१७ जेठ, सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदीको पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेटमा रकम विनियोजन नभएको भन्दै स्थानीयवासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । कमला पुल निर्माण समितिले शनिबार बैठक बसी आन्दोलन गर्ने निर्णय गरेका हुन् ।
समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार सोमबार जनकपुरधामस्थित मधेश प्रदेशसभा अगाडि पाँचबुँदे मागसहित धर्ना दिइने छ ।
सरकारले हुलाकी सडकलाई आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ८ वटा पुलका लागि चार अर्ब रुपैयाँ विनियोजन गरे पनि कमला पुललाई समेटिएको छैन । यसैले स्थानीयवासीहरू आन्दोलित भएका हुन् ।
सिरहा क्षेत्र -१ का सांसद बब्लु गुप्ता, सिरहा क्षेत्र -४ का सांसद तपेश्वर यादवले भने फेसबुकमार्फत हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको र सोही योजना अन्तर्गत कमला पुल रहेको दाबी गरेका छन् ।
करिब १५ वर्षअघि निर्माण सरु भएको कमला पुल तीन वर्षभित्र सम्पन्न हुनुपर्ने भए पनि विभिन्न अवरोधका कारण अझै निर्माण पूरा भएको छैन । निर्माणको अन्तिम चरणमा पुगेको बेला २०७८ असार १७ गते आएको बाढीले पुलका दुईवटा जग भासिँदा चारवटा स्ल्याबमा क्षति पुगेको थियो । त्यसयता पुनर्निर्माण कार्यले गति लिन सकेको छैन ।
स्थानीयवासी किशोरी यादवले मधेशका जनताको दीर्घकालीन समस्याप्रति सरकारले पुनः बेवास्ता गरेको आरोप लगाए । ‘वर्षौंदेखि जनताले सास्ती भोगिरहेका छन्, तर कमला पुललाई बजेटमा प्राथमिकता नदिनु मधेशप्रतिको विभेदपूर्ण व्यवहार हो’, उनले भने ।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले चुनावका बेला पुल निर्माणको प्रतिबद्धता जनाउने नेताहरू सत्तामा पुगेपछि मौन बसेको टिप्पणी गरे । ‘जनताको भावनासँग खेल्ने र सत्तामा पुगेपछि बिर्सिने प्रवृत्तिको यो ज्वलन्त उदाहरण हो’, उनले भने ।
वि.सं. २०६८ जेठ ३१ गते पप्पु–लुम्बिनी जेभीले २४ करोड ९० लाख ९७ हजार रुपैयाँ लागतमा ४६९.२ मिटर लामो पुल निर्माणको ठेक्का पाएको थियो । तर, निर्माण कम्पनीको ढिलासुस्ती, प्रशासनिक जटिलता र प्राकृतिक विपत्तिका कारण आयोजना लामो समयदेखि अलपत्रजस्तै बनेको छ ।
हाल कमला नदीमा निर्माण गरिएको अस्थायी डाइभर्सनमार्फत आवतजावत भइरहेको छ। तर सामान्य वर्षा हुँदा समेत नदीमा पानीको बहाव बढ्ने भएकाले यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।
बजेटबाट कमला पुल बाहिरिएपछि स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाले आन्दोलनमार्फत सरकारलाई दबाब दिने रणनीति बनाएका छन् । आन्दोलन समितिले कमला पुल निर्माणका लागि तत्काल पर्याप्त बजेट सुनिश्चित गर्दै पुनर्निर्माण कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया 4