Comments Add Comment

दार्चुलापारि भारतमा ४५० बढी नेपाली अलपत्र

प्रजिअ भन्छन्– व्यवस्थापन पाटो क्लियर भएपछि प्रवेश दिन्छौं

१७ चैत, काठमाडौं । सीमा बन्द भएपछि भारतीय भूमि धार्चुलामा ४५० बढी नेपाली अलपत्र परेका छन् । भारतको मिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धार्चुलामै रोकिएका हुन् । अलपत्र ३ दिनदेखि उनीहरूले नेपाल प्रवेश पाउनुपर्ने भन्दै महाकाली पुलपारि नाराबाजी गरिरहेका छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले भारतको मिथौरागढलगायत क्षेत्रबाट लकडाउनपछि फर्किएका ४५० बढी नेपाली नेपालपारि धार्चुलामा रोकिएको स्वीकारे । प्रजिअ पौडेलका अनुसार सीमापारि फसिरहेकामा दार्चुलाका अलावा बैतडी, बझाङलगायत नागरिक छन् । जिल्लाका फर्किएका नेपालीका लागि आवश्यक पर्ने क्वारेन्टाइनको व्यवस्था नहुँदा चाहेर पनि तिनलाई प्रवेश दिन नसकिएको उनले बताए ।

‘भारतका विभिन्न स्थानबाट कोरोना प्रकोपपछि फर्किएका ४५० बढी नेपाली धार्चुलामा रहे पनि तिनको व्यवस्थापन पक्ष पेचिलो हुँदा प्रवेश दिन सकिएको छैन,’ प्रजिअ पौडेलले अनलाइनखबरसँग भने ।

फर्किएकाको व्यवस्थापनको पाटो क्लियर भएपछि नेपालतर्फ प्रवेश दिने तयारी प्रशासनको छ । त्यसका लागि सोमबार बिहान १० बजे जिल्लाका सरोकारवालासँग छलफल गर्न लागिएको जानकारी प्रजिअ पौडेलले दिए ।

‘दार्चुलाका अलावा बैतडी, बझाङलगायतका नागरिक पनि सीमामा अल्झिएकाले तिनको कसरी व्यवस्थापन गर्ने भनेर सरोकारवालासँग छलफल डाकेका छौं । छलफलपछि यसबारे ठोस निर्णय गर्नेछौं,’ प्रजिअ पौडेलले भने ।

दर्जनौंको संख्यामा सीमापारि अलपत्र परेपछि उनीहरूले प्रवेश पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । सीमामा रोकिएका नेपालीले खुला आकाशमुनि खाली पेट घण्टौं बिताएको गुनासोसमेत गरेका छन् । तर, प्रजिअ पौडेल भारतीय पक्षले खानपान र बसोबासको व्यवस्था मिलाएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment