Comments Add Comment

युरोपको एकमात्र देश जसलाई छैन कोरोनाको डर

राष्ट्रपति भन्छन्– ट्याक्टरले जोगाउँछ, विपक्षी नेता भन्छन् - अरु देश पागल

बेलारुसका राष्ट्रपति अलेकजेन्डर लुकाशेन्को

१५ चैत, काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको केन्द्र अहिले युरोप बनेको छ । युरोपका धेरै देशहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छन्। ती देशका सरकारले मानिसहरुलाई घर बाहिर ननिस्किन सूचना जारी गर्दै सम्भव भएसम्म सबै उपायहरु अपनाइरहेका छन् ।

तर, युरोपमा एक देश यस्तो पनि छ जहाँ कोरोना भाइरसलाई रोकथामका लागि दैनिक जनजीवनमा कुनै रोकतोक छैन । त्यो देश हो, बेलारुस । बेलारुसले आफ्ना निकट छिमेकी देशहरु युक्रेन र रुसमा जस्तै कोरोना संक्रमण रोक्नका लागि कडा कदम चालेको देखिँदैन ।

युक्रेनले भने कोरोना संक्रमण रोक्नका लागि आपतकाल घोषणा गर्ने तयारीमा छ। रुसले सबै स्कुलहरु बन्द गराएको छ । सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ । देशमा आउने-जाने सबै उडानहरु रद्द गरिएको छ । तर, बेलारुसका जनताहरुको दैनिकी अन्य दिनको जस्तै सामान्य अवस्थामा चलिरहेको छ ।

सीमा नाका पनि खुल्ला छन् । मानिसहरु काममा जाने-आउने गरिरहेका छन् । बेलारुसका जनतालाई अत्यावश्यक सामान किन्ने र भण्डारण गर्न पनि हतारो छैन । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले कोरोना भाइरसलाई रोकथाम गर्न सावधानीका कदम चाल्न अहिले जरुरी नभएको बताएका छन् ।

बेलारुसमा हालसम्म ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ

मंगलबार मिस्कमा चीनका राजदूतसँग कुराकानी गरेपछि उनले भने, ‘घटनाहरु त भइरहन्छन् । त्यसबाट जनतामा आतंकित नहोऊन् भन्ने कुरा महत्वपूर्ण हो ।’

राष्ट्रपति भन्छन्– कोरोनालाई ट्याक्टरले रोक्नेछ

बेलारुसमा न त सिनेमाघर र नाटकघर बन्द गरिएको छ न सार्वजनिक कार्यक्रममा बन्देज गरिएको छ । बेलारुस विश्वको यस्तो देश हो । जसले यहाँ हुने फुटबल च्याम्पियनसिप स्थगित गरेको छैन । फुटबल प्रतियोगिताहरु पहिलेका दिनहरुमा जस्तै भइरहेकै छन् । रुसका फुटबल फ्यानहरुका लागि टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था पनि मिलाइएको छ ।

राष्ट्रपति लुकासेन्कोले हालै ‘कोरोना भाइरसलाई एक ट्याक्टरले रोक्ने छ’ भनेका थिए । उनको यो अभिव्यक्तिले खुबै चर्चा पायो । धेरैले यो भनाईलाई मजाकमा उडाए ।

यद्यपि उनको यो भनाई खेतबारीमा काम गर्नेहरुका लागि थियो । राष्ट्रपति लुकासेन्कोले आफूले मदिरा सेवन नगर्ने र कोरोनालाई रोक्नका लागि एक घुट्की भोड्का पिउन सक्ने पनि बताएका थिए ।

आफैं सावधानी अपनाइरहेका छन् जनताले

यद्यपि, बेलारुसका जनता विश्वभर फैलिएको कोरोनाको महामारीको खबरबाट सचेत छन् र चिन्तित छन् । मिस्कमा धेरै युवा र स्कुलका विद्यार्थीहरु बिरामी भएको बहानामा कक्षा कोठामा गएका छैनन् । उनीहरुको चिन्ता हटाउनका लागि विश्वविद्यालय र कलेजहरुले आफ्ना कक्षा सञ्चालन पहिलेकोभन्दा केही घण्टा अगाडि नै गर्दैआएका छन् ताकि विद्यार्थीहरु सार्वजनिक गाडीहरुमा हुने भीडभाडबाट जोगिऊन् ।

शहरी भेगमा मानिसहरुको भीड घट्दै गएको छ । उनीहरु भन्छन् ‘कोरोना भाइरसबाट पाका व्यक्तिहरु बढी जोखिममा छन् ।’ तर, कोरोनालाई लिएर जागरण अभियान चलाइएको भने छैन । राष्ट्रपति लुकाशेन्कोका अनुसार कोरोनाबारे जागरण अभियान चलाइएन भनेर चिन्ता लिनुपर्दैन किनभने विदेशबाट बेलारुस आउने सबै व्यक्तिहरू कोरोना भाइरसको जाँच गराइँदैछ ।

उनी दाबीका साथ भन्छन्, ‘एक दिनमा दुई वा तीन जना व्यक्तिको नमूना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । त्यसैले उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ र डेढ वा दुई हप्ताभित्रै उनीहरुलाई समेत छोडिएको छ ।

आतंक फैलाउनेलाई पक्रन आदेश

लुकासेन्कोका अनुसार चिन्ता वा मानसिक तनाव भाइरसभन्दा पनि खतरनाक हुन्छ । त्यसैले उनले गुप्तचरी निकाय बेलारुसी केजीबीलाई आम मानिसमा अफवाह र आतंक फैलाउनेहरुलाई पक्राउ गर्न आदेश दिएका छन् ।

बेलारुसमा हालसम्म ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । यद्यपि बेलारुसका अधिकारीहरुले मृत्युको कारण कोरोना नै हो भनेर पुष्टि गरेका छैनन् । यद्यपि उनीहरुको मृत्यु कोराना भाइरस संक्रमणबाट भएको बताइन्छ ।

बेलारुस धेरै कुराले युरोपका अन्य देशहरुभन्दा फरक छ । यो युरोपको यस्तो अन्तिम देश हो जहाँ अहिले पनि मृत्युदण्डको सजाय छ ।

विपक्षी नेता भन्छन् – अरु देशहरु पागल

बेलारुसका विपक्षी नेता एन्ड्रे किम सरकारको कडा आलोचक हुन् । तर, उनी यस मामलामा राष्ट्रपति लुकासेन्कोको कुरामा सहमत छन् ।

किमले आफ्नो फेसबुक पेजमा लुकासेन्कोले सही कुरा गरिरहेको बताउँदै लेखेका छन्, ‘यदि सबै जनतालाई बाहिर निस्कन प्रतिबन्ध लगाइयो भने बेलारुसको अर्थव्यवस्था धरमराउँछ । यहाँ कुरा नै अलग छ र बेलारुस विश्वको यस्तो एकमात्र देश हो जहाँ सरकारले जनताको भलाई सोचेर काम गर्छ न कि जनकल्याणकारी योजनामा निर्भर रहन्छ ।’

उनी भन्छन्, ‘मलाई थाहा छ, यस्तो भन्दा मैले कडा आलोचना सामना गर्नुपर्छ । तर, जताततै पागलपन हुन्छ भने तपाईं चुप लाग्न सक्नुहुन्न ।’

किम थप्छन्, ‘पागलपन भनेर मैले कोरोना भाइरसलाई लिएर विश्वभर चालिएका कदमहरुलाई भनेको हुँ । केही नगरेरै बेलारुसलाई कोरोनाको आतंकबाट जोगाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment