+
+

लकडाउनमा हिँड्नेमाथि लाठी, नागरिक अनुशासित नहुँदाको परिणाम : प्रहरी

गौरव पोखरेल गौरव पोखरेल
२०७६ चैत १३ गते २१:३६

१३ चैत, काठमाडौं । कारोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनको पहिलो दिन मंगलबार सडकमा छिटफुट रुपमा मानिसहरु देखिए । त्यसको विपक्षमा लकडाउन उल्लंघन गरेका व्यक्तिलाई भारतमा प्रहरीले पिटेको भिडियो र तस्वीर सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर भयो ।

नेपाल प्रहरी भने सकेसम्म बल प्रयोग नगर्ने मनस्थितिमा थियो । सम्झाई बुझाई गर्दा पनि अटेर गर्नेलाई केही घन्टा नियन्त्रणमा लिएर प्रहरीले छाडिरहेको थियो । विनाअनुमति गुडेका सवारी साधन पनि साँझ छाडिँदै थिए । तर, खुकुलो नीतिपछि लकडाउनको ‘आंशिक अवज्ञा’ गर्ने क्रम बुधबार बढ्यो । त्यसैले बिहानैबाट प्रहरी केही आक्रामक बन्न थाल्यो ।

उपत्यकाबाट एकाबिहानै ३०२ सवारीसाधन नियन्त्रणमा परे । विभिन्न जिल्लामा लकडाउन उल्लंघन गर्ने समातिए । यद्यपि, सडकमा मानिसहरु निस्किने क्रम कम नभएपछि प्रहरीले केही स्थानमा लाठी प्रहार पनि गर्‍यो ।

कतै सर्वसाधारणलाई ‘मुर्गा’ बनाइयो भने कतै उठबस गर्न लगाइयो । यसको पक्ष र विपक्षमा अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

सुनसरीमा कुटपिट, भैरहवामा ‘मूर्गा’

भारतीय प्रहरीको सिको गर्दै नेपाल प्रहरीले पनि बुधबारदेखि लकडाउन उल्लंघन गर्नेलाई कुटपिट गर्न थालेको देखियो । सुनसरीको इटहरी उपमहानगरपालिका अन्तरगत पर्ने खनारमा भएको घटना यसकै एउटा दृष्टान्त हो ।

बुधबार बिहानै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लकडाउन उल्लंघन गर्दै साइकलमा हिँडिरहेका युवकलाई पटकपटक लाठी हानेको देखिन्छ । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन कार्यान्वयमा खटिएका दुई प्रहरी कर्मचारीले उनीमाथि लाठी चार्ज गरेका थिए ।

सुनसरी घटनाको चर्चा सेलाउन नपाउँदै बुटवलबाट एउटा तस्वीर सार्वजनिक भयो, जसमा लकडाउन उल्लंघन गर्ने १२ जनालाई ‘मुर्गा’ बनाइएको देखिन्छ । भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले सर्वसाधारणलाई भाले बसाएका थिए ।

मेयरबाटै कुटपिट

उर्लाबारीका मेयर खड्गबहादुर फागो लकडाउन उल्लंघन गर्नेलाई लाठी हान्दै । तस्वीर : इएसटी नेपाल युट्युब च्यानलबाट

सुरक्षाकर्मी मात्र होइन, मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो आफैं लाठी बोकेर सडकमा उत्रिए । बुधबार सार्वजनिक भएको एक भिडियो क्लिपमा देखिए अनुसार लकडाउन उल्लंघन गर्नेलाई मेयर फागोले सडकमा लाठी हानेर खेदाएका थिए ।

प्रहरीले भनेको नमानेपछि लाठी हान्नु परेको फागोको स्पष्टीकरण छ । सञ्चार माध्यमसँग फागोले भनेका छन्, ‘भोलि लास उठाउनुभन्दा आजै लठ्ठी उठाउनु ठीक हो ।’

मुलुकका विभिन्न क्षेत्रमा सर्वसाधारणमाथि दुर्व्यवहारको घटना बढेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सकेसम्म बल प्रयोग नगर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सचेत गराएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशी भन्छन्, ‘लकडाउनलाई अधिकांश सर्वसाधारणको समर्थन छ, हामीले सबै जिल्लामा न्यूनतम बल प्रयोगको सिद्धान्तलाई सम्झिदिन भनेका छौं ।’

