Comments Add Comment
ग्राउण्ड जिरो रिपोर्ट :

‘रोगले होइन, भोकले मरिने चिन्ता भयो !’

१५ चैत, काठमाडौं । ‘ए…ए… हाम्रो चाहिँ, फोटो नखिच्नुस है !’ शनिबार मध्याह्न थापाथलीस्थित सुकुम्बासी बस्तीमा पुग्नेबित्तिकै एक जनाले हामीलाई लक्षित गरेर भने ।

क्यामेरा खोल्न नपाउँदै गरिएको खबरदारीले हामी हच्कियौं । कोरोना (कोभिड १९) भाइरसको संक्रमणको डरले बस्तीमा प्रवेश नै दिँदैनन् कि भन्ने पनि लाग्यो । तर, एकैछिन भलाकुसारीपछि उनीहरू कुरा गर्न तयार भए ।

१५ चैतको टण्टलापुर घाममा कोही ट्यूबेलमा पानी तान्दै थिए भने कसैलाई लुगाधुने चटारो थियो । साना केटाकेटी विभिन्न खेलमा रमाउँदै थिए ।

अधबैंशे उमेरका एउटा समूह घाम छेल्दै रुखको फेदमा गफिँदै थियो । कोही क्यारम बोर्ड खेल्दै थिए । घरभित्रै बसेकाहरु कोही मस्त निन्द्रामा थिए त कोही पुस्तकका पाना पल्टाउँदै थिए ।

अधिकांशले आफ्ना कुरा क्यामेराकै अगाडि राखे भने केहीले ‘अफ दि रेकर्ड’ । तर, गुनासो भने सबैको एउटै, ‘रोगले होइन, भोकले मरिने चिन्ता भयो ।’

१४० परिवारलाई आश्रय दिएको यो सुकुम्बासी बस्तीका बासिन्दाको घर भनेकै टहरा हो । एक हजार ५ सय जनाको आवादी भएपनि किनमेल गर्ने ठाउँ छैन ।

‘कोरोना लागेर मरिहाल्यौं भने त ठिकै छ, मर्न सकिएन भने भने उपचार गर्नु कता ? खानु के ?’ –चम्बरबहादुर राई, थापाथली

अधिकांशको पेशा भनेकै दैनिक ज्यालादारी मजदुरी हो । दिनभरी पसिना बगायो, साँझको छाक टार्‍यो । एकाध परिवारले धेरैथोरै वचत पनि नगरेको होइन । तर, वचत गर्ने परिवार संख्या औंलामा गन्न सकिनेछ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउनको पाँचौं दिनमा पुग्दा प्रायजसोमा खानेकुरा सकिन लागेको चिन्ता देखिन्थ्यो ।

दुई-चार दिनलाई पुग्ने खाद्यान्न जम्मा गरेका रहेछन् । त्यो सकिन लाग्यो । अब लकडाउन लम्बियो भने हातमुख जोड्न गाह्रो हुने उनीहरूको चिन्ता छ ।

स्थानीय सञ्जय पौडेल भन्छन्, ‘भएको दुईचार पैसा अत्यावश्यक सामान किन्दा सकियो । अझ लकडाउन लम्बियो भने के खाने हाम्रो चिन्ता यही हो ?’

सञ्जयका तीन छोरी र श्रीमतीसहित पाँच जनाको परिवार छ । दुईटी छोरी स्कूल पढ्छन्, एउटी भर्खर डेढ वर्षकी भइन् । ‘घरमा कमाउने म एक्लो छु, पाँच जनाको परिवार धान्नुपर्छ’ सञ्जय सुनाउँछन्, ‘आम्दानीको स्रोत गुम्यो । अझै के-के समस्या भोग्नुपर्ने हो, थाहा छैन ।’

आफू जस्तो बिहान कमाएर बेलुका छाक टार्नेहरुलाई सरकारले केही न केही व्यवस्था गर्नुपर्ने उनको भनाई छ । तर, सरकारले सहयोग गर्ला भन्ने विश्वास छैन । ‘अपेक्षामात्रै गरेर भएन, सरकारले गर्ने भनेको केही होइन’ उनको गुनासो छ ।

सञ्जयका छिमेकी चम्बरबहादुर राईलाई कोरोना भन्दापनि त्यसपछि कसरी बाँच्ने भन्ने चिन्ता छ । ‘कोरोना लागेर मरिहाल्यो भने त ठिकै छ, मर्न सकिएन भने कता उपचार गर्नु ? के खानु ?’ चम्बरबहादुर भन्छन्, ‘केही दिन लकडाउन थपियो भने त रोगले भन्दापनि भोकले मरिएला भन्ने चिन्ता छ ।’

चम्बरबहादुरको पनि चार जनाको परिवार छ । छोरा–छोरी विद्यार्थी र श्रीमती गृहिणी । कमाएर खुवाउने जिम्मेवारी उनै चम्बरबहादुरको काँधमा छ । ‘मिस्त्री काम गर्छु, काम भए पैसा आउने हो, काम नभएर कसरी आउँछ त !’ उनी भन्छन्, ‘सरकारले हाम्रा समस्या सुने त हुन्थ्यो ।’

गृहिणीहरूमा भने दैनिक उपभोग्य सामग्री किन्न नपाएको गुनासो छ । ‘तरकारी पनि किन्न पाइएको छैन । अब ग्यास पनि नपाउने अवस्था छ रे’ एक महिलाले सुनाइन् ।

काठमाडौं महानगरपालिकाको वडाध्यक्षले धेरै समस्यामा पर्ने परिवारको नाम टिपेर पठाउन भनेको बस्तीका अगुवा डम्बर प्रजाले जानकारी दिए । तर, वडाध्यक्षले भनेजस्तो केही व्यक्तिलाई गर्ने सहयोग भने स्वीकार नहुने उनले बताए । सरकारले सहयोग गर्ने भए थोरै भएपनि सबैलाई गर्नुपर्ने उनीहरुको माग छ ।

‘वडाध्यक्षले धेरै समस्यामा पर्नेको नाम दिनु भन्नुभएको छ । तर, केहीलाई मात्रै सहयोग गरेर हुँदैन’ प्रजा भन्छन्, ‘हामी सबै समस्यामा छौं । सहयोग गर्ने भए १० किलो चामलमात्रै किन नहोस् सबैलाई बाँड्नुपर्छ ।’

सरकारले गरेको लकडाउनलाई पूर्ण समर्थन गरेको भन्दै उनले बस्तीका सबै ज्याला मजदुरी गर्ने भएका कारण छुट्टै प्याकेज ल्याउनुपर्ने बताए । नभए लकडाउन लम्बिँदा बस्तीका धेरैले खानै नपाउने अवस्था आउनसक्ने उनको गुनासो छ ।

अर्का युवा उदयप्रसाद तिमल्सिना पनि बस्तीमा लकडाउन लम्बिए सरकारले केही सुविधा दिनैपर्ने बताउँछन् । अहिलेसम्म भएको खाद्यान्न अझै केही दिन टिके तापनि लामो समय नपुग्ने उनले सुनाए । तिमल्सिना भन्छन्, ‘लकडाउनका बेला कति समस्या हुन्छ भन्ने हामीलाई नै थाहा छ । अचानोको चोट खुकुरीलाई के थाहा ?’

तस्वीर/भिडियोः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment