
१७ चैत, डोटी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा डोटीबाट थप दुई जनाको स्वाब परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएको छ ।
एक व्यक्ति भारतको पुनाबाट पाँच दिन अगाडि र अर्का व्यक्ति भारतको तेलङ्गना प्रान्तबाट १३ दिन अगाडि घर आएका थिए । दुबै जना डोटीका स्थायी बासिन्दाहरु हुन् ।
कोरानासँग मिल्दोजुल्दो लक्षण देखिएपछि दुबै जना सोमबार अस्पतालको सम्पर्कमा आएका हुन् । कोरोनाको संक्रमण हुनसक्ने भन्दै अस्पतालले सोमबार नै उनीहरुलाई आइसोलेसन वार्डमा राखेको थियो ।
दुबै जनाको घाँटी र नाकको स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशाला धनगढीमा पठाइएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेण्डेण्ट डा. ज्योति पाण्डेले जानकारी दिइन् । उनले भनिन्, ‘हामीले दुई जनाको स्वाब परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएका छौं । धनगढीबाट काठमाडौं लगिनेछ, दुई दिनमा रिपोर्ट आउनेछ ।’
रिपोर्ट नआएसम्म उनीहरुलाई आइसोलेसन वार्डमै राखिने डा. पाण्डेले बताइन् ।
कोभिड–१९ को संक्रमण भएको आशंकामा स्वाब परीक्षणको लागि पठाएका दुई जना भारतबाट आए पश्चात् घरमै बस्दै आएका पारिवारिक श्रोतले जनाएको छ ।
डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो दोस्रो घटना हो । यसअघि १९ वर्षीय एक जना युवाको स्वाब परीक्षणको लागि काठमाण्डौं पठाइएको थियो । उनको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको समेत डा. पाण्डेले जानकारी दिइन् ।
प्रतिक्रिया 4