लाठीचार्ज पछाडिका तीन कारण

विज्ञहरुका बुझाइमा सुरक्षा अधिकारीले लाठी चार्ज गर्नुका पछाडि तीनवटा कारण देखिन्छन् ।

पहिलो, कोरोना भाइरसको रोकथामका लागि फ्रण्टलाइनमा खटिएका सुरक्षाकर्मी आफैं तनावमा छन् । मनोविद् गोपाल ढकाल भन्छन्, ‘विपद्का वेला अग्रपङ्तिमा बसेर दिनरात नभनि काम गरिरहेको अवस्थामा हरेक व्यक्तिमा रिस र आक्रोश पैदा हुनु स्वभाविक हो । पछिल्लो समय देखिएका घटना त्यसैका उपज हुन् ।’

ढकाल बुझाइमा नेपाली समाजको मनोविज्ञान दोस्रो कारण हो । ‘हामी सानैदेखि डर, त्रासमा हुर्कियौं । बच्चामा भुतप्रेतको डर, अलि ठूलो भएपछि प्रहरीको डर त्यसपछि समाजको…’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले त्रास नभई हाम्रो समाज नियन्त्रणमै आउँदैन ।’

त्यही भएर प्रहरीले भय देखाउनु स्वाभाविक भएको ढकाल बताउँछन् । अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी पनि ढकालको कुरामा सहमत छन् ।

मल्ल थप्छन्, ‘भारतमा प्रहरीले गरेको व्यवहारले नेपाली नागरिकका सोसियल मिडिया प्रोफाइलमा जसरी एसेप्टेन्स पायो, त्यो कुराले पनि नेपालका प्रहरीलाई लाठी चार्ज गर्न पश्रय दिएको हुनसक्छ ।’

कार्यक्षेत्रमा पठाइएका प्रहरीले स्थिति नियन्त्रणमा लिन आफूसँग भएको लाठी चलाउँछ भने त्यसलाई गलत रुपमा हेर्नु नहुने ठकुरीको टिप्पणी छ ।

मानव अधिकार उल्लंघन गर्न पाइँदैन : प्रसाईं

मानव अधिकारकर्मी चरण प्रसाईको भने यसमा फरक मत छ । उनी जस्तोसुकै कठिन परिस्थितिमा पनि मानव अधिकार उल्लंघन गर्न नहुने बताउँछन् ।

‘कुनै पनि बहानामा यातना दिने, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, सम्झाई बुझाई गर्नुपर्छ’, प्रसाईंले अनलाइनखबरसँग भने ।

कसैले जबरजस्ती गर्छ भने उनीहरूलाई  स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्न सकिने उनको सुझाव छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले पनि सुनसरीमा सर्वसाधारणलाई लाठी हान्ने प्रहरीमाथि कारबाहीको तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयका एक अधिकृत भन्छन्, ‘हामीले बल प्रयोग गर्ने भनेको सुरक्षा चुनौती भएको अवस्थामा हो । जब कोही आक्रामक रुपमा आइरहेका छन् भने मात्र लाठी हान्ने हो ।’

ती अधिकृतको बुझाइमा सुनसरी घटनामा लाठी हान्नुपर्ने अवस्था थिएन । यो घटनामा संलग्न दुईजना प्रहरीले आफूले प्राप्त गरेको अधिकार दुरुपयोग गरेको देखिने उनी बताउँछन् । त्यसैले उनीहरुलाई विभागीय कारबाही गर्ने तयारी गरिएको उनको भनाइ छ ।

कानून र व्यवहारिकता

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिले गरेको ९ चैतमा गरेको निर्णयमा भनिएको छ, ‘संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।’

साथै, आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजायँ हुने पनि भनिएको छ । यो ऐन अनुसार लकडाउनको आदेशलाई अपहेलना गरे एक महिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना वा दुबै सजायँ हुन सक्नेछ ।

ऐन कार्यान्वयनमा खटिएका व्यक्तिलाई काममा बाधा पुर्‍याए, ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन सक्ने भनिएको छ ।

स्थानीय प्रशासन ऐनले कुनै सभा, जुलुस वा भीडले हिंसात्मक वा ध्वंसात्मक प्रवृत्ति लिएर काम गरेर शान्ति सुरक्षा भंग हुने सम्भावना देखिए सम्झाइ शान्ति कायम गराउने भनेको छ । नसकेको अवस्थामा मात्रै लाठी चार्ज गर्न सकिने उल्लेख छ ।

तर, हाल प्रहरीले लाठीचार्ज गरेको घटनामा शान्ति सुरक्षा भंग हुने अवस्था नदेखिने विज्ञहरु बताउँछन् ।

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख केदारनाथ शर्मा भन्छन्, ‘हिजोसम्मको हकमा हामीले सम्झाउने बुझाउने अथवा नियन्त्रणमा लिएर जरिवाना तिराएर छाड्ने गरिरहेको हो । आजको हकमा चाहिँ के भइरहेको छ भन्ने रिपोर्टिङ आएको छैन ।’

जरिवाना तिर्दा पनि पुनः सडकमा निस्किए व्यवहारिकरुपमा ‘केही न केही’ गर्नुपर्ने उनी बताउँछन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

‘प्रहरीको मनोबल पनि गिर्न नदिउँ’

प्रकोपको समयमा अग्रपङ्तिमा रहेर काम गरिरहेका सुरक्षाकर्मी आफैं पनि जोखिममा छन् । त्यसैले स्थितिलाई नियन्त्रणमा लिन चालिएको कदमलाई गलत रुपमा नहेरिदिन एक जिल्लाको नेतृत्व गरिरहेका प्रहरी उपरीक्षक (एसपी) ले अनुरोध गरेका छन् ।

उनी भन्छन्, ‘परिस्थितिको गम्भीरतालाई हेरौं । फ्रन्टलाइनमा बसेर प्रहरीले इमान्दारिताका साथ काम गरिरहेको छ ।’ प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारी पनि अवस्था अनुसार कहिलेकाहीँ प्रहरीले अप्रिय काम गर्नुपर्ने बताउँछन् ।

‘आसन्न संकेटको जुन आकार छ, त्यो हेरेर पनि प्रहरीले अप्रिय काम गर्नुपर्ने हुनसक्छ । यो सर्वसाधारणकै लागि हो’, अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यसैले प्रहरीको गतिविधिलाई गलत भन्नु अघि वर्तमान परिस्थिति पनि हेर्न जरुरी हुन्छ ।’

यद्यपि, यस्तो विषयलाई बढवा दिनुपर्छ भन्ने आफ्नो भनाइ नरहेको पनि उनी बताउँछन् । ‘प्रहरीको आधार भनेको व्यवसायिकता नै हो’, उनी थप्छन्, ‘तर, यो प्रयोग गर्ने अवस्था त्यतिवेला आउँछ, जतिवेला सर्वसाधारण आफैं पनि स्वअनुशासनमा बस्छन् ।’

‘सुरक्षाकर्मीलाई साथ दिनु नागरिकको जिम्मेवारी’

हेमन्त मल्ल ठकुरी, पूर्वडीआइजी

सरकारले लकडाउन उल्लंघन गर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुनु भनेको सुनिन्छ । यो भनेको के हो ? कतिपय प्रमुख जिल्ला अधिकारीहरुले भोलि सडकमा निस्किए नियन्त्रणमा लिने भनिरहेका छन् । कतिपय ठाउँमा लाठी चार्ज र उठवस गराइएका घटना सार्वजनिक भएका छन् । यसमा सरकारको नीति नै स्पष्ट छ जस्तो लाग्दैन ।

यो लकडाउन भनेको सरकारले लागु गरेको करिब–करिब कर्फ्यूकै अवस्था हो । त्यसमा लाठी दिएर प्रहरीलाई निकालिएको छ भने स्थितिलाई नियन्त्रणमा लिन त्यसको प्रयोग गर्ला । फेरि अहिलेको परिस्थितिमा लाठी प्रयोग गर्नु गलत हो जस्तो मलाई लाग्दैन ।

तर, सर्वसाधारणलाई होच्याउने व्यवहार चाहिँ गर्नुहुँदैन जस्तो लाग्छ । कान समातेर उठबस गराइदिने, सार्वजनिक रुपमा मुर्गा बनाउने जस्तो काम गर्नु उचित होइन ।

लाठी हान्दामा पनि अधिकांश घटनामा कसैमा साइकलको टायरमा, कतिलाई झोलामा हानेको देखिएको छ । राम्ररी सम्झाउँदा जाँदैनन् भने प्रहरीले रियाक्ट गर्छन् । अहिलेको अवस्थामा सुरक्षाकर्मीलाई साथ दिनु सर्वसाधारणको पनि जिम्मेवारी हो ।

लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment