Comments Add Comment

चिसापानी गोलीकाण्ड : अवकाशपछि पनि ड्युटीमै थिए रवीन्द्र

१५ चैत, पोखरा । वीरेन्द्र पौडेलले गत साता मात्र घरमा खुशी साटेका थिए, ‘मेरो पेन्सन पाक्यो । अब छिट्टै घर आउँछु ।’

चैत ७ गते पेन्सन पकाएर नेपाल प्रहरीबाट अवकाश लिने सोचमा थिए पौडेल । तर, देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्राससँगै उनको जिम्मेवारी थपियो ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि रवीन्द्र पेन्सन पाक्यो भनेर घर गएनन् । स्याङ्जा हरिनास गाउँपालिका वडा नम्बर २ को चिसापानी इलाका प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारको जिम्मेवारी सम्हालिरहे । बिहीबारमात्र रवीन्द्रले फोन गरेर घरमा श्रीमती र छोराछोरीसँग भनेका थिए, ‘४ दिनपछि घर आउँछु होला ।’

३७ वर्षका रवीन्द्रको कुराले कोरोनाको सन्त्रासमा रहेका दुई छोरीहरु खुशी थिए । रवीन्द्रका १० वर्ष र ७ वर्षका दुई छोरी छन् । आमा–बुबालाई रवीन्द्रले पेन्सन पकाएर घर आउन लागेको बताएका थिए । तर, परिवारमा छाएको त्यो खुशी धेरै टिक्न पाएन । रवीन्द्रको प्रतीक्षामा बसेका परिवारमा शुक्रबार दिउँसो नराम्रो खबर प्राप्त भयो, ‘प्रहरी हवल्दार रवीन्द्रलाई गोली लाग्यो ।’

चिसापानी इलाका प्रहरी चौकीमै गोली लागेका रवीन्द्रलाई उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल ल्याइयो ।

तर, अस्पताल ल्याउनेबित्तिकै मृत घोषणा गरियो ।

पोखरा–२८ कालिकाथानका रवीन्द्रको पोखरा–२६ कालिचोकमा बस्दै आएको छ । रवीन्द्रको मृत्युले कालिकास्थान र कालिकाचोक दुबै ठाउँका परिवार र आफन्तलाई स्तब्ध बनाएको छ । प्रहरी चौकीको स्टोरमा पेस्तोलमा लोड गर्ने क्रममा पड्किएर रवीन्द्रलाई लागेको भनिएको छ ।

आफन्तले भने आशंका व्यक्त गरेका छन् । घटना घटिसकेपछि एम्बुलेन्सको प्रयोग गरी अस्पताल किन लगिएन भन्ने प्रश्न गरेका उनीहरुले घटना नै सुनियोजित हुन सक्ने आशंका गरेका छन् ।

प्रहरी हवल्दार रवीन्द्र चालकका रुपमा कार्यरत थिए । परिवार र आफन्त शनिबार बिहानै मात्र चिसापानी प्रहरी चौकी पुगेर घटनास्थल र घटनाबारे बुझेका छन् । घटनाको प्रकृति र प्रहरीले बताएअनुसार घटना शंकास्पद देखिएको मृतकका दाइ शिवजी पौडेलले बताए ।

‘कोखमा गोली लागेको छ । तर, शरीर ढलेको ठाउँ, गोलीको छर्रा देखिएको ठाउँ, घटनामा रहेको टेबल नमिल्दो देखिएको छ । चौकीमा रहेका प्रहरीका पनि फरकफरक भनाई छ,’ शिवजीले भने, ‘यो घटनामा निष्पक्ष छानविन र अनुसन्धान हुनुपर्छ ।’

स्याङ्जा प्रहरी प्रमुख एसपी विमलराज कँडेलले घटनाको स्थलगत निरीक्षण गरेर थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘घटनाको अनुसन्धान भइरहेको छ । त्यसैले अहिले नै यो कारणले घटना घट्यो भनेर बोल्न मिल्दैन,’ एसपी कँडेलले भने, ‘अनुसन्धानपछि सत्य र यथार्थ बाहिर आउँछ ।’

रवीन्द्रको शव अहिले पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment