Comments Add Comment

काठमाडौंबाट भारतीय यात्रु लिएर वीरगञ्ज आयो ५ वटा गाडी

१६ चैत, वीरगञ्ज । लकडाउनको समयमा काठमाडौंबाट वीरगञ्ज आएका ५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट आएका एउटा जिप, एउटा माइक्रोबस र ३ वटा बस प्रहरीले नियन्त्रणमा लिएको हो ।

ग २ च ७८०२ नम्बरको सुमो जिप, बा २ ख ४५९४ नम्बरको माइक्रोबस र लु १ ख ६८६०, ना ५ ख ११०६, प्रदेश नं ३–०३–०१ ख ००६६ बस अलपत्र भारतीय र नेपाली यात्रु लिएर बिहान वीरगञ्ज आइपुगेको थियो । ती सवारी साधनमा १ सय २८ जना भारतीयसहित १ सय ३९ जना यात्रु थिए ।

बिहान नियन्त्रणमा लिइएको गाडीका यात्रुलाई गन्तव्यमा पुर्‍याउन समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए ।

‘५ वटा सवारी साधनमा १ सय २८ जना भारतीयसहित १ सय ३९ जना आएका रहेछन्’ डिएसपी शाहीले भने ‘भारतीयलाई उता पठाउन समन्वय भइरहेको छ, नेपालीहरु आ–आफ्नो गन्तव्यमा गइसकेका छन् ।’

५ वटै गाडीलाई बिहानै छोडिसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विभिन्न स्थानमा अलपत्र परेका मानिसहरुले घरमा जान नपाएको गुनासो गरिरहेका छन् । विर्तामोड– ४ घर भई भारतको बिहारमा होटलमा काम गर्ने ११ जना वीरगञ्जमा अलपत्र छन् ।

त्यस्तै बाराको आदर्श कोटवाल गाउँपालिका बरियारपुर क्षेत्रका १५ जना विराटनगरको बुधहरी चोकमा क्याम्प बनाएर बसिरहेका छन् । विराटनगरमा ज्याला मजदुरी गर्दै आएका उनीहरु लकडाउनका कारण सवारी साधन नचलेपछि अलपत्र परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment