Comments Add Comment

न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट पछि हटे ट्रम्प

१६ चैत, काठमाडौं । न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट ट्रम्प प्रशासन पछि हटेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबारे विचार गरिरहेको बताएका थिए ।

आइतबार विहान ट्वीट गर्दै ट्रम्पले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्न आवश्यक नरहेको निष्कर्षमा ह्वाइट हाउस पुगेको बताएका छन् । ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सको सिफारिस अनुसार पछिल्लो निर्णय लिइएको ट्रम्पको भनाइ छ ।

यसअघि ट्रम्पले न्यूयोर्कलाई कम्तिमा दुई हप्तासम्म क्वारेन्टाइनमा राख्नेबारे विचार गरिरहेको बताएका थिए । न्यूयोर्कसहित न्यूजर्सीलगायतका अन्य स्थानलाई पनि क्वारेन्टाइनमा राख्न जरुरी भएको ट्रम्पको भनाइ थियो ।

न्यूयोर्क राज्यमा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने वा लकडाउन गर्ने बारेमा केन्द्र सरकार र न्यूयोर्कका गभर्नरबीच मतभेद रहेका समाचार सार्वजनिक भइरहेका छन् ।

न्यूयोर्कका गभर्नर एन्ड्रु क्योमोले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘न्यूयोर्क त पहिलेदेखि नै क्वारेन्टाइनमै छ । यहाँ कुनै कार्यक्रमहरु भएका छैनन् । मानिसहरुको भिड पनि जम्मा भएको छैन । यदि मानिसहरुलाई घरबाट बाहिर निस्कन रोक लगाइयो भने त्यो लकडाउन हुन्छ ।’

लकडाउन भएमा चीन र अमेरिकाबीच फरक नहुने भन्दै उनले लकडाउन गर्ने सोच अमेरिका विरोधी भएको बताएका छन् ।  उनले भनेका छन्, ‘लकडाउन गर्नु युद्ध घोषणा गरेजस्तो हुन्छ । यसमा म सहमत हुँदैन ।’

कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले वुहानलगायतका स्थानमा लकडाउन घोषणा गर्दै मानिसहरुलाई घरबाहिर निस्किन बन्देज लगाएको थियो । अमेरिकाले भने बाहिर हिँडडुल गर्न पनि नदिनु तानाशाही शैली भन्दै चीनको आलोचना गरेको थियो ।

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले अमेरिकामा तीव्र रुपमा फैलिएको छ । ट्रम्प प्रशासनको सुस्त कार्यशैली र जनताको लापरवाहीका कारण अमेरिकालाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न कठिन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment