+
+
Shares

कमला नदीको डाइभर्सन भासियो, आवतजावत ठप्प

करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको डाइभर्सन सामान्य वर्षाले नै भत्काइदिएपछि एक जिल्लाबाट अर्को जिल्लामा जान कठिनाइ भएको छ।

सुरेश राय सुरेश राय
२०८३ असार ५ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा र धनुषा जोड्ने कमला खोलाको अस्थायी डाइभर्सन वर्षाका कारण भासिँदा आवतजावत ठप्प भएको छ।
  • मुख्य बाटोको डाइभर्सन भत्किएपछि सर्वसाधारण जोखिम मोलेर प्रतिव्यक्ति १५० रुपैयाँ तिरी डुङ्गा चढेर यात्रा गर्न बाध्य छन्।
  • हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुल १५ वर्षअघि ठेक्का सम्झौता भए पनि अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन।

५ असार, सिरहा । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल आसपास निर्माण गरिएको अस्थायी डाइभर्सन (तारजाली र माटोको बाँध) भासिँदा आवतजावत ठप्प भएको छ।

करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको डाइभर्सन सामान्य वर्षाले नै भत्काइदिएपछि एक जिल्लाबाट अर्को जिल्लामा जान कठिनाइ भएको छ।

सिरहातर्फको बसबिट्टा क्षेत्रमा करिब १ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको करिब २०० देखि ३०० मिटर लामो उक्त अस्थायी संरचना तीन–चार महिनाअघि मात्र सञ्चालनमा आएको थियो।

तत्कालीन प्रधानमन्त्री मन्त्री सुशिला कार्की सरकारका भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको कार्यकालमा उक्त डाइभर्सन निर्माण गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कमला पुल क्षेत्रको डाइभर्सनमा क्षति पुगेको जानकारी प्राप्त भएको र सम्बन्धित निकायसँग थप विवरण बुझ्ने काम भइरहेको बताए।

उनले भने, ‘वर्षाले गर्दा कमलामा पानीको बहाव बढेको हुनाले नागरिकहरू डुङ्गा चढेर यात्रा गरिरहेका छन् । पानीको बहाव बढेकै कारण १५-२० दिनदेखि आवतजावत बन्द भएको हो ।’

रातिको वर्षाले मुख्य बाटोको डाइभर्सनमा क्षति पुगेपछि डुङ्गा चढेर मात्र यात्रा गर्नुपर्ने अवस्था छ । प्रमुख जिल्ला अधिकारी पौडेलले जोखिम मोलेर यात्रा गर्नुको साटो लामै भए पनि सहज यात्रा गर्न आग्रह गरेका छन् ।

स्थानीय रामचन्द्र यदुवंशीका अनुसार बिहीबार राति परेको सामान्य वर्षापछि डाइभर्सनको ठूलो भाग भासिएको छ। जसका कारण चारपाङ्ग्रे सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ। केही समय सहज रूपमा आवतजावत गर्दै आएका स्थानीयवासी पुनः समस्यामा परेका छन्।

उनका अनुसार हाल जोखिम मोलेर केही दुईपाङ्ग्रे सवारी साधन मात्र सञ्चालन भइरहेका छन्। डाइभर्सन भित्रको माटो बग्दै गएको छ। कटान जारी रहेकाले कुनै पनि बेला बाँकी भागसमेत भत्किन सक्छ ।

मुख्य डाइभर्सनमा क्षति पुगेपछि डुङ्गा चढेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको सर्वसाधारणको गुनासो छ ।

स्थानीयहरू सिरहा नगरपालिका-५ बसबिट्टा घाटबाट डुङ्गा चढेर आवतजावत गरिरहेका छन् । डुङ्गा चढेबापत यात्रुले १५० रुपैयाँ तिर्नुपर्ने सिरहा नगरपालिका-६ का वडाध्यक्ष इन्द्रजित यादवले बताए ।

कमला पुल निर्माणको काम भने लामो समयदेखि अलपत्र छ। करिब १५ वर्षअघि ठेक्का सम्झौता भएको पुल हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन। २०७८ असार १७ गते आएको बाढीले पुलका दुई वटा जग भासिँदा चार वटा स्ल्याबमा क्षति पुगेको थियो। तीमध्ये सिरहातर्फका दुई स्ल्याब हटाइसकिएको छ भने धनुषातर्फका दुई स्ल्याब सुरक्षित रहेको प्राविधिक अध्ययनले देखाएको छ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि २०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

२०७१ मंसिरमै सम्पन्न हुनुपर्ने आयोजना हालसम्म पूरा हुन सकेको छैन। सात पटकसम्म म्याद थप भइसकेको यस आयोजनाको ठेक्का अवधि पुनः थप्ने प्रक्रिया चलिरहेको छ।

हाल बाँकी निर्माण कार्य लुम्बिनी कम्पनीले गरिरहेको छ भने हालसम्म २० करोड ४३ लाख रुपैयाँ भुक्तानी भइसकेको जनाइएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?