गर्न सकिन्छ ।

तर, यो भाइरसविरुद्ध कुनै उपचार छैन । ज्वरो घटाउन सिटामोल लगायतका साधारण औषधि प्रयोग गर्न सकिन्छ । यस्ता औषधि सेवन गर्दा प्रभावकारी भएको रिपोर्ट पनि आइरहेको छ ।

निमोनिया वा अन्य खोप लगाएको मानिसलाई कोरोना भाइरसले कम असर गर्छ भन्ने कुरा आइरहेको छ, के यो सत्य हो ?

निमोनियाको खोप लगाएको मान्छे वा फ्लुको खोप लगाएको मान्छेलाई यो भाइरसले कम असर गर्छ भन्ने कुरा पूर्णतया गलत हो । निमोनिया विभिन्न कारणले हुने गर्छ । जसमध्ये एउटा कारणलाई अहिलेको खोपले निवारण गर्छ । तर, कोरोनाका कारण हुने निमोनियामा त्यसको कुनै असर हुँदैन ।

जस्तो कि, एपेण्डिसाइटिसले पनि पेट दुख्छ, अनि जुका पर्दा पनि । तर, जुकाको औषधि खाएको मान्छेलाई ‘एपेन्डिसाइटिस’ हुँदैन भन्ने हुँदैन ।

तसर्थ, अरु रोगका कारण निमोनिया नहोस् भनेर वा फ्लुका कारण श्वासप्रश्वासको समस्या नहोस् भनेर लगाएको खोपले कोरोनाका कारण हुने संक्रमण वा निमोनियालाई रोक्न मद्दत गर्दैन ।

केही दिनअघि एक निजी औषधि कम्पनीले ‘हाइड्रो अक्सिक्लोरोक्विन सल्फेट’ नामक औषधि कोरोनाविरुद्ध प्रभावकारी हुने भन्दै सरकारलाई निशुल्क दिने घोषणा गरेको थियो । के अनुसन्धानबाट यो औषधि प्रभावकारी हुने पत्ता लागिसकेको हो ?

यो औषधि कोरोनाविरुद्ध प्रभावकारी हुन्छ भन्ने हल्ला प्रमाणित होइन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन गरेको अपरिपक्वताले गर्दा यस्तो अफवाह फैलिएको हो । उल्टो, यो औषधिको सेवनले मानिसहरु बिमार पर्दै गएको वा अन्य ‘साइड इफेक्ट’ देखिएको रिपोर्ट आइराखेको छ ।

तसर्थ, विश्व स्वास्थ्य संगठनजस्ता आधिकारिक संस्थाले पूर्णरुपमा विश्वसनीयता प्रमाणित नगरेसम्म यी औषधिको सेवन गर्नु उचित हुँदैन ।

त्यसैगरी अहिले बजारमा यो वा त्यो जडिबुटीले कोरोनालगायतका रोगको उपचार हुन्छ भन्ने हल्ला व्याप्त छ । यस्ता हल्ला प्रत्येक नयाँ रोग वा महामारीसँगै फैलिन्छन् ।

स्थानीय औषधिले ज्वरो, रुघाखोकीजस्ता लक्षणहरुलाई हटाउन मद्दत गरे पनि भाइरस आफैंलाई भने हटाउने प्रमाणित भएको छैन अझ भनौं सम्भावना नै छैन । अब आफैं विचार गर्नुहोस् त, नेपालमा कोरोना भाइरसका बिमारी नै नभएको अवस्थामा समेत कोरोनाको प्रभावकारी औषधि भन्दै केही मानिसहरुले व्यापक हल्ला गर्दै थिए । जब बिमारी नै थिएनन् भने त्यस्ता औषधिले काम गर्छ भन्ने कसरी थाहा हुन सक्छ ?

बरु यस्ता अफवाह फैलाउनेहरुलाई पहिचान गरेर कारवाही गर्नुपर्छ । यस्तो विश्व संकटको घडीमा नाजायज फाइदा उठाउन खोज्नेहरु भाइरस जस्तै ठूलो खतरा हुन् । तसर्थ, वाहियात हल्लाको पछाडि लाग्नुहुँदैन ।

यो महामारी अन्त्य कहिले होला ? यो विषयमा वैज्ञानिकहरुको के विचार छ ?

यो भाइरस समय क्रममा झनै उत्तेजित भएर जोखिमयुक्त हुन सक्ने सम्भावना धेरै छ । जनावरबाट आएको हुँदा यो भाइरस अरु कुन जनावरलाई लाग्छ भन्ने पनि पक्का छैन । मानवले रोग नियन्त्रण गर्दा पनि जनावरबाट पटक–पटक समाजमा यो रोग फैलन सक्ने सम्भावना पनि उत्तिकै छ ।

अहिले नेपालमा चिकित्सकहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) को अभाव छ, त्यसको विकल्पमा कसरी सुरक्षित रहन सकिन्छ ?

पीपीईजत्तिको सुरक्षित त अरु सुरक्षा सामाग्री हुनै सक्दैन । तैपनि नहुनुभन्दा रेनकोट, वाटरफ्रुप प्यान्ट र रेनबुट्सलाई पनि पीपीई बनाउन सकिन्छ । इबोलाको संक्रमण हुँदा अफ्रिकामा पीपीई अभाव भएको थियो ।

त्योबेला यसरी नै पीपीईको अभाव पूर्ति गरिएको थियो । कोरोना इबोलाजतिकै गम्भीर नभएको हुँदा यो केसमा पोलिस्टर वा वाटरप्रुफ सामग्रीको ट्रेलरमेड पूरा गाउन पनि प्रयोग गर्न सकिन्छ ।

स्थानीय सरकारहरुले कोरोनाको बिरामी राख्न क्वारेण्टाइन र आइसोलेसन बनाएको भन्ने समाचारहरु आइरहेको छ, के त्यस्ता वार्डहरु प्रभावकारी हुन्छन् ?

कुनै मापदण्ड पूरा नगरी स्थानीय तहहरुले बनाइएका वार्डहरु धेरै जोखिमयुक्त हुन्छन् । यस्तो महामारीको बेला आइसोलेसन वा क्वारेण्टाइनमा बस्दा एउटा रुममा एउटा व्यक्ति मात्र बस्नुपर्छ । नत्र एकजना संक्रमित भेटिए भने अरु सबैलाई सर्ने सम्भावना उच्च हुन्छ ।

त्यहाँ खटिने चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गर्छन् कि गर्दैनन्, त्यसमा पनि विचार पुर्‍याउनुपर्छ । यसरी कुनै मापदण्ड नपुर्‍याई बनाएका वार्डहरुमा कोरोनाको बिरामी राख्नुभन्दा बन्द गर्नु नै जाति हुन्छ । नत्र त्यस्ता आइसोलेसन वार्डहरु संक्रमण फैलाउने माध्यम बन्न सक्छन् ।

यस्तो भाइरस लागेका बिरामी राख्ने आईसीयुको मापदण्ड के हुन्छ ? क्वारेण्टाइन कस्तो हुनुपर्छ ?

श्वासप्रश्वासको माध्यमबाट सर्ने हुनाले यो भाइरस अत्यन्तै जोखिमपूर्ण हो । क्वारेण्टाइन गर्दा प्रत्येक बिरामीलाई आइसोलेसनमा राख्नुपर्छ । उदाहरणका लागि एउटा क्वारेण्टाइन वार्डमा ५० जनालाई क्वारेण्टाइनमा राखियो भने त्यसमध्ये ४९ जनालाई साधारण रुघाखोकी छ । तर, एकजनालाई कोरोना छ भने कोरोना टेस्टको रिजल्ट आउनुभन्दा अगाडि नै सबैलाई पनि कोरोना सर्छ ।

आइसोलेसन र क्वारेण्टाइनमा बस्दा एउटा व्यक्ति एउटा सिंगल रुममा बस्नुको विकल्प नै हुँदैन । नत्र क्वारेण्टाइनमा बस्दा नै संक्रमण हुने सम्भावना धेरै हुन्छ । त्यसैले कोरोनाको आशंका लागेका व्यक्तिहरु खुल्ला ठाउँमा नबस्नु र नहिँड्नु भनिएको हो ।

त्यसैले म भन्छु– अहिले एकैदिनमा तयार पारिएका क्वारेण्टाइनस्थल तुरुन्त बन्द गर्नुपर्छ । आईसीयूको पनि छुट्टै मापदण्ड हुन्छन्, जसलाई पूर्ण रुपमा पालना गर्नुपर्छ । मैले अघि नै भनें, कामचलाउ आईसीयु भनेको संक्रमण सार्ने माध्यम हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
डा. सुदीप खड्का

भाइरोलोजिस्ट डा. खड्का अमेरिकाको मेयो क्लिनिकमा अनुसन्धान वैज्ञानिकको रूपमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment