+
+

दिनभर लकडाउन, साँझमा किनमेल !

रोयल आचार्य रोयल आचार्य
२०७६ चैत १४ गते २०:१४

१४ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश यतिबेला लकडाउनमा छ । एक हप्ताका लागि सरकारले घोषणा गरेको लकडाउनको चौथो दिन शुक्रबार हामीले काठमाडौंका केही सडक र गल्लीहरु चाहार्‍यौं ।

सरकारले घोषणा गरेको लकडाउनलाई जनताले पूर्णरुपमै पालना गरेका छन् । अत्यावश्यक बाहेकका अन्य काममा जनता सडकमा निस्किएका छैनन् । सवारी साधनहरुको लर्को लाग्ने चोकहरु चकमन्न छन् ।

दिनभर लकडाउन पालनामा बसेका सर्वसाधारणहरु साँझ परेपछि भने दैनिक उपभोग्य सामग्री खरिदका लागि सडकमा निस्कन बाध्य भएको पाइयो । दिउँसो सुनसान हुने काठमाडौंका भित्री चोकहरुमा साँझ परेपछि भने भीड सुरु भएको देखियो ।

स्थलगत रिपोर्टिङका लागि काठमाडौंका केही भित्री सडकहरुमा पुग्दा मानिसहरु तरकारी, फलफूल, खाद्यान्न लगायतका सामग्री खरिद गर्ने हतारोमा देखिन्थे ।

चोकको छेउमा ठेलामा राखेर तरकारी बेच्दै गरेका व्यापारीलाई भ्याईनभ्याई थियो । ‘साहुजी काँक्रो कसरी ?’ काँक्रोको भाउ भन्न नपाउँदै व्यापारीलाई मुला कसरी ? साग कति रुपैयाँ मुठा ? च्याउ पाउको कति रुपैयाँ ? यस्तै प्रश्नहरु तेर्सिन्थे ।

व्यापारीले भनेको मूल्य सुनेर कोही छक्क पर्थे त कोही ‘कोरोनाले यस्तै हो’ भन्दै जोख्न लगाएर लिएर जान्थे ।

व्यापारीको पनि आफ्नै गुनासो छ ।

‘हामीले भाउ बढाएकै छैनौं, उतैबाट बढेपछि हामीले के गर्नु ?’

अझ कतिपय तरकारीको मूल्य घटेको व्यापारीहरुले सुनाए । उपभोक्ता र व्यापारीको यस्तै दृश्य नियाल्दै हामी बुद्धनगरको तरकारी पसलमा पुग्यौं ।

रातो बत्ती पिलिकपिलिक बालेर नेपाल प्रहरीको गाडी पसल नजिकै आइपुग्यो । ‘ए के साह्रो भीड गरेको, हट्नुस् हट्नुस्’ गाडीको अघिल्लो सिटमा बसेका प्रहरी बोलिहाले । काँधमा दुईवटा तारा, हामीले परैबाट दैख्यौं । उनी प्रहरी नायव निरीक्षक (सई) रहेछन् ।

‘ए के गरेको, अलि टाढा-टाढा राखेर बिक्री गर्नुपर्दैन ?’ व्यापारीलाई सईले सम्झाए । प्रहरीको चेतावनी सुनेपछि पसले केशव गौतम पनि केही डराए । ग्राहकहरुलाई अलि परपर बसिदिनुस् भनेर अनुरोध गरे ।

हामीले त्यतिबेलासम्म प्रहरीको गाडीतर्फ क्यामेरा फर्काइसकेका थियौं । ‘तरकारीको भाउ बढाएको भन्ने सुनेका छौं, बढी लियौ भने ठिक हुँदैन, विचार गर’ क्यामरा आफूतर्फ फर्किएको थाहा पाएपछि सई सा’प झन् चर्किए ।

व्यापारी चुपचाप बसिरहे । केहीबेरपछि प्रहरीको गाडी अघि बढ्यो । ग्राहकहरु अघिकोझै तरकारी माग्न थाले । व्यापारी जोख्नतिर लागे ।

हामी बुद्धनगरबाट बिजुलीबजारतर्फ अघि बढ्यौं ।

साँझ पर्दै जाँदा चोकमा मानिसको भीड बढ्दै थियो । एकजना बृद्धा हातमा तरकारी बोकेर अगाडि बढ्दै थिइन् । ‘तरकारी लिएर आउनुभएछ नि…..?’ हामीले बोलाउने बित्तिकै उनले जवाफ फर्काइहालिन्, ‘हजुर बाबु, तर किनिसक्नु छैन ।’

बुढी आमाको हाउभाउ हेर्दैमा थाहा भयो । उनी व्यापारीदेखि रिसले चुर भएकी रहिछन् । ‘यस्तो बेलामा पनि भाउ बढाउने, अलिकति सोच्नुपर्दैन ?’ आमै जंगिइन्, ‘मैले त त्यो पसलेलाई पनि भन्दिएँ अति त नगर्नु नि ।’

उनी तरकारीमात्रै होइन, अरु चिजको पनि भाउ बढेको गुनासाका पोका बोकेर हिँडेकी रहिछन् ।

अगाडि चोकमा २ वटा ठेलामा तरकारी राखिएको थियो । उनीहरुलाई भ्याइनभ्याई नै थियो । ग्राहकहरुको भीड बढ्दै थियो । तरकारी झोलामा हाल्दै गरेका एक व्यक्तिलाई सोध्यौं, ‘राम्रै छ नि तरकारी ?’

‘तरकारीमात्रै होइन, तरकारीको भाउ पनि राम्रो छ, हजुर । ‘ ती व्यक्तिले भद्र शैलीमा जवाफ फर्काए । उनले पछिल्लो तीन दिनयता तरकारीको भाउ बढेको नभई बढाइएको गुनासो गरे । अप्ठेरो स्थितिमा मूल्य घट्नुपर्नेमा बढेको उनको गुनासो थियो ।

‘तरकारीको भाउ बढेको हो ?’ हामीले ठेला व्यापारीलाई सोध्यौं । ‘हामीले बढाएको छैन हजुर, उतै बढेको छ ।’ उनले होलसेलमै तरकारीको भाउ बढेकाले यहाँ पनि बढेको तर्क गरे ।

व्यापारीको गुनासो- घाटा पर्ने स्थिति छ

उपभोक्तासँगै हामीले व्यापारीका कुरा पनि सुन्यौं । व्यापारीहरुको पनि आफ्नै पीडा छ । लकडाउनले गर्दा व्यापार हुन नपाएको बताउँछन् उनी। सहज अवस्थामा भएजस्तो व्यापार अहिले नभएका कारण समस्यामा परेको व्यापारीहरु बताउँछन् ।

हामीले भेटेका सबैजसो व्यापारीले साँझमा भीड लागे पनि पहिले जस्तो व्यापार नभएको बताए । बुद्धनगरको डिके ट्रेसर्डमा पुग्दा त्यहाँ फाट्टफुट्टमात्रै ग्राहक आउने-जाने गरिरहेका थिए  ।

‘चम्सुरको साग छ ?’ हामी त्यहाँ पुग्दा एक ग्राहक सौध्दै थिए । पसल सञ्चालकले छैन भन्ने जवाफ फर्काएपछि ग्राहक रित्तै हात फर्किए । ‘भएको कुरा लिन आउँदैनन्, अब नभएको कहाँबाट दिनु ?’ व्यापारी एक्लै बोल्दै थिए ।

उनले चामल, दाललगायतका दैनिक उपभोग्य सामाग्रीसँगै ताजा तरकारीहरुसमेत बिक्रीमा राखेका थिए । अन्य पसलहरुमा जस्तो भीड उनको पसलमा थिएन । ‘दिनभरी त बन्द नै थियो, १५ मिनेट त भयो खोलेको, अब आउलान् कि ?’ उनी ग्राहकहरु आउने प्रतिक्षामा थिए । उनले तरकारीको भाउ नबढेको दाबी गरे । भीड पनि खासै नलाग्ने उनले बताए ।

हामी बाटामा रहेका किराना पसल, मादक पदार्थ पसल लगायतलाई छिचोल्दै अर्को तरकारी पसलसम्म पुग्यौं ।

दुई युवालाई तरकारी बिक्री गर्न भ्याइनभ्याई थियो । ‘के छ तरकारीको भाउ ?’

‘केहीको बढेको छ, केहीको घटेको छ, खासै त्यस्तो केही छैन ।’

पसल सञ्चालक टेकबहादुर बोहरा बोले ।

बढेको मूल्य पनि खासै धेरै नरहेको उनले सुनाए । गोलभेडा, आलु र सागको मूल्य थोरै बढेको उनले बताए ।

कुराकानीकै क्रममा उनले व्यापारीका केही गुनासा पनि सुनाए । डडेलधुरा स्थायी घर भएका बोहराले लकडाउनपछि तरकारीको व्यापार खस्किएको सुनाए ।

तरकारी ल्याएर सबै बिक्री नहुँदा व्यापारीहरु समस्यामा पर्ने गरेको उनले बताए । ‘तरकारी ल्यायो, सबै बिक्री हुँदैन’ उनले भने, ‘यहाँ राख्यो, बिक्री नभएर कुहिन्छ, घाटा लाग्छ ।’

दिनभर पसल खुला गर्न सरकारले भने पनि आफैं डराएर खोल्न नसकेको उनी बताउँछन् । पहिले पहिले दिउँसो पसल खोल्दा राम्रो व्यापार हुने गरेको स्मरण गर्दै उनले भने, ‘दिउँसो राम्रो व्यापार हुन्थ्यो, अहिले त खोल्न पनि डर लाग्छ । कहिलेकाहीँ त खोलौं कि भन्छु, ‘फेरि कोरानाकै डर छ ।’

बोहोराको मात्रै होइन, अर्का व्यापारी केशव गौतमको गुनासो पनि उस्तै छ । तरकारी कुहिएर खेर गएका कारण घाटा लाग्ने गरेको गौतम सुनाउँछन् । ‘कुहिएर खेर नजाने हाम्रै हो भने पनि राम्रै फाइदा हुन्थ्यो, तर बेलैमा बिक्री नहुँदा हालत खराब छ’ उनले भने ।

कालीमाटी तरकारी बजारको अवस्था के छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पनि केही तरकारीहरुको मूल्य बढेको र केही तरकारीहरुको मूल्य घटेको बताएको छ ।

पछिल्लो १० दिनको अवधिमा साग, गोलभेंडा, धनियाँ, खुर्सानीलगायतको मूल्य बढेको समितिले जनाएको छ । यस अवधिमा च्याउ, हरियो प्याज, सिमीलगायतको मूल्य भने घटेको समितिले जनाएको छ ।

समितिका अनुसार १० दिनको अवधिमा पालुंगोकाे साग, चम्सुरको साग, तोरीको साग तथा मेथीको साथ प्रति के.जी. १९५ प्रतिशतले बढेको छ । मटरकोशसामा १२ प्रतिशतले मूल्य बढेको छ । त्यस्तै, घिउ सिमीको मूल्य ३१ प्रतिशतले, टाटे सिमी २१ प्रतिशतले घटेको समितिले जनाएको छ ।
भिडियो

तस्बिर र भिडियो शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?