१९ वैशाख, सिरहा । सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमलाको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुन: भत्किएको छ । डाईभर्सन भत्किँदा दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ ।
केही दिनअघि सामान्य वर्षाले क्षति पुर्याएको उक्त डाइभर्सन मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । तर बिहीबार रातिदेखि परेको वर्षाका कारण शनिबार बिहान डाइभर्सन फेरि बगेको छ ।
पुल क्षेत्रभन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटो तथा बालुवाको अस्थायी बाँध बाढीले बगाएपछि सयौं सवारीसाधन बाटोमै अलपत्र परेका छन् भने यात्रुहरूलाई गन्तव्य पुग्न निकै समस्या भएको छ ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले निरन्तर वर्षा र कमला नदीमा पानीको बहाव बढेकाले अस्थायी संरचना क्षतिग्रस्त भएको बताए । पश्चिमतर्फ हाल पानीको बहाव उच्च रहेकाले यथार्थ अवस्था बुझ्न कठिन छ । पानीको सतह घटेपछि नगरपालिकाको जेसीबी प्रयोग गरी पुन: बाँध निर्माण गरिने उनले जान्कारी दिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले सुरक्षाका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार कमला नदीमा पानीको बहाव बढ्दो रहेकाले जोखिमपूर्ण अवस्था सिर्जना भएको छ ।
हुलाकी राजमार्ग प्रयोग गरी कमला हुँदै धनुषा जाने नागरिकलाई वैकल्पिक बाटो प्रयोग गर्न घटनास्थलमा चार जना नेपाल प्रहरी खटाएको उनले बताए ।
हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदी पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

२०६८ जेठमा पप्पु-लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त पुल २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने थियो । तर हालसम्म निर्माण पूरा नभएर सात पटक म्याद थप भइसकेको छ ।
निर्माणकै क्रममा २०७८ असार १७ मा आएको बाढीले पुलका दुई वटा जग भासिँदा चार वटा स्ल्याबमा क्षति पुगेको थियो । तीमध्ये सिरहातर्फका दुई स्ल्याब हटाइसकिएको छ भने धनुषातर्फका दुई स्ल्याब सुरक्षित रहेको प्राविधिक अध्ययनले देखाएको छ ।
प्रतिक्रिया 4