Comments Add Comment

अत्यावश्यक वस्तुको बन्दोबस्त गर्छु, बाहिर ननिस्किनुहोला : मेयर सरावगी

१४ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले प्रत्येक वडामा अत्यावश्यक खाद्यान्न, दुध, तरकारीको व्यवस्था मिलाउने दाबी गरेका छन् । उनले नगरबासीलाई घर बाहिर ननिस्कन आग्रह गर्दै अत्यावश्यक वस्तुको अभाव हुन नदिने बताएका हुन् ।

‘लकडाउनको चौथो दिनसम्म आइपुग्दा धेरै नगरबासी सुरक्षा सतर्कताबिना बजारमा निस्किएको पाइयो, रमिता गरेको पाइएको छ । नगरबासीलाई आफ्नै वडामा बिहान ११ बजेदेखि ३ बजेसम्म वडामा खाद्यान्न किराना समान, दुध पाइने व्यवस्था मिलाउँदैछौं’ उनले भने ‘बिहान ५ बजेदेखि ९ बजेसम्म वडा अध्यक्षले तोकेको स्थानमा तरकारी पाइन्छ । त्यसको जिम्मेवारी वडा अध्यक्षलाई दिइसकेको छ ।’

ग्यासका लागि कुपन प्रणाली लगाइने र ग्यास आएपछि कुपन नम्बरअनुसार नै वितरण गर्नुपर्ने नियम लगाइएको नगर प्रमुख सरावगीले बताए ।

त्यस्तै, औषधिको हकमा नजिकको पसलबाट किन्नुपर्ने, अन्य पसलमा जानुपर्दा चिकित्सकले लेखेको कागज लिएर जाने र सहज रुपमा नपाईने औषधिको व्यवस्थापनका लागि महानगरपालिकाले हेल्थ डेस्क स्थापना गर्ने नगर प्रमुख सरावगीको भनाई छ ।

नियम नगरबासीको सुरक्षाका लागि बनाइएकोले बिना कारण साइकल मोटरसाइकल लिएर नहिँडिदिन उनले आग्रह गरेका छन् । आग्रहलाई अटेर गरी हिँडडुल गरेमा एक महिनादेखि ६ महिनाको कैद हुने चेतावनी उनले दिए ।

‘नयाँ मानिस आएको छ भने निगरानीमा राख्न, ज्वरोलगायत कोरोना भाइरसको लक्षण देखिएमा हेल्थ पोष्टमा खबर गरिदिनुहोला, परिवारलाई अत्याउने हैन, नगरपालिकाका स्वास्थ्यकर्मीले आएर आवश्यक कदम चाल्छन्’ सरावगीले भने ।

किनेको मुल्यमा सामान्य मुनाफा लिएर समान बिक्री गर्न निर्देशन दिँदै नगर प्रमुख सरावगीले कालोबजारी गर्नेलाई ६ महिनासम्म कैद हुन सक्नेतर्फ सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment