Comments Add Comment

सुनचाँदी व्यवसायीको सरकारलाई साथ, सुनको मूल्य ८५ हजार पुग्यो

१७ चैत, काठमाडौं । सुन आयात घटाउने सरकारी निर्णयको सुनचाँँदी व्यवसायीले स्वागत गरेका छन् । मुलुक गम्भीर आर्थिक संकटको अवस्था पुगेको र योबेला राष्ट्रिय ढुकुटीमा रहेको डलर सञ्चित गर्नु अनिवार्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सरकारको निर्णयले तत्काल बजारमा सुनको अभाव पनि नहुने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘कोरोनाका कारण रेमिट्यान्स र निर्यात छैन, यस्तोबेला राष्ट्रिय ढुकुटीको सञ्चिति रित्याउनु हुन्न,’ बज्राचार्यले भने ।

सबै अवस्था सामान्य भएपछि हालको निर्णयमा पुनर्विचार गर्न पनि उनले सरकारलाई सुझाए ।

महामारीको त्रास बढेसँगै सुन आयात गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्र अनुमति दिएको छ । यसअघि नेपाल बैंकर्स संघको निर्णय अनुसार चक्रीय पालोमा वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्ने गरेका थिए ।

मन्त्रिपरिषद्को आइतबारको निर्णयपछि अब बैंकहरुले दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने छन् ।

सुनको मूल्य प्रतितोला ८५ हजार पुग्यो

डलरको आकाशिएको मूल्यले गर्दा सुनको भाउ प्रतितोला ८५ हजार हाराहारीमा पुगेको सुन चाँदी व्यवसायीले दाबी गरेका छन् । लकडाउनका कारण देशैभरको व्यवसाय बन्द गरेर नेपालमा सुनको भाउ नतोके पनि अन्तराष्ट्रिय बजार मूल्यले त्यही बताउने महासचिव बज्राचार्यले बताए ।

भाउमा आएको निरन्तरको उतार–चढावका कारण गत साउनदेखि नै सुन बजार अस्तव्यस्त बनेको, तर त्यसलाई कोरोनाले थप मलजल गरेको उनले बताए । ‘भाउ नतोकेर हामीले सरकारलाई सघाएका छौँ । तर, मूल्य तोलाकै ८५ हजार पुगिसकेको छ,’ बज्राचार्यले भने ।

बजार गतिलो नभएका कारण बैंकहरुले यस वर्ष धेरै सुन आयात नगरेकाले सुनको मौज्दात नरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment