News Summary
Generated by OK AI. Editorially reviewed.- हुलाकी राजमार्गअन्तर्गत कमला नदीको पुल निर्माण १५ वर्षपछि अन्तिम चरणमा पुगेको पूर्वाधार मन्त्रालयले जनाएको छ।
- भाँचिएको १० नम्बर पिलर उठाउने र सब स्ट्रक्चरको ढलान सकिएको छ, अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान बाँकी छ।
- मन्त्रालयले आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने दाबी गरेको छ, धनुषातर्फको पहुँच सडक मर्मत भने पानी घटेपछि गरिनेछ।
२ असोज, काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुुगेको पूर्वाधार मन्त्रालयले जनाएको ।
ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो ।
नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको मन्त्रालयले जनाएको छ ।
पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुने पूर्वाधार मन्त्रालयले जानकारी गराएको हो ।
धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ ।
नदीमा पानीको सतह घटेपछि पुन माटो भर्ने काम सम्पन्न गरिनेछ। सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ ।
अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुुगेको मन्त्रालयको दाबी छ ।
२०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो ।
प्रतिक्रिया 4