Comments Add Comment

तरकारी बजारमा भिड भएपछि प्रहरीले हटायो

१७ चैत, वीरगञ्ज । वीरगञ्ज–११ श्रीपुरस्थित विद्यापीठ स्कुलमा सोमबार बिहान तरकारी बजार राखियो । वीरगञ्ज महानगरपालिकाले वडाका उपभोक्तालाई वडामै बजार राखेर तरकारी दिने भनेपछि त्यहाँ बजार राखिएको थियो ।

तर, त्यहाँ सोमबार बिहान ७ बजे पुग्दा कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणका कुनैपनि उपाय अपनाइएको थिएन ।

सरकारले अत्यावश्यक तरकारी खाद्यान्न बिक्री गर्दा पनि ३ फिटको सामाजिक दुरी कायम गर्न भनेको छ । पसल अगाडि चुनाले गोलो घेरा लगाइएको भए पनि उपभोक्ता लाइनमा थिएनन् । मानिसहरु एउटै पसलमा सामान्य दिनमा जस्तो झुम्मिएर तरकारी किनबेच गरिरहेका थिए ।

तरकारी पसल ९ बजेसम्म खुल्ने नियम बनाइएको भए पनि वीरगञ्ज-११ को तरकारी बजार बिहान साढे ७ बजे नै प्रहरी पुगेर हटाइदियो । तरकारी व्यापारी विरू मेहताले चुना हालेर लाइन बनाएको भएपनि उपभोक्ताले पालना नगरेको बताए । उनले भने ‘हामीले भनेको मान्दैनन् के गर्ने ?’

अर्का व्यापारी सन्देशकुमार मालीले उपभोक्तालाई भनेपछि मात्रै लाइनमा बस्ने गरेको बताए । ‘एक जना लाइन लगाउनका लागि नै बस्नुपर्ने अवस्था छ’ उनी भन्छन् ‘तरकारी बेच्नु कि लाइन लगाउनुभएको छ ।’

तरकारी किन्न आएका लक्ष्मण प्रसादले उपभोक्ता स्वयं सचेत नहुँदा भिड देखिएको बताए । भिडभाड बढी देखिएका कारण वीरगञ्जको माइस्थानस्थित तरकारी बजार मीनाबजार पनि सोमबारदेखि बन्द गरिएको छ ।

दिनभर खोल्नुपर्छ : मेयर सरावगी

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले उपभोग्य वस्तुको पसल दिनभर खोल्ने व्यवस्था भए भिड नहुने बताए ।

‘सीमित समयका लागि पसल खोल्दा भिड बढ्छ, जति बढी समय खोल्योे, त्यति नै भिड कम हुन्छ’ उनले भने । स्थानीय प्रशासनले व्यवस्थित गराउन सहयोग नगरेको मेयर सरावगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment